Pages

Wednesday, September 13, 2017

राजपाले चुनावमा सदाशयता पाउला?

किशोर दहाल  

केही दिनअघि नेपाल लाइभमा प्रकाशित अन्तर्वार्तामा विश्लेषक सिके लालले भनेका थिए– ‘संविधान संशोधन भइदिएको भए मधेसी नेताहरुले लाज छोप्ने लगौंटी पाउँथे।’ लालको भनाइलाई सन्दर्भमा लिने हो भने असोज २ गते हुने स्थानीय तहको चुनावमा मधेस केन्द्रित दलहरु लगौंटी विहीन अवस्थामा मैदानमा उत्रिएका छन् । अर्थात्, उनीहरु पराजित मानसिकतामा मधेसको मतको अपेक्षा गरिरहेका छन्। 
संविधान जारी भइसकेपछि त्यसको सबैभन्दा सशक्त प्रतिवाद मधेसको एक प्रमुख हिस्साले गरेको थियो । मधेस केन्द्रित दलहरुले नै आफ्नो प्रतिरोधमार्फत संविधानका कमजोरीहरुलाई आम बहसमा ल्याइदिएका थिए । पछिल्लो संविधान संशोधन विधेयकले पनि संविधानमा कमजोरी रहेको र सुधार जरुरी छ भन्ने सरकारी प्रतिबद्धतालाई नै संकेत गर्छ। यद्यपि, मधेस आन्दोलनलाई केही सम्बोधन गर्ने आशा गरिएको त्यो संशोधन विधेयक पारित हुन भने सकेन।

एकातिर मधेस आन्दोलनको अन्त्य भएको अवस्था र अर्कोतिर आन्दोलनको औचित्य पुष्टि हुने खालको कुनै उपलब्धि नहुनुले मधेसको मनोविज्ञानलाई ठूलो आघात पुर्याएको छ। 

२०६३ सालमा जब मधेस विद्रोह भयो, त्यसयता मधेस केन्द्रित दलहरुले अहिले जति रक्षात्मक कहिल्यै हुनुपरेको थिएन । संविधानको खाका कोर्ने १६ बुँदे सहमतिको विरोधमा गरिएको लामो आन्दोलनमा पनि उनीहरुले सरकारसामु आफ्नो आत्मबल र दृढ संकल्प प्रस्तुत गरेका थिए । त्यसैले आन्दोलनरत मधेसी नेताहरुलाई फकाइ माग्न तत्कालीन सरकार दिल्लीसम्म दौडिएको थियो।

तर, समय बदलियो । संविधान पुनर्लेखन नभईकन चुनाव असम्भव भएको बताउने उपेन्द्र यादवले ‘मेरो माटोले चुनावमा जानू भनेकाले सहभागी भएको’ भन्दै यसअघिका दुई चरणकै चुनावमा भाग लिए । चुनाव बिथोल्ने राजपाको निर्णयप्रति यादवले कटाक्ष गरेका थिए, ‘चुनाव बिथोल्नेहरु आफैं सकिन्छन्।’ 

Tuesday, September 12, 2017

‘ट्र्याकआउट’ सांसद

किशोर दहाल

सन्दर्भ १ः सांसदको कुल संख्या ५ सय ९२ छ। संसदमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ अर्थात् १४८ जना सांसदको उपस्थिति आवश्यक पर्छ।

साउन २० गते शुक्रबारको संसद् बैठकमा कोरम नपुगेका कारण मधेसी आयोग, थारु आयोग, मुस्लिम आयोग र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पारित गर्ने र जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल रोकियो । सो दिन बैठकको सुरुमा ४ सय ७७ जनाले हाजिर गरेका थिए । तर, विधेयक अघि बढाउने बेला जम्मा ९७ सांसद मात्रै थिए।

सन्दर्भ २ः भ्रष्टाचारीले चुनावमा भाग लिन पाउने कि नपाउने भन्ने विषयमा राज्य व्यवस्था समिति केही सातादेखि बन्धक बनेको छ । संसदको सो समितिमा छलफलका लागि पठाइएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी दुई विधेयकमा भ्रष्टाचारीले चुनावमा उठ्न पाउनुपर्ने व्यवस्था राख्न दबाव बढेपछि साउन २२ गतेयता समितिको बैठक बस्न सकेको छैन। 

भ्रष्टाचारीले समेत चुनावमा उठ्न पाउनुपर्ने प्रावधान राख्न नेपाली कांग्रेसका सांसदहरुको विशेष जोड रहेको देखिन्छ। कांग्रेसका १९ जना सांसदले विधेयकमा संशोधन प्रस्ताव हालेका छन् । केही सांसदले संशोधनको प्रस्ताव पार्टीकै भएको समेत बताउन थालेका छन्।

सरकारले ल्याएको विधेयकमा संशोधन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाकै सक्रियता रहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । विशेषगरी कांग्रेस महाधिवेशनमा सभापति उठ्दा देउवालाई सघाएका कांग्रेस नेता खुमबहादुर खड्कालाई चुनावमा उठ्ने बाटो खाली गराइरहेको विश्लेषण हुन थालेको छ। नेता खड्काले नै देउवा र अन्य कांग्रेस नेतालाई प्रभाव र दबावमा पारिरहेको बताइन्छ । भ्रष्टाचारको अभियोगमा साढे १३ महिना जेल परेका खड्का २०७० असोजमा जेलमुक्त भएका थिए।

भ्रष्टाचारीलाई चुनावमा उठ्न दिने कि नदिने भन्ने स्वार्थका बीच निर्वाचन आयोगले भदौ ५ भित्र उपलब्ध गराइसक्न भनेको कानुन अझैसम्म पनि पारित हुन सकेको छैन।

Thursday, September 7, 2017

'भारतमा स्वतन्त्र प्रेसको अवस्था सिरिया र इराककै हाराहारीमा पुगेको छ'

सीके लाल

मैले गौरी लंकेशभन्दा पहिले उनको बुवा पी लंकेशलाई भेटेको हुँ। बैंलोर विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक थिए। उनले के भनेका थिए भने प्राध्यापन गरेका समाज धेरै परिवर्तन हुँदैन। अनि कन्नड भाषाको ‘लंकेश पत्रिके’ नामको ट्याब्लोइड पत्रिका निकाल्न सुरु गरे। त्यसले कर्नाटकको राजनीतिमा ठूलो महत्त्व राख्थ्यो। सानो पत्रिका भए पनि त्यसको महत्त्व ठूलो थियो। किनभने, उनले त्यसमा विज्ञापन स्वीकार गर्दैनथे। पाठकबाट पाएको रकमले मात्रै त्यो पत्रिका चल्थ्यो।

पी लंकेशलाई भेट्दाखेरी गौरी (लंकेश)सँग भेट भएको थिएन। गौरीलाई सन् ९० को दशकको अन्त्यतिर, जतिबेला उनी भारतको इन्नाडु टिभी च्यानल र सन्डे लगायत मूलधारको पत्रकारिता गर्दै थिइन्, त्यतिबेला उनको कामसँग परिचित भएको र भेटघाट भएको हो।

उनको बुवाको कमै उमेरमा निधन भएपछि उनी बैंलोर पुगिन्। सुरुमा बुवाको पत्रिका बन्द गर्ने सोच थियो। कारण, कर्नाटकमा त्यस्तो किसिमको पत्रिका निकाल्ने वातावरण छैन। तर, प्रकाशकले उत्साह दिएपछि त्यो पत्रिका चल्यो।

पछि उनका फिल्मकार भाइसँग असहमति भएपछि त्यो पत्रिका बन्द हुनपुग्यो। र, उनले आफ्नो नाउँ थपेर ‘गौरी लंकेश पत्रिके’ नाममा चलाइन्।

यसले के देखाउँछ भने आस्था, कर्म र आफ्नो समूहको बीचमा तादत्म्यता भयो भने मान्छेले सानो भन्दा सानो स्रोतले ठूलोभन्दा ठूलो काम गर्न सक्छ।