किशाेर दहाल /
एकजना युवा थिए– दिल निशानी मगर । पूर्वमाओवादी कार्यकर्ता । सेतोपाटीमा नियमित आर्टिकल लेख्थे । र, उनको लेखनको मूल केन्द्र हुन्थ्यो– प्रचण्ड र उनी नेतृत्वको माओवादी पार्टीको आलोचना । आन्तरिक कारण जे होला; तर हामी पाठकले बुझेका कुरा– जब उनीसँग माओवादी नेतृत्वलाई खुइल्याउन सघाउ पु¥याउने सूचना सकिए, गालीहरु र आरोपहरु पुनरावृत हुन थाले, त्यसपछि सेतोपाटीका ढोका उनका लागि बन्द भयो । जनयुद्धमा लडेका र माओवादीको पछिल्लो स्थितिप्रति असन्तुष्ट पूर्व छापामारको उपयोग सेतोपाटीले मज्जैले गर्यो ।
अर्का लेखक थिए– पुस्कर गौतम । उनी हिमाल खबरमा लेख्थे । माओवादीलाई खुइल्याउँनु उनको पनि लेखकीय विशेषता थियो । तर, जब उनी पनि रित्तो हुँदै गए, उनका पनि दिन सुखद रहेन । प्रहरीले उनलाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोग (जुन मुद्दाकै कारण बालकृष्ण ढुङ्गेल फरार छन्) पक्राउ गर्दा उज्यालो ९० नेटवर्कमा प्रकाशित समाचार यहाँ जोडौं– युद्धकालमै असहमति राखेर ... पार्टी छोडेपछि हिमाल खबर पत्रिकालगायतका पत्रपत्रिकामा लेख लेखेर चर्चा कमाएका गौतम तीन वर्ष बेलायत बसेर फर्किएका थिए ।
व्यक्तिप्रति, पार्टीप्रति, आन्दोलनप्रति सीमित सूचना र बढी आक्रोश भएका पात्रलाई निश्चित समयसम्म उपयोग गर्न सहज हुन्छ मिडियालाई । ती ‘लेखक’ आफ्नो निरन्तरको लेखन क्षमता वा विचार निर्माणबारे बोध हुँदैन । परन्तु केही सूचना र बढी आवेग हुन्छ । पाठकको ध्यान तान्न त्यस्ता सूचना उपयोगी पनि हुन्छन् । त्यसो त, कडा शब्दमा गाली गर्नु हाम्रो समाजमा आँट र साहसको बिम्ब बन्दै गएको पनि छ । अर्कोतिर प्रतिष्ठित मिडिया हाउसले त्यस्ता लेखकलाई उपयोगको समयसम्म सुरक्षा र लेखकीय प्रभावको भ्रम पनि सिर्जना गरिदिन्छन् । जसले व्यक्तिलाई आफ्नो नक्कली हैसियतको टाकुरामा पु¥याइदिन्छ । त्यसो त, मिडियाको गलत नियतको बारेमा कमैले मात्रै थाहा पाउँछन् । र , झन् कमैले असन्तुष्टि पोख्छन् वा त्यसबारे सचेत बन्छन् । त्यसैले त उपयोगको रणनीतिमा फरकफरक पात्रहरु फरकफरक समयमा ‘मुर्गा’ बनिरहन्छन् ।
सर्बोच्च अदालतकी निवर्तमान न्यायाधिस सुशीला कार्कीको राजनीतिक पार्टीप्रतिकाे धारणा रोचक छ । नेपाल म्यागेजिनसँगकाे चर्चित अन्तर्वार्तामा उनले भनेकी थिइन्– राजनीतिक पार्टीभित्र जे पनि बोल्न हुन्छ, जे पनि भन्न हुन्छ भन्ने प्रवृत्ति छ, यो गर्न मेरो चरित्रले दिँदैन । तर, उनले त्यही शैली पछ्याएकी छिन् । यो कुनै अनौठो कुरा त होइन, तर पदमा बहाल रहेकै अवस्थामा पनि उनले राजनीतिक अन्तर्वार्ता दिइन् । र, राज्यको अर्को अंगको प्रमुख माथि गम्भीर आरोप लगाइदिइन् । त्यसपछि पनि उनी राजनीतिक दल र नेतालाई खुइल्याउन उद्दत छिन् । उनले प्रधानन्याधिश बन्दाखेरको सपथलाई बेवास्ता गरिरहेकी छिन् ।
यहाँ एउटा कुरा लेखिहालौं, राजनीतिक दल र नेताप्रति धेरैको आरोप छ । सामाजिक सञ्जालदेखि पत्रिकाको विचार पृष्ठसम्म त्यो महसुस हुन्छ । उनीहरुका अराजनीतिक व्यवहार र राज्यदोहन नीति प्रति धेरैमा रिस छ । कसैले झाँको झारिदियोस् र तिनका कमजोरी छरपस्ट पारिदियोस् भन्ने धेरैको अपेक्षा छ । झन्, यो चुनावी समयमा अपेक्षाका पनि आफ्नै रणनीति छन् । तर, नेताका कमजोरी सुधार गर्नको लागि लोकतन्त्रको आफ्नै प्रक्रिया छन् । जसको उपभोग हामीले नै गर्ने हो ।
तर, कार्कीले दलहरुलाई सुधार गर्ने, दण्ड दिने तपाईं जनताकै काम हो भनिनन् । बरु, अमुक पार्टीलाई खुइल्याउन जमजमाइरहेका समूहलाई फाइदा पुग्नेगरी बोलिन् । बोलिरहेकी छिन् । राजनीतिक दाउपेचमा रुचि नभएकी भनिएकी कार्कीको यो राजनीति अलि कडा खालकै छ ।
कार्कीले जस्तै गरी राज्यको अर्को अंगको प्रमुखले कार्कीलाई सोही अनुरुप आरोप लगाइदियो भने के होला ? सडकबाट वा सरकारबाट कुनै पार्टीका कार्यकर्ता वा प्रधानमन्त्रीले बहालवाला प्रधानन्याधिशलाई कुनै आरोप लगाइदिए भने के होला । आज हामी राजनीतिक दलहरुले नैतिकता गुमाएका वा इमानदारिता गुमाएका अवस्थामा छौं र पो हामीलाई कार्कीको कडापन मन परिरहेको छ । तर, यो त खास समय र खास प्रधानमन्त्रीको मात्रै सवाल होइन, स्थापित गर्न खोजिएको परम्परा हो ।
सामाजिक सञ्जालमा अमुक नेतामाथि गाली गलाैज र अप्रमाणिक कुरालाईअन्तिम सत्य जसरी प्रचार गरिएजस्तो हाेइन, कार्कीकाे बाेली । हामी धेरैजसो सामाजिक सञ्जालमा मन नपरेका नेतालाई भित्तैमा पुग्नेगरी असन्तुष्टी पाेख्न अभ्यस्त भइसकेका छाैं र कार्कीका अभिव्यक्ति स्वभाविक लागिरहेको छ । तर, उनी पूर्वप्रधानन्यायाधिस हुन् र उनका पदमा रहँदा र नरहँदाका खास जिम्मेबारी हुन्छन् र कतिपय व्यवहार मानक बन्छन् भन्ने कुरा उनैले बढी ख्याल गर्नुपर्छ ।
पक्कै पनि कार्की इमानदार होलिन् (त्यसमा मलाई कुनै शंका छैन ) तर त्यसको मतलब पदीय हैसियतको दुरुपयोगको अधिकार हो त ? प्रधानमन्त्रीले त्यसरी हस्तक्षपको चालबाजी अपनाइरहँदा उनले किन कानूनी उपचार उतिबेला खोजिनन् ? किन, सर्बोच्च अदालतको सर्बोच्चतालाई स्थापित गराउन पहल गरिनन् ? कतै, महाभियोग प्रस्ताव दर्ताको रिस त पोखिरहेकी छैनन् ? एउटा प्रसङ्ग यहाँ जोडौं, उनको पेन्सन पट्टा नबनेको बारे प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीले संसदमा जेठ २३ गते मंगलबार (उनी पदमै रहेको बेला, उनको कार्यकाल बुधबारसम्म थियो) कुरा उठाए । खास नेतासँग यस किसिमको सल्लाह हुँदो रहेछ, उनलाई एमालेको रुचिमा काम गरेको आरोप लगाउनेहरुलाई उनले अन्य मुद्दाबारे पनि यसै गरी सल्लाह गरेको हुनसक्ने सम्भावना र त्यससँग जोडिने इमानदारितालाई कसरी जवाफ देलिन् ? (यो मेरो तर्कमात्रै हो, उनीप्रतिको शंका होइन ।)
यहाँ मैले लेख्न चाहेको कुराचाहिँ उनलाई मिडियाले गरिरहेको उपयोगको सन्दर्भमा हो । जसरी आज उनलाई आँटिली भनेर हिरो बनाइँदै छ, उनीसँग न्यायपालिकाको प्रमुखको रुपमा जानकारीमा आएको वा भोगेको खास सूचना त निश्चिन रुपमा सकिनेछ, त्यतिबेला उनको उपयोगिता पनि सकिनेछ । मिडियालाई कार्कीको इमानदारितासँग केही लिनुदिनु छैन; उनीबाट खास सूचना लिनु छ, जसले मिडियाको केही हिडन मिसनलाई सघाउ पु¥याओस् ।
अदालतमाथि खास नेता र कार्यकर्ताको हस्तक्षप र अनुकुलताको चाहना छ; त्यो नयाँ कुरा होइन । कसैलाई नयाँ लागे पनि त्यस्तो अचम्मै मान्नुपर्ने कुरै होइन । सीधा रुपमा कार्कीले बोलिन्, त्यतिमात्रै नयाँ हो । जबकि, राजनीतिक भागबण्डाको विद्रुपीकरणको नियत नै त्यही हो । अनुकुलताको सुनिश्चिता हो । कार्कीले छारस्ट पारिरहेका कुरामा हाम्रो स्वीकृति निरन्तर चलिरहेकै थियो, भागबण्डाको राजनीतिलाई मौनता त्यसको उदाहरण हो । र, नेताको ती काममा हामी जनताले सैद्धान्तिक रुपमा दण्ड र पुरस्कार पनि दिइरहेकै हो, चुनावमार्फत ।
मिडियाको उपयोग राजनीतिमा कार्की फसिसकेकी छिन् । अहिले उनको आँटको चर्चा चलेको छ । केही समयपछि उनको पदीय मर्यादा विपरितको हर्कतको आलोचना, उनले मर्यादा नाघेको विषय पनि उछालिन थाल्यो भने अचम्म नमाने हुन्छ ।
अहिलेलाई प्रश्न यति हो कि कार्कीको आँट कतिञ्जेल मिडियामा बिकिरहने हो ? कतिञ्जेल उनी छाइरहने हुन् ? पत्रकार सुजित महतले ट्वीटरमा एक मेन्सन गरेका छन्– सम्भवतः दोस्रो चरणको चुनाव नहुञ्जेल अनवरत चल्ने छ ।
twitter: @kishu_gb123
No comments:
Post a Comment