उज्ज्वल प्रसाईं ।
यहाँका अधिकांश मान्छेले इज्जतिलो जीवन जीउन पाएका छन् कि छैनन् भन्ने कुराले समाज परिवर्तन वा विकास भएको छ कि छैन भन्ने कुराको निर्धारण गर्छ । कोहीसँग सम्पत्ति नै छैन, कोहीसँग यति धेरै छ कि जे गर्दा पनि सकिदैन । यो अन्याय होइन ? भन्न सकिएला कोही अल्छि भएर यस्तो भयो । तर, सारा गरिबहरुलाई अल्छि करार गर्न मिल्छ ? यहाँको गरिबीको कारण हरेक गरिब व्यक्ति र परिवार दोषी भएर हो ? वा गढबढी व्यवस्थामा छ ? कोही मान्छे दलनमा छ, उसले आफ्नो जिन्दगीमा पाउनुपर्ने जति सम्मान पाएको छैन । ऊ दलितको घरमा जन्मियो, उसको भाग्य नै त्यस्तो भनेर त्यत्तिकै छोड्न मिल्छ ? कोही तामाङको घरमा जन्मियो, उसले नेपाली भाषामा राम्रोसँग पढ्न सकेन, बिभिन्न कारणले पढाइमा सुधार भएन । ऊ गरिब नै रह्यो । अब उसलाई ‘तँ तामाङको घरमा जन्मिस्’ भनेर पन्छाउन मिल्छ ? यहाँ तर्क के गरिन्छ भने म बाहुनको घरमा जन्मिएँ, म धनीको परिवारमा जन्मिएँ, के यो मेरो गल्ति हो ? उसो भए दलित वा तामाङले दलित वा तामाङ समुदायमा जन्मेर गल्ति गरेको हो ? यस्तो तर्कको उभिने कुनै जमिन हुँदैन । त्यसैले समस्या व्यवस्थामा र हाम्रो सामाजिक संरचनामा छ, त्यो समस्या कसरी छ भनेर खोजेपछि मात्रै हाम्रो तर्कले उभिने जमिन पाउँछ ।
यी र यस्ता मान्छेले इज्जतिलो जिन्दगी जिउन पाएका छन् कि छैनन् भन्ने अहिलेको प्रमुख प्रश्न हो । तपाईंलाई कसैले अलि होच्याउने गरि बोलिदियो भने दिनभरि मन पोल्छ कि पोल्दैन ? अब सम्झनुस्, एउटा सिंगो परिवार, सिंगो समुदाय गरिब भएका कारणले वा कुनै खास जात वा जातीमा जन्मिएका कारणले बर्षौदेखि, जन्मेदेखि, पुस्तौंपुस्तादेखि त्यो गालीलाई दिनैपिच्छे सुनेर स्वीकार गरिरहनुपरेको छ । तपाई सम्झनुहोस्, तपाईं बाटोमा हिड्दैगर्दा कसैले दुर्बचन बोलिदियो भने तपाईको मन पोल्छ, अस्थीर बन्नुहुन्छ, कक्षाकोठामा राम्रोसँग पढ्न सक्नुहुन्न, परीक्षा छ भने बिगार्नुहुन्छ । त्यसलाई सहजै पचाउन सक्नुहुन्न । अनि दलितले चाहीँ त्यस्तो बचन र व्यवहारलाई जिन्दगीभर सुन्नुपर्छ, भोग्नुपर्छ । के यहाँ गडबड छैन ? के उसले इज्जतिलो जीबन जिउन पायो ? यसरी सिंगै समुदाय, सिंगै क्षेत्र गरिबै छ, पिछडिएको छ । भाषाको कारणले, रङको कारणले, सम्पत्ति नभएका कारणले पिछडिएको छ भने यो देशमा परिवर्तन भयो, विकास भयो भन्ने कि नभन्ने ? यो ठोस प्रश्न हो । प्रश्न गर्दै गर्दा भएका परिवर्तनमा आँखा चिम्लन भने मिल्दैन ।
हो, विकास भयो कि भएन, परिवर्तन भयो कि भएन भन्ने कुरा एक लाइनमा उत्तर आउने, सपाट बुझिने कुरा होइन । सजिलै यो हो, यो होइन भनेर उत्तर दिन नसकिने प्रश्न हो यो । त्यसकारण गहिरिएर सोच्नुपर्ने, सारा किताबका ठेली पल्टाउनुपर्ने, मान्छेले लेखेका पढ्नुपर्ने आबश्यकता परेको हो । डा. रामशरण महतदेखि डा. बाबुराम भट्टराईसम्मले लेखेका पढ्नुपर्ने, माक्र्सदेखि किन्स, मिल्टन, एफ.ए.हायक लगायतका अहिलेका जोसेफ स्टिगलिज जस्ता घगडानहरुले लेखेको पढ्नुपरेको हो । किन पढ्नु परेको हो त भन्दा यी प्रश्नहरुको उत्तर सहज छैन । तर, सहजै बुझ्न केचाहीँ सकिन्छ भने मान्छेहरुको बीचमा असमानताहरु छन् । सम्पत्तिका आधारमा, समुदायका आधारमा, रङका आधारमा, भाषाका आधारमा, जन्मको अबस्थितीका आधारमा मान्छेहरुका बीचमा असमानताहरु छन् । केही अन्वेषक र चिन्तकहरुले पत्ता लगाएका सामान्य सत्य के हो भने यो परिस्थितिलाई बदल्न सकिन्छ । हो, हामी यी समस्याहरुलाई बदल्न सकिन्छ भन्ने सोच्छौं भने अब हाम्रो तर्फबाट गर्ने प्रयासहरु गर्नुपर्छ ।
हामीले आफ्नो तर्फबाट गर्न सकिने कामहरु छन् । हामी पढ्दै छौं भने हाम्रो उद्यम भनेको पढ्नु र लेख्नु नै हो । पढ्नु र लेख्नुलाई पनि हामी परिवर्तनसँग जोड्न सक्छौं । यी सबै कुराहरु, जो गलत छन् तिनीहरुलाई बदल्नको लागि हामीले पढेर, लेखेर पनि योगदान दिन सक्छौं । तर, सबैभन्दा पहिलो खुड्किलोचाहीँ समस्यालाई बुझ्नु नै हुन्छ । यी असमानताहरु कसरी भइरहेका छन्, गडबडहरु कसरी भइरहेका छन् भनेर बुझ्नु नै हाम्रो पहिलो कर्तव्य हो । र, त्यसलाई बुझ्ने एउटा माध्यम भनेको पढ्नु नै हो ।
पढ्नु आफैमा सजिलो काम भने होइन । कार्ल माक्र्सको पूँजी आज पल्टाएर हेरौं न । निद्रा लाग्छ । अथवा त्यो त बढी नै अर्थशास्त्रीय सैद्धान्तिक पुस्तक भयो, लियो टोल्सटोयको वार एण्ड पिस लिउँ न । भन्नुको तात्पर्य के भने, पढ्न सजिलो काम होइन । यी सारा असमानता, गडबडीसँग जुध्न कहाँ सजिलो छ र ? अनि पढ्न कसरी सजिलो हुन्छ ? तर त्यसो भनेर गर्नै नसकिने पनि होइन । यो पढ्ने कुरालाई जे पनि बनाउन सकिन्छ । मनोरञ्जन, करियर, गफ हाँक्ने कुरा बनाउन पनि सकिन्छ । मैले माक्र्स पढेको छु भनेर गफ दिन सक्यो भने, चिया खुवाउने मान्छे भेटिन्छन् अहिले पनि । बेवकुफ बनाउने त हो । ध्यान दिएर सुन्नुहोला, कतिपय नेताले भाषण गर्दा माक्र्सले यसो भनेका छन् भनेर भन्छन् । तर, कहाँ भनेका छन् भनेर तिनले कहिल्यै भन्दैनन् । कुन पुस्तकमा, कुन सन्दर्भमा भनेका हुन् भनेर सोध्यो भने, तिनीहरु भाग्न थाल्छन् । चिया खाने, दारु खाने क्रममा सुनेका कुरा ल्याएर भाषण गर्नेहरु पनि छन् । किनकि यो सजिलो छ । अप्ठ्यारो के छ त भने ती खास कुराहरुलाई सन्दर्भ सहित पर्गेल्नु, त्यसका लागि पढ्नु, वरपरको भौतिक परस्थितिसँग दाँजेर हेर्नु र बुझ्नु । बुझेपछि परिवर्तन गर्न कसरी सकिएला भनेर उपयाहरु सोच्नु । यो पनि उति सजिलो विषय होइन ।
तर, हामीले यो गाह्रो छ भनेर छोड्दै जान मिल्दैन । हामीले छोड्दै गएर कसको जिम्मा लगाउने ? नेतालाई ? पत्रिकामा आर्टिकल लेख्नेहरुलाई ? पत्रकारलाई ? शिक्षकलाई ? जिम्मा कसले लिने ? हाम्रो हेलचक्र्याईं कहाँ हुन्छ भने हामी अरुलाई जिम्मा लगाउने काममा बडो माहिर छौं । यो त पत्रिकामा लेख्नेको काम हो नि भनेर छोडिदिन्छौं । शिक्षकले पो पढाउनु पर्छ, नेताले पो भाषण ठोक्नु पर्छ, त्यसकारण उनीहरुले पो पढ्नुपर्छ भनेर बुझ्छौं । हामीले त परीक्षामा पास हुनेजति पढे भइहाल्यो नि भनेर बुझ्छौं । यसरी पढ्ने र बुझ्ने कुरालाई पन्छाउने बित्तिकै समाजका सारा गडबडीलाई हामीले स्वीकारेको ठहर्छ । मतलब, हामी हाम्रो दायित्वबाट भाग्दैछौं । किताब पढ्नु भनेको समाज, दुनियाँ र जीबन पढ्नु हो । मान्छेका चरित्र, राजनीतिका चरित्र पढ्नु हो । सामाजिक, आर्थिक कुरा पढ्नु हो । मान्छेका जीबनमा यी सारा कुरा आउँछन् । पुस्तक मार्फत समाजका भोगाइ, इतिहास पढ्न सकिन्छ ।
सर्बप्रथम जिम्बेबार हुनुप¥यो । म किन पढ्दैछु, केका लागि पढ्दैछु भन्ने कुरामा स्पष्ट हुनुप¥यो । समाजमा रहेका गडबडी बदल्नको लागि मेरो पनि केही भूमिका हुन्छन् भन्ने कुरामा जिम्बेबार र स्पष्ट हुनुप¥यो । तर, पढेका सबै कुरा दैनिक जीबनमा तत्कालै लागु गराउन सकिदैन । लागु गराउने कुनै सुत्र हुँदैन । कुनै पुस्तकमा यो पाठ पढियो, घर गएर त्यसलाई यहाँ लागु गर्ने भन्ने हुँदैन । जस्तो, हामीले महिला र पुरुष समान हुन् भनेर पढ्छौं । तर, व्यवहारमा त्यसलाई लागु गर्न गाह्रो भइरहेको हुन्छ । तर, पढेर बुझेपछि हामीले सोच्ने हो, मेरी बहिनी र ममा कत्तिको समानता छ ? म र मेरो कक्षाको महिला साथीमा कत्तिको समानता छ ? मैले महिला साथीलाई हेर्ने दृष्टिकोण के छ ? उसलाई मजत्तिकै समान बुझ्छु कि बुझ्दिन ? हामीले पढेर बुझेका छौं भने हामीमा परिवर्तन आउन थाल्छ । महिलालाई हेप्न, बहिनीलाई कपडा धुन दिन अप्ठ्यारो लाग्न थाल्छ । सँगसँगै अवस्था बदलिन थाल्छ । त्यसरी नै बहिनीले वा महिला साथीले पनि सँगै आफूलाई मजबुत बनाउँदै लगे भने, उनीहरुले आफू शोषित नहुने उपायहरु सोच्न थाल्छन् । यहाँ संवादको थालनी हुन्छ, न्यायको खोजी हुन थाल्छ । पढ्ने र सोच्ने कुराले यसरी सघाउँछ ।
मधेसका मान्छेलाई अझैसम्म हामीमध्ये कैयौं ‘मदिसे’ भन्छौं । उनीहरुलाई सम्मानसाथ ‘मधेसी’ भन्दैमा उनीहरुको जीवनमा कायपलट हुने होइन । तर, उनीहरुलाई अपमानित महसुस हुँदैन । सम्मान पाएको महसुस हुन्छ । यसपछि एकअर्कालाई हेर्ने दृष्टिकोणमा फरकपन आउँछ, एक अर्काप्रति हामी मानवीय व्यवहार गर्न थाल्छौं । तर, यो सम्मानको महत्व बुझ्नका लागि कहाँ असम्मान भएको छ र त्यसको असर कस्तो परेको छ भन्ने बुझ्नुपर्छ । त्यसका लागि पढ्नुपर्छ, आफ्नै समाजको इतिहास, सँस्कृति, र साहित्य पढ्ने र सोच्ने बानीको विकास गर्न जरुरी छ ।
(डिस्काेर्स डबलीले आर.आर. क्याम्पसमा २०७१ भदौ १९ गते गरेको अन्तरक्रिया कार्यक्रममा प्रसाईंले दिनुभएको मन्तव्य)
याे पनि पढ्नुहाेस्ः
No comments:
Post a Comment