किशोर दहाल
राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि भन्दै सरकारसँग १६ करोड रुपैयाँ मागेको खबरले यो हप्ताभर बहसको सिर्जना गर्यो। यद्यपि, समाचारमा आएजस्तो घटना एकपक्षीय मात्रै नरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। तर, यसले विशिष्ट पदाधिकारीहरुको नाममा हुनसक्ने अनियन्त्रित खर्चबारे भने सचेत बनाउन सघाएको छ। १६ करोडको प्रसङ्ग असान्दर्भिक भए पनि सोही प्रवृत्तिमा हाम्रो विगत उत्साहजनक भने छैन। गणतन्त्र आगमनको खुसी साट्न नपाउँदै नेपालजस्तो आर्थिक रुपले गरिब मुलुकका प्रमुखहरुको प्राथमिकतामा किन जनताको प्रतिबिम्ब भेटिन्न ? यहाँ यसैबारे चर्चा गरिनेछ ।
राष्ट्रपति वा सो कार्यालयले देखाएको असुहाउँदा महत्वाकांक्षा बेलाबखत सार्वजनिक हुने गरेका छन् । विरोध पनि हुने गरेको छ । तर, जनताको विरोधलाई गम्भीरतापूर्वक लिने, सच्याउने र नदोहोर्याउने पुरानो बानी गणतन्त्रमा पनि जिवितै छ ।
विलासिताको साधन प्रयोगमा मात्रै होइन; संवैधानिक मर्म विपरित कार्यकारी बन्ने महत्वाकांक्षा पनि सार्वजनिक भएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवको पालामा यो चाहना अलि बढी मुखरित भएको थियो । २०६६ बैशाख १४ गते नागरिक आन्दोलनका अगुवाहरु देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी लगायतका १६ जनाको टोलीसँगको भेटघाटमा राष्ट्रपति यादवले सोधेका थिए, ‘म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ?’ यादवको यो प्रश्नलाई ती अगुवाहरुले सार्वजनिक गरिदिएका थिए । यादवको अभिव्यक्तिले नै शीतल निवासले श्रीपेच खोजिरहेको शंका पहिलोपटक सघन बनेको थियो । त्यसपछि पनि राष्ट्रपति यादवमाथि पटकपटक ‘गेम चेन्जर’ हुन खोजेको आरोप लागिरह्यो । कार्यकालभरी उनलाई फरकफरक पार्टीले ‘सक्रिय हुन नखोज्न’ सचेत गराइरहे ।
दोस्रो राष्ट्रपतिको रुपमा विद्या भण्डारी निर्वाचित भएको दुई वर्ष पुग्न लाग्यो । राजनीतिक रुपमा उनीमाथि खासै आरोप लाग्ने गरेको छैन । तर, विलासिताको चाहना भने उनमा बढी देखिन्छ । उनको कार्यालयबाट ‘होकिन्स’को कराइदेखि, ‘फिलिप’को ‘ह्याण्ड ग्राइन्डर’सम्म माग हुने गरेको छ । साधारण नेपालीलाई त उनको ब्राण्ड सचेतताले नै अचम्मित तुल्याउँछ ।
हाम्रो गणतान्त्रिक अभ्यास खासै लामो छैन । एक दशक पुग्नै बाँकी छ । तर, ‘हुने बिरुवाको चिल्लो पात’ भनेझै गणतन्त्रका पातहरु भने चिल्ला हुन सकिरहेका छैनन् । बढीमा गणतन्त्रका नेतृत्वकर्ताहरु मात्रै चिल्ला भइरहेका छन् । पञ्चायतकालमा सम्झौता गर्नुपरेको व्यक्तिगत महत्वाकांक्षाको पूर्ति गर्ने औजारको रुपमा गणतन्त्रको दुरुपयोग गरिने खतरा बढ्दै गएको छ । तत्कालिन राष्ट्रपति यादवलाई नै हेरौं । कार्यकाल सकिने अन्तिम दिनतिर उनले दूधालु गाईदेखि सुविधायुक्त घरसम्मको लिस्ट सरकारलाई बुझाए । उनको उपचारमा खर्च भएको रकमले पनि नेपालका भीआइपी महंगो भएका सन्देश दिएकै थियो । त्यसपछि पनि उनले आफूमाथि राज्यको लगानीलाई फर्केर हेर्ने र केलाउने गरेनन् । बरु, गनगन नै गरिरहे ।
राष्ट्रपति यादव केही राम्रो चलन स्थापित गर्नसक्ने अबसरबाट चिप्लिए । उनले मुख्यरुपमा सवारीको कुप्रथा रोक्न सक्थे । आफू गणतन्त्रको नेतृत्वकर्ता भएकाले राजाकालीन कुसंस्कारको विकल्प खोज्न सक्थे । बहालवाला र निवृत राष्ट्रपतिमाथि राज्यको चर्को दायित्वलाई कम गराउन सक्थे । यसले उनलाई व्यक्तिगत जीवनमा त्यति ठूलो अप्ठ्यारो पर्ने थिएन । बरु, जनतालाई गणतन्त्रको महत्वबोध हुनसक्थ्यो । उनले चाहेका भए एउटा सादगी बहिर्गमनको इतिहास रच्न सक्थे । गणतन्त्रको अनन्त यात्राका लागि एउटा सन्देश दिनसक्थे । तर, यादव यस्ता सामान्य तर महत्त्वपूर्ण थिति बसाउने सवालमै चुके । उनी त श्रीपेच मोह र राजसी सवारीमै मुग्ध भए । दूधालु गाई र सुविधासम्पन्न घरको रहरमै गिजोलिए । उनले दिएको सन्देश एउटै थियो– राज्यकोष लुट्न राजतन्त्र नै नचाहिने रहेछ ।
दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालसम्म आइपुग्दा अहिलेका राष्ट्रपति र दशकअघिसम्मका राजा बीच सामान्य भेद पनि रहन छाडिसक्यो । ‘राष्ट्र कल्याण’का नाममा पूजा, धर्मनिरपेक्षतको विरोध गरिरहेकै संस्थाको धार्मिक कार्यक्रमकै उद्घाटनजस्ता संविधानको मर्म विपरितका गतिविधिमा राष्ट्रपति भण्डारीको रुची बढ्दो छ । राष्ट्रका नाममा पूजा, दान धर्ममा बढ्दो रुची र सामन्ती व्यवहारले उनको कम्युनिष्ट विगतलाई पनि गिज्याइरहेछ । उच्च पदस्थहरुले पनि देशअनुसारको जीवनशैली बिताउन सक्छन् भन्ने देखाउन उनको पृष्ठभूमिले उत्प्रेरित गर्नुपर्ने हो । तर उनी त्यतातिर लागिनन् । बरु, आफ्नो मात्रै नभइ, परिवारकै चप्पल जुत्ता सेनाका सिपाइको हातमा थमाउन थालिन् । मोतीका माला र सुनका बालामा सजिन थालिन् । हिजोसम्म समानता, महिलामुक्ति, राज्यको धार्मिक चरित्र, शासकका स्वेच्छाचारिताविरुद्ध संघर्ष गरेकी नेतृ राष्ट्रपति हुनासाथ कसरी आफ्नै विगत भुलेर सामन्ती व्यवहार देखाउन उद्यत भइन् होला ? गणतन्त्रको हार्डवयरमा राजतन्त्रको सफ्टवयर ‘इन्स्टल’ गराउन उनी किन सक्रिय भइरहेकी छिन् ? प्रश्न स्वभाविकै छ ।
हामीले गणतन्त्रलाई राजतन्त्रकै अवतार बनाउन चाहेका थिएनौं । राजतन्त्रको झ्यालमा गणतन्त्रको पर्दा हाल्न मात्रै खोजेका थिएनौं । गणतन्त्रमा त हामीले हाम्रो मुहार प्रतिबिम्बित होस् भन्ने चाहेका थियौं । गणतन्त्र त हामीसँगसँगै उभियोस्, हामीसँगसँगै दौडियोस् भन्ने चाहेका थियौं। तर, अहिले अनौठो भइरहेछ, गणतन्त्रको रुखमा यो के फलिरहेछ ? राजालाई जस्तै मुद्दै नलाग्ने कानून बनाउनुपरेपछि, बम प्रुफ घरमा सजाउनुपरेपछि (राष्ट्रपतिलाई बम पड्काउन पाउनुपर्छ भनिएको होइन, तर प्राथमिकतामा के छ भन्न खोजिएको हो), तलब र सुविधाले पुर्नुपर्ने भएपछि, सवारीको सकस सहनुपरेपछि गणतन्त्र गर्वको गन्यव्य हो भनेर कसरी पुष्टि होला ?
गणतन्त्रका नाममा हाम्रा प्राथमिकता किन राजाकालीन जस्तै भइरहेको छ ? किन जनतादेखि शासकहरुलाई डर लाग्न थालेको छ ? गणतन्त्रका ‘राजा’हरुलाई कोबाट खतरा छ ?
जनतालाई सास्ती दिएर, चार दिवारभित्र बसेर राजनीतिक षडयन्त्र रचेर, विलासिताको जीवनयापन गरेर, जनताको चाहना र विरोधलाई बेवास्ता गरेर गरिने शासनको लागि त किन पो गणतन्त्र चाहिएको थियो र ?
गणतन्त्रप्रति खासै अपनत्व नभएका र गणतन्त्रलाई राजनीतिक स्थान सुरक्षित राख्नका लागि स्वीकार गरेका दल र नेताहरु नै अहिले गणतन्त्रका मालिक भइरहेका छन् । त्यसो त ‘असली गणतन्त्रवादी’हरुको पनि राजाजस्तो जीवनशैली नदेखिएको होइन । तर, ‘उल्फाको धनले फुपुको श्राद्ध’ भनेझै अचानक शिरमा सजिन आइपुगेको गणतन्त्रको ताजलाई प्रयोग गरेर ‘नक्कली गणतन्त्रवादी’ले गणतन्त्रकै नै श्राद्ध गर्न खोजिरहेका त छैनन् ? ‘देख्यौ, गणतन्त्र पनि उस्तै त रहेछ नि’ भनेर पुष्टि गराउने अभियानमा त छैनन् ? बदनाम राजतन्त्रकै निरन्तरताको झल्को बाँड्न अभिप्रेरित भइरहेका त छैनन् ? नत्र, एक दशक पनि पुरानो नहुँदै गणतन्त्र किन गन्हाइरहेछ ?
रेमिट्यान्सले धानेको मुलुक छ । दैनिक करिब दुईहजार युवायुवती कामको लागि विदेश उडिरहन्छन्, तीनचार जनाको लास एयरपोर्टमा झरिरहन्छ । झाडापखालाजस्ता सामान्य रोगले पनि वर्षेनी महामारीको रुप लिन्छ । पहिरोदेखि पहिचानसम्मको मुद्दाले जनताको माथिङ्गल खलबलिएको छ । दुई वर्षअघिको भुकम्पपछि धेरै नागरिक छानोविहिन रातहरु काटिरहेका छन् । जनताका दुःख हजार छन् । अहिलेको गणतन्त्रले यस्तै नागरिकको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, गरिरहेको छैन ।
हाम्रो राष्ट्रपतिले न्युनस्तरको जीवनशैली व्यतित गरिराख्नुपर्छ भन्ने होइन । उनीहरुका हर कदममा गरिबी र निरिहतामा गर्व गर्नुपर्छ भन्ने पनि होइन । तर भन्छन् नि– देशअनुसारको भेष । देशको आर्थिक अवस्था, यहाँको बहुजनको जीवन संघर्ष अनुरुपको नेतृत्व होस् भन्ने चाहना हो । जसले उनीहरु पनि हामी जनताकै प्रतिनिधि हुन् भन्ने अर्थ लागोस् । ती हाम्रै सोचाइ, व्यवहार, इतिहास र भविष्यको साझा लक्ष्य र उद्देश्यका बिम्ब र सहयात्री हुन् भन्ने चाहना हो । उनीहरुको व्यवहारमा हाम्रो पनि जीवनपद्धति झल्कियोस् ताकी उनीहरुप्रति आमजनतामा अपनत्व जागोस् । गणतन्त्रको ऐनामा जनताको निधारको धर्को र हातका ठेला पनि देखियोस् ।
थाहा छैन, जनताको रगत बेची रक्सी खाएर गणतन्त्र कहिलेसम्म मातिरहन्छ ?
twitter: kishu_gb123

No comments:
Post a Comment