Pages

Saturday, July 22, 2017

वन्दना ढकालको चर्चित ब्लग

(सम्भवतः) यो ब्लग लेखिनुमा, विवादित हुनुमा र नेपाल खबरको साइटबाट हटाइनुमा सरला गौतम (जसलाई यो ब्लगमा सम्बोधन गरिएको छ)का विगतका दुईवटा ब्लग पनि जोडिन्छन्। सामाजिक सञ्जालमा पनि त्यसै कोणबाट चर्चा भएका छन्।  त्यसैले पनि ढकालको ब्लग पढ्नुअघि गौतमका यी दुई ब्लग पढ्न अनुरोध छः 

मिल्काइदेऊ नाथे डर

मिल्काइदेऊ नाथे ढोंग-२

......................................................
एक नाथे सरला, दुई नाथे वन्दना
वन्दना ढकाल

प्रिये सरली!

यो सम्बोधन मेरो होइन, नारायण अमृत दाइको हो। यो पनि त्यही जमघटमा सुनेको हो। साँझको पहिलो भेटको केही घण्टे बसाइँमा सरली भनुँ, सरले भनुँ वा सरलाजी भनुँ? धत्, सम्बोधन नै औपचारिकतामा चेपिन थाल्यो। खैर छोडौँ, प्रिये नै ठोकिदिएँ, तिमी नै भनेँ र नाथे औपचारिकता मिल्काइदिएँ, लजा!

आधाभन्दा बढी सहभागी हिँडिसकेपछि घर जान मैले पटकपटक घडी हेरिरहँदा तिमीले नै भन्यौः मरेपछि खरानी– के चिन्ता लिने, बसम्, खाम्, रमाइलो गरम्।

हुन त रमाइलोको त्यसदिनको मुख्य चरण सकेर सुस्ताउँदा मात्रै मेरा नजर घडीतिर नजर हुन्। रातको साढे दश भइसकेको थियो। मलाई पनि अझ रमाइलो गर्ने मन थियो तर छ वर्ष ननाघेको छोराले आँखा मिच्न थालिसकेको थियो। मस्तीको एक डोज पुगेर ज्यान सोफातिर पसारिएको थियो। मन चंख नै भए’नि ज्यान असिनपसिन भइसकेको थियो। धेरै सहभागी बाटो लाइसकेका थिए। तिमी भने आभास दाइसँग भनिरहेकै थियौ– मरेपछि खरानी!

हो त मरेपछि खरानी नै हो। तर ‘मरेपछि खरानी’ भन्ने जान्दाजान्दै पनि रमाइलो गर्न खोज्ने हाम्रा महिला दिदीबहिनीहरू हामी जस्तै स्वतन्त्र होलान् त! तिम्रै ‘खरानी’ शब्दले बारम्बार कोट्याइरह्यो। हामी मुड्स रेस्टुराँमा केटाहरूसँग उफ्रीउफ्री नाचिरहँदा कति दिदीबहिनीहरू घरमा जुठा भाँडा धस्काउँदै हुँदा हुन्, बच्चाका थाङ्ना स्याहार्दै हुँदा हुन्, वा लोग्नेको बिस्तारामा समर्पणको नाटक गर्दै हुँदा हुन् वा दिनभरिको हिसाबकिताबमा व्यस्त हुँदा हुन्! कति दिदीबहिनी भोलि कुन चाहिँ साहुको घर ढलानमा जाने वा कुन कामको ठेक्कावाललाई पकड्ने भनेर योजना बनाउँदै हुँदा हुन्। अरब, इजरायल वा युरोप पुगेका कति दिदीबहिनी नेपालतिर लोग्ने र छोराछोरीसँग कुरा गर्न म्यासेन्जर र भाइबरमा हरियो बत्तीको पर्खाइमा पनि हुँदा हुन्। असारको महिना, गाउँघरतिरका कति आमा–दिदीबहिनीहरू दिनभरि ढाड कुप्रने गरी रोपाइँमा निहुरेर फेरि साँझ चुलोमा आगो आफै ठोस्दै हुँदा हुन्!

विचार गर्छु उनीहरूले पनि त सोचे हुन्थ्यो नि– मरेपछि खरानी भइन्छ, केको पिरको रोइलो लिएर बसेको! ती आमाहरू र ती दिदीबहिनीहरू बेकारको परिवार पाल्ने चिन्ताले साउदी, कतार, अफ्रिकातिर क्यार्न हिँड्न परेको हो? ठमेलका बार, मुम्बईका कोठीहरूमा किन बेचिनुपरेको होला? जीवन छोटो छ, मनमौजी गरे हुन्थ्यो नि!

यी सरलेले भन्छिन् त– केले छेक्छ हो तिमीहरूलाई? आओ न नाचो क्या तिमेरू नि!

साँच्ची, तिमीजस्तै कम्मर मर्काइमर्काइ नाच्न केले छेक्छ हो तिनीहरूलाई? तिमी त भन्छ्यौँ– गरेदेखि हुन्छ रमाइलो, भत्काएदेखि फुट्छ पर्खाल, मिल्काएदेखि जान्छ नाथे ढोंग!

तर तिमी वा म एक जनाले भत्काएर वा फुटाएर फुट्ने पर्खाल होइन यो। हजारौँ वर्षको सिमेन्टीले मजबुत बनेको वीर्यसत्ताको पर्खाल एक सरला वा दुई वन्दनाले बियर पिएर मात्र फुट्दैन, न केटाका बीचमा एक साँझ नाचेर पर्खालको जग हल्लिन्छ। खान त पारिजातले पचास वर्षअगाडि नै रक्सी खान्थिन् र निकोटिनले पहेलोँ हुने गरी नै चुरोट उडाउँथिन्। तर एउटी पारिजातले मात्रै पुरूषसत्तालाई चुनौती दिएर पनि पुगेन। उनी त अझ संगठक थिइन्, सङ्घर्षको पूर्वाधार तयारीमा जोडले लागिन्, चुरोटको धुँवा र रक्सीको पेगसँगै।

तिमी त नेपाली समाजकी केही अपवादमध्येकी एक मात्रै हौ, जुन तिमीले चाहेको स्वतन्त्रतामा जिउन सक्छ्यौ त्यो पनि दिनको उज्यालोमा (त्यसको पनि सीमा छ)। तिमीले पर्खाल तोडेकी होइनौ प्रिये, पर्खालमा भर्‍याङ टाँसेर पल्लो छेउमा सास फेर्न पुगेकी मात्रै हो। त्यो पर्खाल भत्काउन त कति कति महिलाहरू पर्खालमुनि किचिन पर्नेछ, कति कति महिलाले आँसु र रगतको हतियार चलाइरहनुपर्छ। पुरूषसत्ता त मजबुत छ गाँठे, यति सजिलै किन पार पाइन्थ्यो र! त्यसैले एक्लै आधा रातमा रेस्टुराँमा मात्रै कम्मर मर्काएर पुग्दैन, बरू हामीजस्तै यो लडाइँका आन्विका, सरिता, सावित्री र शान्ति, अनि प्रनिका, कैलाश, शुभ र निभाजस्ताको फौज खडा गरेर खुलामञ्चमै धुलो उडाउनु छ।

तिमीले सोच्यौ कि सोचिनौ– शान्ति, म र तिमी ढ्याके–ढोलके कम्मरसहित मुड्समा पूरा जोशले नाच्यौँ तर मनिषा बहिनी साँझ नपर्दै किन घरतिर दगुर्नुपरे होला? ऊ त झन् नेपालखबरकी कर्मचारी (तिमी र म पो लेखकका रूपमा निम्त्याइएका हौँ), अरू केटा कर्मचारी वा पत्रकारझैँ ऊ पनि त वार्षिकोत्सवको उत्साहमा उमंगिनु पर्ने हो नि।

मनिषाले सोची होली– मलाई समाजले केटी बनाएको छ। अबेर घर पुगेँ भने छरछिमेकका आँखीभौँ तन्किन्छन्। गाडीमा म एक्लै परेँ भने कसैको वासनाको शिकार बन्न के बेर? (मनिषा बेग्लै कारणले छिटो जानुपरेको पनि हुन सक्छ तर हाम्रो समाजव्यवस्थाको कारण मैले यस्तै सोचेँ) उसलाई पनि त लाग्दो हो– म पनि गर्छु रमाइलो, मूला डरलाई भगाइदिन्छु। तर उसले मात्रै डर भगाएर भयो त? डरलाई कायमै राख्ने हतियारहरू त चलिरहेकै छन्, अनि त्रासद समाजका मतियारहरू त जिउँदै छन् नि बाबै। यत्रायत्रा दाह्रा र नंग्रासहित कोपर्न र चिर्थोन तम्तयार छ यो दुनियाँ। त्यसकारण, चल् चले अपने घर। त्यसकारण साँझ नपर्दै संघारमा टेकेर सुरक्षित हुने पाखण्ड महिलाले गर्नुपर्छ।

अरू कति केटीलाई मन होला नि बाटाघाटामा रातविरात हल्ला गर्दै हिँड्न, कहिले आधा रातमा गीत गाएर निर्धक्क साथीसँग रमाइलो गर्न। तर पाइन्छ त? दिन्छ त हाम्रो सामाजिक संरचनाले? कोही महिला एक दिन केटासाथीको हात समातेर निर्धक्क नाची भने कति दिनसम्म त्यसको मूल्य चुकाउनु पर्छ। एक पल कुनै केटासाथीसँग दिल खोलेर हाँसी भने त्यसको दश गुना बढी रून पर्ने वातावरण बन्छ, एक क्षण कुनै एकान्तमा केटासाथीसँग मन पोखी भने केही क्षण बित्दाबित्तिकै त्यही केटासाथीले ब्ल्याकमेल गर्न थाल्ला भनेर त्राही हुनुपर्ने थिति छ। महिलालाई त्रासमा जीउन कसले बाध्य बनायो? एउटो पुरूषले त होइन नि। तर त्यस्तै पुरूषको स्वार्थ मिसिएको वर्षौँको अभ्यासले बनायो। महिलाको जीवन ठ्याक्कै त्यस्तै छ, जस्तो तिमीहामी नाचेको गीत थियोः मनमा मिले मेला हजुर, नमिले झमेला!

मन मिल्ने बेलासम्म मायालु बनेको नाटक गर्ने पुरूष संरचना, मन नमिल्दा बित्तिकै झमेला खडा गर्ने सत्ताका रूपमा स्थापित छ। त्यसैले अहिले नै म भन्न सक्दिनँ कि आजै गरौँ रमाइलो भोलि त के होला! यहाँ नाच्न त के सानो स्वरमा बोल्दाबित्तिकै पनि पाखा खेद्ने चलन छ। त्यही होइन त, म नाच्न फ्लोरमा टेक्दा बित्तिकै कसकैको आवाज प्वाक्क निस्क्यो– नारीवादी डान्स हेरम् न त। सायद त्यो आवाजको धनीलाई मेरा व्यक्त विचारहरूले विघ्नै अतेस पारेका हुँदा हुन्, असह्य पो भएका थिए कि! नत्र यस्ता रमाइला जमघटमा म पनि रमाउँछु भन्ने उनलाई थाहा नभएको होइन (यस्ता भेटघाट, जमघट र ‘गेट–टुगेदर’हरू के–केवादी हुन्छन् वा हुन्नन्, त्यो अर्को छलफलको विषय हो)।

नेपालखबर अनलाइनको त्यो वार्षिकोत्सवको स–स्यानो रमाइलो राति ११ बजेसम्म चल्यो। साँझ पाँच बजे पुग्दा महिला एकजना मात्रै थिइन्, उनै मनिषा। अरू सबै पुरूषगण। म पुगेपछि हामी दुईबीचको गफैगफमा कुरा निस्क्यो– केटीको बीउ त हामी दुईले मात्रै पो जोगाएछौँ। यसो हेर्छु– सम्पादकहरू छन् पूर्ण बस्नेत, नारायण अमृत, सङ्गीत श्रोता। मलाई पनि देख्न त मन छ– प्रधान सम्पादक पूर्ण बस्नेतका ठाउँमा कोही पूर्णमाया होस्, सम्पादक नारायण अमृतका ठाउँमा कोही नारायणी होस्, सङ्गीतका ठाउँमा कोही सङ्गीता होस्। यो मेरो नाथे मनको कुरा न हो! के नाथे डर वा नाथे पाखण्ड नफ्याँकेका कारण नै न्यूजरूमको निर्णायक ठाउँमा नपुगेका हौँ? कि यसको अरू नै केही कारण छ?

मसँग त यस्ता प्रश्न पो छन्– किन हुन्नन् हाम्रा न्यूज रूमको निर्णायक ठाउँमा केटीहरू? निडर त छन् नि हाम्रा दिदीबहिनीहरू (तिमी आफै पनि छ्यौ)! तर उनीहरू नै कार्यस्थलमै कति हिंसामा छन् भन्ने घटना थाहा पाउन एकै दिनका सञ्चारमाध्यममा नजर दौडाए पुग्छ। ०६६ सालमा आफ्नै सहकर्मीद्वारा बलात्कृत भएकी पुलिस जवान सुन्तली धामी के कायर भएर (नाथे!) बलात्कृत भएकी हुन् त? पुलिसको पेशा त झन् महिलालाई बलियो पार्ने पेशा हुनुपर्ने, किन भइन् त त्यहीँ उनी बलात्कृत? ल छोडौँ बाहिरको कुरो, घरभित्रैका पिता–पति–पुत्रबाटै महिला पीडित भएका वा मारिएका किन? हुन त तिमी भनौली, यसको जवाफ दिने काम मेरो होइन।

पछि तिमी आइपुग्यौँ, अझ पछि शान्ति। तिमी पल्लोपट्टि, म वल्लोपट्टि। अझ तिमीले मलाई केटा नै भन्ठानेको सुनेर झन् उदेक लाग्यो। तिमीले भनिथ्यौ (सायद ठट्टामा)– कपाल काटेर पितृसत्तामै मिसिएको! यो सुनेपछि मलाई लाग्यो– तिमी झन् कपालै पालेर कति मजासँग पुरूषसत्तासँग गाँसिएकी। तिमीले भन्यौँ, खैर छोडौँ यी कुरा, विचार एकातिर मान्छे एकातिर, होइन त? जे भने नि रमाइलो त गर्ने नै हो।

हो, रमाइलो त गर्ने नै हो। यस्तै परिवेश रमाइलो लाग्नेले यस्तैमा रमाउने हो। अर्को दुनियाँ चाहनेले अर्को दुनियाँ खोज्दै रमाउने हो।

तर, हामी नाच्नका लागि भने यस्तो गीत बजिरहेको थियोः
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ, निर ओठै कालो छ
दिदीको मगनी भइसक्यो, मेरै पालो छ।

.....

(नेपाल खबरमा ३१ असार २०७४, शनिबार | 2017-07-15 12:23:06 मा प्रकाशित यो ब्लग हाल हटाइएको छ। र, यसलाई अहिले  प्रकाशित मिति फेरेर नयाँ प्रकाशित मिति १७ कार्तिक २०७३, बुधबार | 2016-11-02 15:25:41बनाइएको छ। एक नाथे सरला, दुई नाथे वन्दना मुल शीर्षक रहेकोमा अहिले एक नाथे ..* बनाइएको छ। हाललाब्लग हटाइनुको कारणमा लेखिएको छ (पछि परिवर्तन हुन पनि सक्ला)- 
यो लिंकमा प्राविधिक र मानवीय गल्तीबस असम्पादित सामग्री प्रकाशित भएकोमा हटाइएको छ। यसबाट सम्बन्धित पक्षमा पर्न गएको असरप्रति विनम्रपूर्वक क्षमाप्राथी छौं।
रूची हुनेहरूले पढ्न पाउन् भन्ने मनशायले यसलाई यहाँ पोष्ट गरिएको हो। तपाईंले यो लिंकबाट पनि पढ्न सक्नुहुनेछ। मिडिया गतिविधिमा रूची भएका कारण मैले यसलाई सुरक्षित राख्न चाहेको हुँ। मिडिया गतिविधिभन्दा बाहेक यस ब्लगका विषयलाई लिएर कसैसँग खुला छलफल वा बहस गर्न असमर्थ छु। धन्यवाद।  )

No comments:

Post a Comment