Pages

Wednesday, May 24, 2017

एक प्रचण्डका दुई राजीनामा सम्बोधन, कति अन्तर कति समान?

किशोर दहाल

प्रधानमन्त्रीको रुपमा प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ गते कुल ४६४ मत (खसेको मत ५७७) का साथ निर्वाचित भएका थिए। र, २०६६ वैशाख २१ गते राजीनामा दिएका थिए। दोस्रो पटक भने २०७३ साउन १९ गते कुल ३६३ मत (खसेको मत ५७३) का साथ निर्वाचित भएका थिए। र, उनले दोस्रो कार्यकालको अन्त्य गर्दै २०७४ जेठ १० गते राजीनामा दिएका छन्। पहिलो पटक सरकार बनाउँदा उनले मुख्य रुपमा एमालेको साथ लिएका थिए भने दोस्रो पटक कांग्रेससँग। अन्य सहयोगी भने लगभग उस्तै।

उनको राजीनामा दुवै पटक चर्चित रह्यो। पहिलो पटक उनले आकस्मिक रुपमा राजीनामा दिएर सबैलाई छक्क पारेका थिए भने दोस्रो पटक सहमति पालना नगर्ने र सत्ता छाड्न गाह्रो मान्ने परम्परालाई तोड्दै। पहिलो राजीनामामा शब्दमै उल्लेख नगरे पनि उनको राजीनामासँग द्वैध सत्ताको नैतिकता जोडिएको थियो। प्रधान सेनापति रुकमाङ्गत कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध 'राष्ट्रपतिले केही शंकास्पद शक्तिहरुको उक्साहट र दबाबमा कदम चालेपछि' प्रधानमन्त्री नैतिक संकटमा धकेलिए। र, उनले राजीनामा दिए।

तर, दोस्रो राजीनामामा भने उनले नैतिकतालाई उल्लेख नै गरे र भने, 'मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु।'

यसका साथै प्रचण्डको राजीनामामा अन्य केही समानता र असमानता पाइन्छ। विशेष गरी उनमा सैद्धान्तिक र प्राप्तिको राजनीतिबाट व्यवहारिक राजनीतितिरको अवतरण महसुस गर्न सकिन्छ। पहिलो राजीनामामा उनले आफू अघिअघि हिँड्न खोजेको, अन्य दललाई पनि आफ्नै गतिमा हिँडाउन खोजेको तर उनीहरु नमानेको झलक दिएका थिए। तर, अहिले आफू सबैको साथसाथै हिँडेर सबैको स्वीकार्य नेतृत्वको भूमिका खेल्न खोजेको र केही हदसम्म सफल पनि भएको बताउन खोजे। यसलाई नकार्नुपर्ने कारण छैन।
दुवै पटक राजीनामा दिँदा प्रधानमन्त्रीले आफ्नो सरकार गठनको सान्दर्भिकता प्रस्तुत गरेका थिए। २०६६ सालको राजीनामामा भनेका थिए, 'हामीले चुनावको दौरानमा अघि सारेका ‘नयाँ नेपालका निम्ति नयाँ विचार’ भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो।' र, त्यसकै कारण सरकारसम्मको आफ्नो बाटो स्वभाविक थियो भन्ने उनले जोड दिएका थिए। सरकार हस्तान्तरणमा गरिएको नियोजित ढिलाइप्रति असन्तोष पनि पोखेका थिए। भनेका थिए, 'निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार बनाउन दिइएन। अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्ने मार्ग प्रशस्त भयो।'

तर, दोस्रो पटकको प्रधानमन्त्री पद प्रचण्डलाई जनअनुमोदनबाट प्राप्त भएको थिएन। यो केवल उनको अठोटको प्रतिफल थियो। उनले राजीनामामा यसबारे विस्तृत रुपमा बताएका छन्। उनले भनेका छन्, 'एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशंका गरिरहेका थिए। सबै आर्थिक सूचकांकहरु निराशाजनक थिए। २० घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो। विकासका चर्का भाषण त थिए, तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन। देश यति विभाजित थियो कि निर्वाचनमा सबैको सहभागिता हुन सक्छ र अझ निर्वाचन हुन सक्छ भन्नेमै धेरैलाई अविश्वास थियो। भूकम्प पीडितहरुको बिचल्ली थियो। छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन। यसरी चौतर्फी राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक समस्याका बीच सम्मानित संसदबाट मैले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको थिएँ।'

दोस्रोपटक सरकारको नेतृत्व लिने रणनीति बनाउँदै गर्दा उनीसँग देशका विद्यमान समस्याको निकास निकाल्न आफू अघि सर्नैपर्ने महसुस गरेको बुझ्न सकिन्छ। त्यसैले पनि उनी प्रतिकुल समयका बाबजुद र अपेक्षित अनपेक्षित आरोपहरुको  ख्याल नगरी अघि बढेका थिए।
पहिलो राजीनामामा प्रचण्डले भनेका थिए, 'स्थानीय निकायहरुको गठन हुन नदिएर गाउँ गाउँमा पठाइएको अरवौंको बजेट खर्च हुन सकेन।'

नयाँ संविधान अनुसार अब स्थानीय निकाय छैन, स्थानीय तहमात्रै छ। तर, त्यसको पहिलो आंशिक चुनाव गर्ने र दोस्रो चरणको चुनावको लागि वातावरण निर्माणको ऐतिहासिक श्रेय भने उनैले पाए। त्यसलाई यसरी जोड्ने प्रयत्न प्रचण्डले गरे, 'सिंगो देश एकजुट भएर अत्यन्त शान्तिपूर्ण, निश्पक्ष र उल्लासपूर्ण ढंगले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ भने बाँकी चार प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि पनि लगभग सबै तयारी पूरा भइसकेको छ। ... यसपटक जनताले स्थानीय तहमा सिंहदरबारका लागि मध्यस्थ छानेको छैन, सिधै आफ्नो सिंहदरबार चुनेको छ।'

२०६६ सालमा उनी विदेशी भूमिका प्रति क्रुद्ध देखिएका थिए। उनले आक्रामक हुँदै भनेका थिए, 'यो प्रकरणमा कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको दृश्य र अदृश्य चलखेल प्रति म सम्पूर्ण देशभक्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुको ध्यानाकर्षण गराउन चाहन्छु। ... हाम्रो आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन। नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डता विरुद्ध कुनै प्रकारको सम्झौता हुन सक्दैन। दशौं हजार देशभक्तहरुले बनाएको रगतमाथि टेकेर हामी कुनै पनि विदेशी प्रभुहरु सामुन्ने शीर निहुराउन तयार छैनौं।' उनले थपेका थिए, 'कुर्सीका निम्ति विदेशीको मुख ताक्ने युगको अन्त्य अब नेपालमा भैसकेको छ भन्ने स्पष्ट सन्देश पनि हामी सबैलाई दिन चाहन्छौं।'

तर, दोस्रो कार्यकालमा उनले छिमेकीहरुसँग सहज सम्बन्ध निर्माणको लागि गरेको प्रयासको चर्चा गरेका छन्। भनेका छन्, 'सरकारले सुरुदेखि नै कूटनीतिक अग्रसरता लियो र दुई उपप्रधानमन्त्रीलाई एकै पटक दुई छिमेकी देशमा विशेष दूतका रुपमा पठाएर सम्बन्ध सामान्यीकरण र विश्वास अभिवृद्धिको पहलकदमी लियो। भारत र नेपालका सम्माननीय राष्ट्रपतिहरुको भ्रमण, मेरो भारत र चीन भ्रमण अनि ब्रिक्स् सम्मेलनमा सहभागिताले आपसी विश्वाससँगै आपसी सहयोगको बाटो खोलेको छ।'

पहिलो राजीनामामा प्रचण्ड गठबन्धका सहयात्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए। आफूलाई काम गर्न नदिएको, घेराबन्दी पारिएको र मुख्यतः सेनापति हटाउने आफ्नो निर्णयमा दिएको सहमतिको वचन लत्याइएकोमा उनको गुनासो देखिन्छ। उनले भनेका थिए, 'यस (सेनापति) प्रकरणमा राजनीतिक दलहरुसँग सहमति कायम गर्ने हाम्रो भगीरथ प्रयासका वावजुद केही निहित स्वार्थी कोण र वृतहरुबाट भ्रम  र आशंक फिँजाएर राजनीतिक दलहरु बीचमा नै फाटो पार्न सफल हुनु झन् ठूलो चिन्ताको विषय भएको छ। कतिपय दल र तिनका नेताहरु शुरुमा सहमत भएर पनि पछि अज्ञात कारणवश पछि हट्नु र यति संवेदनशील विषयमाथि खेलवाड गर्नु लोकतान्त्रिक मूल्यमान्यता र संस्कृतिको विकासको निम्ति गम्भीर खतराको सूचक बनेको छ।'

तर, यसपटक भने उनी व्यवहारिक सुनिए। भनेका छन्, 'हामी सबैलाई थाहा छ, गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन्। फरकफरक राजनीतिक दृष्टिकोणबाट सहकार्य स्वभाविक रुपमा जटिल र पेचिलो हुन्छ। तर, अपवाद बाहेक सरकारमा त्यो जटिलताको छाँया परेन। म सरकारमा सहभागी सबै दल र माननीय मन्त्रीहरुलाई सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।'

त्यतिबेला उनले आफ्नो अनुभवजन्य कमजोरीका कारणले चाहेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन्। राजीनामामा भनेका थिए, 'हामी जानअन्जानमा भएका आफ्ना कमीकमजोरीहरुलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं।'

तर, दोस्रो पटक भने उनले कामको फेहरिस्त बताउन भ्याए। विकास निर्माणदेखि उर्जा, उद्योग लगायतका क्षेत्रमा देखिएको उल्लेख्य परिवर्तनलाई सुनाउन लामो समय खर्चे। उनले भने, 'आर्थिक वृद्धिदरमा हामी विश्वशक्ति बन्न अग्रसर हाम्रा दुई छिमेकीकै हाराहारीमा पुगेका छौं भन्ने जानकारी गराउन पाउँदा म हर्षित छु। भविष्यमा बन्ने सरकारहरुको लागि यो वृद्धिदर अब एउटा मानक बन्ने छ। देशको विकास जनताले भाषणहरुमा होइन, तथ्याङ्कहरुमा र परिणामहरुमा खोज्नेछन् भन्नेमा म विश्वस्त छु।'

पहिलो राजीनामामा उनले जनतालाई सचेत बनाउँदै भनेका थिए, 'नयाँ लोकतान्त्रिक समुन्नत नेपालको निर्माण र नागरिक सर्वोच्चताको वर्तमान संघर्षमा अझ दृढतापूर्वक लागिरहन सम्पूर्ण जनसमुदाय, नागरिक समाज र राजनीतिक शक्तिहरुसँग हार्दिक आग्रह गर्दछु।' त्यतिबेला उनमा भय बाँड्ने आशय थियो। आफ्नो राजीनामालाई षड्यन्त्रको प्रतिफलको रुपमा पुष्टि गर्ने अभिप्राय रहेको बुझ्न सकिन्छ। उनले भनेका थिए, 'देशमा हाल असंवैधानिक ढंगले सिर्जना गरिएको द्वैध सत्ताको स्थिति हरहालतमा अन्त्य हुन जरुरी छ।'

उनले त्यतिबेला अनिष्ट र अप्ठ्यारा बाँकी रहेको वा त्यसका लागि निरन्तर प्रयास भइरहेको बताएर केही निराशा वितरण गरेका थिए। तर, यसपटक भने उनी उत्साहको शब्द बाँड्न अग्रसर भए। उनले भने, 'लोडसेडिङ अन्त्यले केवल बाहिरी अध्याँरो हटाएको छैन, हामीभित्रको लाचारी र हीनभावनाको अन्धकार पनि मेटाउँदै लगेको छ।' उनले थपे, 'सफल प्रधानमन्त्रीको रुपमा दिदीबहिनी तथा दाजुभाइसँग बिदा लिन पाउँदा खुशीको अनुभूति भएको छ।'

पहिलो पटक उनी आफ्नो असफलताको कारक खोज्ने र त्यसलाई आरोप करार गर्ने रणनीतिका साथ राजीनामा दिँदै थिए। अरुप्रति निकै गुनासो थियो। तर, पछिल्लोपटक उनी कसैलाई आरोप लगाउने वा गुनासो गर्नतिर लागेनन्। बरु, प्रतिकुल समयका बाबजुद पनि आफूले केही गर्न सकेकोमा सन्तुष्ट सुनिए। केही आशा बाँड्न सकेकोमा र मानक सरकार बन्न सकेकोमा खुसी व्यक्त गरे।

दुई राजीनामालाई तुलना गर्दा भन्न सकिन्छ कि प्रचण्ड निकै व्यवहारिक भइसकेका छन्। आक्रमकता कम हुँदै गएको छ। आफ्नो कुरा सुनाउनमा होइन, अरुको कुरा सुन्नेतिरको बाटो समातेका छन्। ठूला कुराबाट होइन, साना साना कामबाट नै यो देशमा आशा जगाउन र ठूला परिवर्तन र सपना साकारको बाटोतिर लम्किन सकिन्छ भन्ने प्रमाणित गर्न खोजिरहेका छन्। र, त्यसको लागि एउटा सन्देश सबैमा बाँड्न खोजेका छन्, इमानदारिता।

पहिलाेपाेस्टमा प्रकाशित

No comments:

Post a Comment