कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर
फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश
भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए
। त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो ।
पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१
अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश
भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये
एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः
१.
२००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो
पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली
एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका
रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत
दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल
राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले
राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।
२.
तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं
महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र
नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने
लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले
छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’
समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी
कम्युनिस्ट पार्टीमा परिणत गरायो ।
३. प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना
गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ
प्रश्रतिको शिक्षा मन्त्रित्व कालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ
घूस खाइयो ।