Pages

Tuesday, June 13, 2017

झिंगे दाउमा अल्झिएका प्रचण्ड

किशोर दहाल

जिन्दगीमा सानातिना उद्देश्यमा अल्झिनुहुँदैन भन्ने उदाहरण दिनका लागि प्रचण्ड एउटा उपयुक्त पात्र हुन् । छबिलालदेखि प्रचण्डसम्मको यात्रा, जनयुद्धको नेतृत्वकर्ता र पछिल्ला राजनीतिक उपलब्धीहरु तथा दुईदुई पटकको प्रधानमन्त्रीको जिम्मेबारीले उनको व्यापक उद्देश्यलाई पछ्याउने स्वभावलाई पुष्टि गर्छ । सानातिना उद्देश्यमा नअल्झने उनको स्वभावले नै उनलाई अहिलेको राजनीतिक उथलपुथलको नेतृत्वकर्ताको रुपमा उभ्याइदियो ।

केही कमजोरीका बाबजुद पनि प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले धेरै सकारात्मक सन्देश नै प्रवाह गरेको छ । त्यसले माओवादी र प्रचण्डका अघिल्ला दिनका भूमिकालाई सहज तुल्याउने मार्ग खोलिदिएको छ । टुक्रिएर गएका दलहरुले आफ्नो प्रभाव देखाउन नसकिरहेको बेलामा माओवादीको यस किसिमको जब्बर उपस्थितिले प्रचण्डलाई नेपाली राजनीतिले अरु केही वर्ष किङमेकरको रुपमा स्वीकार गरिरहनेछ भन्ने स्वीकार्न उनका विरोधीहरु पनि बाध्य छन् ।

गौरवपूर्ण इतिहास र एउटा ‘सफल’ सरकारको नेतृत्व गरेका तथा आगामी दिनमा पनि राजनीतिको केन्द्रमा रहने उनै प्रचण्ड भरतपुर महानगरपालिकाको मेयर पदको चुनावमा भने लज्जास्पद रुपमा मुछिए । माओवादी पार्टीका नाममा भरतपुरमा जे जे भए, ती सबैले प्रचण्डलाई थप बदनामीको खुड्किला चढाइरहेका छन् । पुत्री रेणुको जबर्जस्त ‘विजय’का लागि उनले घोषित वा अघोषित, बोलेर वा नबोलेर र चाहना राखेर वा दबाब दिएर जस्तो वातावरणको सहजीकरण गर्न खोजे त्यसले उनलाई घाटा नै पुगेको छ । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा पुनः शंका गर्न थालिएको छ ।

रेणु दाहाललाई प्रचण्डबाट अलग्याएर हेर्दा भरतपुर महानगरपालिकाको मेयर पदमा उनको उम्मेदवारी अस्वभाविक थिएन । उनी पहिलो संविधानसभाको सदस्य, दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ कि उम्मेदवार र पार्टीमा २०५३ सालदेखि सक्रिय रहेकी उनी हल्ला गरिएजस्तो एकैपटक राजनीतिमा उदाएकी थिइनन् । तर, उनको उम्मेदवारीलाई प्रचण्डबाट अलग्याएर हेर्न नसकिने बाध्यता हामीसामू छ ।

राजनीतिक उपलब्धीका नैतिक विजेता प्रचण्डको पछिल्लो झिंगे दाउ यहीँबाट सुरु हुन्छ । र, त्यही दाउले उनलाई पुत्रीमोह र चुनावमा अलोकतान्त्रिक चलखेलका बिम्बका रुपमा उभ्याइरहेको छ । रेणुलाई मेयर पदको टिकट दिलाउन मात्रै होइन, ‘जसरी पनि’ जिताउने प्रचण्ड प्रभावको दुरुपयोग भएको बुझ्न कठिन छैन । पहिलो त, कांग्रेससँग चुनावी तालमेल गरेर रेणुको बाटो सहज बनाउन पहल गरेर उनले आफ्नो राजनीतिक आस्थालाई स्वार्थमा बेचिदिए । दोस्रो, मत गणनामा अवरोधको सहजीकरण गरिदिए । यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने, व्यक्तिगत रुपमा प्रचण्डलाई त्यो मत गणनामा भइरहेको लफडामा कुनै रुचि, चाहना नहुन पनि सक्छ । तर, उनका कार्यकर्ताको अलोकतान्त्रिक हर्कतमा उनको नेतृत्व स्वतः परिभाषित हुन्छ ।

स्वतन्त्र संवैधानिक आयोगलाई सरकारले निर्देशन दिन मिल्दैन । तर, निर्वाचन आयोगको पछिल्लो निर्णयमा प्रधानमन्त्री प्रचण्ड प्रभावको दुरुपयोग भएको आम आरोपलाई केबल आरोपकै रुपमा मात्रै बुझ्नुपर्ने बाध्यता पनि छैन । यस घटनामा आयोगको एउटा निर्णयलाई हेरेर होइन कि निर्णयसम्म पुग्न तय गरिएको सचेत प्रक्रियाहरुलाई अवलोकन गर्नुपर्छ । ‘कानुनका नौ सिङ’ हुने भएकाले कुनचाहिँ सिङ प्रयोग गर्ने भनेर तयार पारिएको बाटोबाटै घटनाहरु अघि बढेको बुझ्न सकिन्छ । र, ती नयाँ बाटोहरुमा प्रचण्ड हितका सबारी कसरी दौडिन्छन् भन्ने अनुमान गर्न खासै दिमाग खियाइरहनु पर्दैन ।

स्थानीय तहको पहिलो चरणको चुनावमा धेरै ठाउँमा हारे पनि माओवादीप्रति सकारात्मक धारणा नै बनिरहेका थिए । पार्टीको खराब अवस्थाबीच पनि चुनाव गराएर उनले आफूलाई लोकतन्त्रप्रति इमानदार र योग्य राजनीतिज्ञको रुपमा उभ्याएका थिए । त्यसमाथि, धेरैको विश्लेषण र उनी स्वयंकै शब्दमा सफल सरकारको नेतृत्वकर्ताको जस पनि पाएकै थिए । र, इमानदार प्रधानमन्त्रीको छबि पनि निर्माण गरेकै थिए । तर, भरतपुर छेउबाटै बग्ने नारायणी नदीको पानीले यता काठमाडौंको इमानदारीता पनि बगाउनै लागेको पत्तो नपाएझैं मौन बसिरहेका छन् । उनको मौनताले उनका झिंगे दाउहरुलाई प्रतिबिम्बित गरिरहेको छ । उनले त आफ्ना कार्यकर्ताहरुलाई भन्न सक्नुपथ्र्यो, अन्योलका माझ पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गरेर र दोस्रो चरणको चुनावको लागि वातावरण निर्माण गर्न पहल गरेर हामीले राजनीति जितिसकेका छौं । १५ वर्षदेखि विभिन्न स्वार्थको लहरामा अल्झिएर हुन नसकेको स्थानीय निर्वाचन गर्न सक्नु नै हाम्रो जीत हो; माओवादीको जीत हो । खास नगर वा महानगरमा अल्झेर बखेडा झिकेर आफ्नो जीतको रङलाई धमिलो नबनाऔं । तर, प्रचण्डले यतातिर सोचेनन् । सम्पूर्ण राजनीतिक जीतलाई भरतपुरको जीतसँग दाउमा राखिदिए । कानुनका छिद्र खोज्ने र त्यसमा आफ्नो स्वार्थको पाइप छिराउने भुलको अभियुक्त भइदिए । र, माओवादीमाथि पटकपटक लोकतान्त्रिक प्रतिबद्धताको प्रश्न उठाउनेहरुलाई शक्ति प्रदान गरिदिए । पार्टिको नेतृत्वकर्ताको हिसाबले प्रश्न त फेरि पनि प्रचण्डतिरै तेर्सिनेहुन् ।

प्रचण्डलाई ख्याल रहनुपर्ने कुरा के हो भने व्यक्तिगत रुपमा उनलाई लोकतन्त्र मन परे पनि, नपरे पनि लोकतन्त्रको कार्यसंरचनाबाट उनी भाग्न भने सक्नेछैनन् । एक व्यक्तिका निम्ति लोकतन्त्र सती जाँदैन भन्ने कुराको पुष्टि दोस्रो जनआन्दोलनको सफलताले गरिसकेको छ । र, उनकै सक्रियतामा आएको गणतन्त्रको औचित्य पनि त्यही हो ।

ठूलो उचाइबाट झरेर रसातलमा पुगेर पुन उठ्ने साहस गरेका र धेरथोर सफल पनि भएका प्रचण्डलाई भरतपुरको झिंगे दाउमा अल्झिनु पटक्कै सुहाउने व्यवहार थिएन । आखिर, रेणुले जित्नको लागि उनको लोकप्रियता पर्याप्त छैन भन्ने उनले चुनावअघि नै स्वीकार गरिसकेका हुन् । त्यसैले त, कांग्रेससँगको तालमेलमा उभिनु बाध्यता ठाने । कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनाव क्षेत्रमा लगेर भाषण गराए । जे हुनु भइसकेकै थियो । सम्मानजनक मत आफ्नो पक्षमा खसेकै थियो । हार्दै गर्दा पनि लज्जास्पद हार हुने अवस्था थिएन । जित्ने जनमत नै नभएको ठाउँमा पार्टीको त्यस किसिमको उपलब्धी रक्षा आगामी दिनका लागि निकै महत्त्वपूर्ण साबित हुने थियो । पार्टीको संगठनमा आएको सक्रियताले आगामी चुनावमा लागि नैतिक बलको संचय गरेको थियो ।
कांग्रेसले जिते पनि, एमालेले जितेपनि त्यो मेरै जीत हो भन्ने प्रचण्डको ठूलो छाती भरतपुरमा किन कुखुरे छातीमा अवतरित भयो ? त्यसको खास कारण त उनैलाई थाहा होला तर आम जनताले बुझेको भनेको पुत्री मोहको छायाँ मात्रै हो । मतगणनामा अनेक बखेडा झिक्ने पार्टीको रुपमा माओवादी उसै पनि बदनाम छ । त्यसमा पछिल्लो अपडेटको रुपमा भरतपुर काण्ड सिर्जना हुनु दुर्भाग्यपूर्ण हो । यसले अबका चुनावमा माओवादी उम्मेदवारका हारजीतमा यस किसिमका हर्कतहरु जोडिइनेछन् । सामाजिक सञ्जालमा त्यस किसिमका अभियान सुरु भइसकेका छन् । बिस्तारै त्यसले गाउँ चोकका चियापसल हुँदै मतदाताहरुसम्मलाई प्रभावित पार्नेछ । यसको राजनीतिक क्षति अवश्याम्भावी छ ।

प्रचण्ड र समग्र माओवादीले बुझ्नुपर्ने कुरा के छ भने चुनाव भरतपुरमा मात्रै होइन, अन्त पनि हुँदैछ । झन् बढी ठाउँमा हुँदैछ । त्यसमा पनि संवैधानिक बाध्यताको कारण प्रादेशिक र संघीय संसदका चुनाव पनि निकट समयमै हुनेछन् । हार स्वीकार गर्न नचाहने वा अनपेक्षित मत परिणाम स्वीकार गर्न नसक्ने बानीलाई प्रतिस्पर्धी पार्टीले चुनावी मुद्दा बनाउनेछन् । त्यतिबेला नैतिकरुपमा गिरेको अनुहार लिएर भोट माग्न जान झनै कष्ट पर्नेछ । आगामी चुनावमा त्यही भरतपुर क्षेत्रमा मत माग्न जाँदा मतपत्र च्यातेको कुरा उठ्यो भने उम्मेदवार र कार्यकर्ताले के जवाफ देलान् ? राजनीतिमा एउटा पद, अवसर गुमाएर पनि निरन्तर राजनीतिक लाभ लिने प्रयास पो गर्नुपर्छ । सानातिना झिंगे दाउहरुमा अल्झिनु हुँदैन । प्रचण्डको पुरानो विगतका र पछिल्लो समय इमानदारीताको पाठ पढाउँदै प्रधानमन्त्रीको पदबाट दिएको राजिनामाको सन्देश पनि त्यहि नै थियो आखिरमा ।

(२०७४ जेठ २२)

twitter: @kishu_gb123

No comments:

Post a Comment