Pages

Friday, December 23, 2016

संकटमा सम्पादक

नारायण वाग्ले

सन् १९९९ को भारत र पाकिस्तान वार्ता असफल भएपछि द्विदेशीय सम्बन्ध सिंहावलोकन छलफल कार्यक्रमको प्रमुख वक्ता बनेर पाकिस्तानी अंग्रेजी पत्रिका ‘फ्राइडे टाइम्स'का सम्पादक नजम सेठी भारत आएका थिए। कार्यक्रम समापनपछि आफ्नो देश फर्केकै राति सेनाले उनको घरमा छापा मारेको थियो र बन्दुक देखाउँदै उनलाई पिटेको थियो। उनकी श्रीमती तथा टाइम्सकी प्रकाशक जुगनु मोहसिनले पक्राउ पुर्जी माग्दा एउटा सिपाहीले ठाडो जवाफ दिएको थियो, 'केको पुर्जी? म यिनलाई यहीँ गोलीले भुटिदिन्छु र पुर्जीका रूपमा उनको शव छाडिदिन्छु।' त्यसपछि आफ्नो देशविरुद्ध बोलेको भन्दै सेनाले उनलाई राष्ट्रघातको अभियोग लगाएर अज्ञात ठाउँमा थुनेको थियो। त्यतिखेर नवाज सरिफ प्रधानमन्त्री थिए र उनको सरकारको उच्चतहमा भइरहेका भ्रष्टाचारको खोजबिन सेठीले छापिरहेका मात्र थिएनन् बाहिरी सञ्चार माध्यमसँग त्यसबारे अन्तर्वार्ता दिइरहेका पनि थिए।

साँघुरो राष्ट्रवाद भारत र पाकिस्तानका विशेषता बनेको औंल्याउने सेठी मूलधारका भारतीय र पाकिस्तानी सञ्चार माध्यमका आलोचक हुन्। भारत र पाकिस्तानबीच समस्या बढाउन मिडिया आफै लागेको उनी ठान्छन् किनकि दुई देशका प्रधानमन्त्रीहरू शान्तिका लागि छिमेकी राजधानीमा हात बढाउन पुग्दा सबभन्दा विरोध पत्रकारहरूले गरेको पाइएको छ। भारतीय प्रधानमन्त्रीले पाकिस्तानसँग सम्बन्ध सुधार्न लागे भने बढी विरोध भारतीय पत्रकार गर्छन्। त्यस्तै पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग सम्बन्ध विकास गर्न लागे भने त्यसको बढी विरोध गर्ने पाकिस्तानी पत्रकार हुन्छन्।

सेठी भन्छन्, 'भारतीय प्रधानमन्त्री आइके गुजरालले १९९७ मा पाकिस्तानसँग कश्मिरबारे वार्ता गर्न खोज्दा भारतीय मिडियाले रोकेको थियो। अस्तिताका प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानी समकक्षीसँग इजिप्टमा गरेको सहमति बढाउन अहिले भारतीय मिडियाले नै विरोध गरिरहेका छन्। त्यस्तै भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीले ऐतिहासिक इस्लामावाद बस यात्रा गर्ने तय भएपछि पाकिस्तानले सडकबाट देखिने कश्मिर होटलको साइनबोर्ड झिकेको थियो। तर त्यसैलाई मूल मुद्दा बनाएर पाकिस्तानी पत्रकारहरूले सरकारको सदासयलाई सबभन्दा ठूलो कमजोरीका रूपमा व्याख्या गरिदिएको थियो।'

मूलधारको पाकिस्तानी सञ्चारमाध्यमको आलोचक सेठी पाकिस्तानी मूलधारका सञ्चारमाध्यमको निसाना बनेका छन्। त्यतिमात्र होइन उनी आफ्नै देशमा असुरक्षित पनि छन्। तालिबानले उनलाई सम्पादकीय नीति परिवर्तन नगरे ज्यान मार्ने धम्की दिएको छ। अल-कायदालगायत कट्टरपन्थी धार्मिक इश्लामिक संगठनहरूबाट उनलाई ज्यानको धम्की बारम्बार आइरहन्छन्। पहिले राज्यपक्षबाट उनी पीडित हुन्थे, अहिले गैर राज्यपक्षबाट।

सेठीको अर्को पत्रिका उर्दु भाषाको आजकलमा छापिएको एउटा कार्टुनपछि एउटा धार्मिक समूहले उनलाई मार्ने धम्की दिएको थियो। कार्टुनमा एक महिला जेहादीले आफ्ना चेलीहरूलाई जेहाद छेड्न र सहादत प्राप्त गर्न सिकाइरहेकी थिई। धम्कीपछि सरकारले उनलाई 'परिस्थिति साम्य नभएसम्म' देशबाहिर रहन सुझाव दिएको थियो। तर उनले त्यो सुझाव मानेनन्।

यिनै आँटिला सेठीले विश्व सम्पादक मञ्च (वेफ)ले हरेक वर्ष प्रेस स्वतन्त्रताका पक्षमा दह्रो उभिने पत्रकारलाई दसकौंदेखि दिँदै आएको 'स्वतन्त्रताको स्वर्णिम कलम' पुरस्कार अघिल्लो साता भारतको हैदरावादमा भएको विश्व पत्रिका संगठन (वान)को बैठकमा पाए। वान मातहतको संगठन वेफले कठिन परिस्थितिमा ज्यानकै जोखिम मोलेर प्रेस स्वतन्त्रताका पक्षमा अडिग रहेकाले उनलाई उक्त पुरस्कार दिइएको जनाएको थियो। उनले सन् १९९९ मा अमेरिकास्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट को प्रेस स्वतन्त्रता पुरस्कार पनि पाइसकेका थिए।

भारतीय राष्ट्रपति प्रतिभा पाटिलको उपस्थितिमा सुरु भएको प्रकाशक र सम्पादकहरूको चारदिने विश्व सम्मेलनको भव्य उद्घाटन समारोहमा सेठीले भने, 'दुवै देशका मिडियाले आफ्ना प्रधानमन्त्रीलाई अर्को देशसँग सहमति गर्न रोकिरहेका छन्।'
'पाकिस्तानमा शान्ति अवरुद्ध गर्ने निहित स्वार्थहरू'का कडा आलोचक रहँदै आएका सेठी लाहोरमा आठ जना प्रहरी कमान्डोको सुरक्षामा बस्न बाध्य छन्। 'म र मेरो परिवार हरपल सुरक्षाघेराभित्र बाँचिरहेका छौं,' उनले भने, 'मैले तालिबानबाट निरन्तर धम्की पाइरहेको छु, र मलाई सजिलोसँग तर्साउन उनीहरूले टाउको छिनालिएका 'अमेरिकी जासुस'हरूका तस्बिर पठाउने गरेका छन्।' उनीसहित चार जना पाकिस्तानी पत्रकारलाई अमेरिकी जासुसको आरोप लगाउँदै 'तोराबोरा' भन्ने तालिबानी प्रोपोगन्डा पत्रिकामा शिरच्छेदन गरिदिने सार्वजनिक धम्की दिइएको थियो। उनले भने, 'अरू तीन जना पत्रकारले देश छोडिसकेका छन्।'

यस वर्ष मात्र अतिवादी समूहहरूबाट आठ जना पत्रकार र हजारौं सर्वसाधारण पाकिस्तानमा मारिएका छन्। त्यसैले पाकिस्तान अफगानिस्तान र इराकपछि सम्भवतः सबैभन्दा असुरक्षित देश हो। तर सरकारबाट सुरक्षा पाइएन भन्ने सेठीलाई छैन किनकि अतिवादी सशस्त्र समूहहरूको सामना गर्न सजिलो छैन। चिन्ता त उनलाई मूलधारका पाकिस्तानी पत्रकार, कट्टर धार्मिक अतिवादी समूहहरू र छरछिमेकसँग युद्ध चाहने राज्यपक्षका केही अंगको छ।

अदालतमा पाँच वटा मुद्दा खेपिरहेका सेठी पाकिस्तानी मूलधारका पत्रकारमा हुर्किरहेको अन्ध राष्ट्रवादी र धार्मिक भावनाबाट दुखी छन्। 'तीन दसक लामो स्वतन्त्रताले पाकिस्तानमा उत्पादन गरेको पुस्ता अमेरिकाविरोधी, पश्चिमाविरोधी, भारतविरोधी छ,' उनले सम्मेलनकै अर्को सत्र प्रेस स्वतन्त्रता गोलमेचमा भने, 'छिमेकसँगको शान्ति नै हाम्रो शान्ति र समृद्धि हो भन्ने मूलधारका सञ्चारमाध्यमले स्वीकार गरेका छैनन्। एउटा पुस्ताको मानसिकता परिवर्तन झट्टै हुँदैन।'

तालिबान अमेरिकीमाथि आक्रमण गर्दासम्म पाकिस्तानी मिडियाले तालिबानलाई नायकका रूपमा चित्रण गरे। तर मध्यबजारमा सर्वसाधारण मारिने गरी विष्फोट गराउन र सेना तथा प्रहरीकै कार्यालयमा आक्रमण गर्न थालेपछि अहिले भने पाकिस्तानमा एकप्रकारको सहमति देखिएको छ, तालिबानलाई आतंकवादी भन्ने। सेठीले भने पहिल्यै तालिबान जस्ता समूहले अमेरिका विरुद्धमात्र होइन पाकिस्तानीविरुद्ध पनि युद्ध छेडेका छन् भन्ने लेख्ने साहस गरेका थिए। त्यसैले उनले भने, 'यो अमेरिका विरुद्धमात्रै होइन, हाम्रै विरुद्ध युद्ध हो भनेर लेख्ने पाकिस्तानको मेरो एउटै पत्रिका भयो।'

पाकिस्तानमा सरकारले राज्यको प्रतिनिधित्व गर्दैन, सरकार र सेनाले मात्र राज्यको प्रतिनिधित्व गर्छन् भन्ने सेठीको दलिल छ। उनका अनुसार सरकार र सेना कहिले एकैठाउँ उभिन्छन्, कहिले फरक-फरक ठाउँमा। उनी भन्छन्, 'पाकिस्तानमा परम्परागत रूपमा शक्तिको 'ट्रोइका' राष्ट्रपति, प्रधानमन्त्री र सेनापति हुन्।' ढिलै भए पनि अहिले त्यसमा दुई शक्ति थपिएका छन्, न्यायालय र मिडिया। त्यसको कारण छ। उनी भन्छन्, 'मैले एकपल्ट टेलिभिजन कार्यक्रममा सेनाको विरोधमा बोलेको थिएँ। सेनाले केबल अपरेटरहरूलाई आदेश दिएर त्यो च्यानल झिकिदियो। तर मिडियाबाट विरोध भयो। पाँच-छ घन्टामै प्रसारण सुचारू भयो।'
पाकिस्तानमा कानुनतः प्रेस स्वतन्त्रता छ र राज्यले प्रेसमाथि ठूलो दबाब दिएको छैन। स्वतन्त्र न्यायपालिका सक्रिय हुन थालेकाले पत्रकारहरू राज्यबाट त्यति असुरक्षित छैनन्। वास्तविक त्रास गैर राज्यपक्षबाट छ।

सेठीसँगै काँधमा काँध मिलाएर पाकिस्तानमा जुधिरहेका अर्का पत्रकार हुन् दक्षिण एसियाली स्वतन्त्र मिडिया संगठनका महासचिव इम्तिहाज आलम। उनले सम्मेलनकै एक ब्रेकफास्ट छलफलमा सत्य बोल्दा आफू पनि पीडित बन्न पुगेको सुनाए। गत वर्ष मुम्बईमा भएको आतंककारी हमलाका एउटै जीवित आक्रमणकारी अजमल कसब पाकिस्तानी हुन् भनेर उनले टेलिभिजनमा अन्तर्वार्ताका क्रममा बोलिदिएका थिए। कसबलाई भारतीय प्रहरीले पक्राउ गर्दा उनी पाकिस्तानी हो भन्ने स्वीकार नगर्ने मानसिकता पाकिस्तानी मिडिया थियो। उनले भने, 'पाकिस्तानी मिडिया पढ्दा, हेर्दा यस्तो लाग्थ्यो कि ऊ पाकिस्तानी होइन। मैले सोधखोज गरेँ र पत्ता लगाएँ ऊ पाकिस्तानी नै हो, फरिदकोटको। मैले त्यही बोलेको थिएँ।' त्यत्ति कुराले पाकिस्तानमा उत्पात मच्चायो। पाँचजना हतियारधारी जासुस उनको अफिसमा आए र कारलाई ध्वस्त पारे।

राष्ट्रवादको होडको माहोलमा दुवै देशका पत्रकारले आफ्ना राष्ट्रिय विषयवस्तुप्रति 'सही दृष्टिकोण' कायम गर्न सकिरहेका छैनन् भन्नेमा भारतीय पत्रकारहरूले पनि सही थापे। टाइम्स अफ इन्डियाका सल्लाहकार सम्पादक दिलीप पड्गावकरले भने, 'हो, आफ्नो देशमा भएको घटनामा अर्को देशलाई दोष लगाउने प्रवृत्ति स्थापित भइसकेको छ। बलुचिस्तानमा केही भयो भने भारतको गुप्तचर संस्था 'र' ले गरायो भनेर पाकिस्तान जंगिन्छ। त्यसैगरी यता जम्मु कश्मिरमा केही भयो भने पाकिस्तानी सेना र गुप्तचर संस्था 'आइएसआई' ले गरायो भन्ने भारतको टिप्पणी हुन्छ।'

लामो लोकतान्त्रिक अभ्यास गरिरहेको भारतको स्वतन्त्र मिडिया भने आफैमा धेरै स्वतन्त्र नरहेको कुरा सम्मेलनमा उठ्यो। सेठीले त्यसलाई स्विकार्दै भने, 'भारतीय पत्रिकामा पढ्ने कुरै हुँदैन। व्यापारिक समुदाय यस्तरी हावी भइसकेको छ कि समाचारलाई बिक्रीका रूपमा राखिएको देखिन्छ। यस्तरी व्यापारीकरण भएको छ कि यहाँका पत्रपत्रिका राज्यले प्रकाशित गर्नेजस्तो भइसकेका छन्।'

सेठीजस्ता पत्रकारको स्वतन्त्र प्रेसका लागि साहसिक आवाज उठाउँदै आएकाले अहिले पाकिस्तानमा कानुनतः प्रेस स्वतन्त्रता छ र राज्यले प्रेसमाथि ठूलो दबाब दिएको छैन। स्वतन्त्र न्यायपालिका सक्रिय हुन थालेले पत्रकारहरू राज्यबाट त्यति असुरक्षित छैनन्। तैपनि उनले कार्यक्रममा 'दस वर्षअघि म भारतमा आएर बोलेर फर्कनासाथ पक्राउ परेको थिएँ। यसपालि पनि भारत आएर बोल्दैछु, अब फर्कदा पनि पक्राउ पर्ने पो हुँ कि?' भन्न भ्याए। तर उनको लबजमा डर होइन ठट्टा थियो। 


साभारः http://npi10month.blogspot.com/2009/12/blog-post_12.html 

***

यो पनि पढ्नुहोस्ः   सम्पादकको अवशान

No comments:

Post a Comment