Pages

Friday, December 23, 2016

सम्पादकको अवसान


प्रतीक प्रधान
 
भारतका एकजना प्रतिष्ठित पत्रकार तथा विभिन्न ठूला पत्रिकाका सम्पादक रहिसकेका भारत भुषण हालै नेपाल भ्रमणमा रहेका बेला एउटा सार्वजनिक संवादमा घोषणा गरिदिएसंसारको सबैभन्दा ठूलो लोकतन्त्रमा सम्पादकको अवसान भएको छ। तर यो चिन्ता उनको मात्र होइन। 

भारतीय पत्रकारिताको इतिहास बुझेको सबैले भन्छन् अब भारतमा पत्रकारिता छैन केबल विज्ञापनकारिता बाँचेको छ। अर्थात् अब समाचार र विज्ञापनबीचको विभेद हटेको छ। पाठकहरू विज्ञापनका लागि पत्रिका किन्छन् वा टेलिभिजन हेर्छन् र प्रकाशकहरू विज्ञापन बेच्न पत्रिका छाप्छन् वा कार्यक्रम प्रसारण गर्छन्।
एक सय पचहत्तर वर्षको इतिहास भएको अंग्रेजी भाषामा विश्वकै सबैभन्दा धेरै बिक्ने पत्रिका द टाइम्स अफ इन्डियाका वर्तमान प्रकाशक समिर जैनले भारतीय सम्पादकको समाधि बनाउन महत्वपूर्ण भूमिका खेले। आफ्ना पिता साहु जैनबाट टाइम्सको प्रकाशक संस्था बेनेट एन्ड कोलम्यान कंपनी लिमिटेडको स्वामित्व विरासतमा प्राप्त गरेपश्चात् जैनका दुई सुपुत्र समिर र विनितले भारतको पत्रकारितालाई विज्ञापनकारितामा परिणत गरिदिएका हुन्। त्यही लयमा लागे भारतका अन्य ठूला मानिएका प्रकाशन गृह जसमध्ये द हिन्दुस्तान टाइम्स प्रमुख रह्यो। अब भारतमा सम्पादकको स्थान या त प्रकाशक आफैँले लिएका छन् वा बजार व्यवस्थापक वा लेआउट डिजाइनरलाई जिम्मा लगाएका छन्। अब जनताको पीर, मर्का र उनीहरूको समस्या बुझेर उत्तरदायी पत्रकारिता गर्ने सम्पादकको कुनै जरुरत छैन। बजारको चाहना बुझेर अपराध, यौन र बलिऊड बेच्न जान्ने मार्केटिंग विशेषज्ञको सेवामात्र चाहिएको छ भारतीय पत्रकारितामा। 

भारतको हरेक कुरो सिको गर्दै आएको नेपालमा पत्रकारिताको विकास पथ चाहिँ दक्षिणको जस्तो भएन। भारत बेलाती उपनिवेश भएको हुनाले शिक्षा र समाजको विकासमा नेपालभन्दा धेरै अघि बढ्यो। जुनबेला भारतमा ठूल्ठूला दैनिकहरू प्रकाशित भइराखेका थिए त्यसबखत नेपालमा राणा शासकले साना पर्चा निकाल्नेलाई समेत कडा निगरानीमा राखेका थिए र सजाय दिन्थे। भारत सन् १९४७ (वि.सं. २००४) मा स्वतन्त्र भएपश्चात् बेलायती पत्रकारिताको मूल्य र मान्यतामा स्वतन्त्र र निर्भीक पत्रकारिता अघि बढ्यो। त्यसैबेला भएको थियो भारतमा राष्ट्रियता र जनहितको विषयमा कसैसँग सम्झौता नगर्ने सम्पादकहरूको उदय। यता वि.सं. २००७ सालमा नेपाल स्वतन्त्र भए पनि पत्रकारिताको जगै नभएको कारणले ठोस विकास हुन सकेन। विसं २०१७ सालपछि करिब २०४६ सम्मै जनअधिकार निमोठ्न उद्यत सरकारले पत्रकारिता अघि बढ्न नदिनु अनौठो थिएन। नेपालमा २०४६ पछिमात्र व्यावसायिक र स्वतन्त्र पत्रकारिता सुरु भएको हुनाले हाम्रो देशमा सम्पादकको सही अर्थमा उदय नै भएन। 

नेपालमा कुनै एक वा केही सम्पादक निकै प्रभावशाली नभए पनि विगतमा प्रकाशकहरूले नै एक प्रखर, निष्पक्ष र राष्ट्रवादी छवि बनाएका थिए। विसं २०३० को दशकको पत्रकारितामा चन्द्रलाल झाको सम्पादकीय सरकारमा बसेका र विद्वत्वर्ग सबैले नपढी नहुने सामग्री मानिन्थ्यो। नेपाली पत्रकारितामा लामो समय बिताएका राजेन्द्र दाहाल २०३५ साल तिर भूगोल पार्कमा दिउँसो ३ बजेतिर निस्कने झाको नेपाल टाइम्स किन्न लाइनमा बसेको अनुभव सुनाउँछन्। त्यस्तै सम्पादक तथा प्रकाशक मणिराज उपाध्यायको समाज दैनिक राष्ट्रियताको विषयमा निकै बलियो मानिन्थ्यो। होमनाथ दाहालले राजनीतिक दलको मुखपत्रै जस्तो भए पनि राष्ट्र पुकारमार्फत् लोकतन्त्रको पुनःस्थापनाका लागि गरेको योगदान उल्लेखनीय मानिन्छ। योगेन्द्र अर्याल पञ्चायतकै पक्षमा भए पनि खरा पत्रकार मानिन्थे भने गोपाल दास श्रेष्ठ आफैँ र उनको पत्रिका द कमनर पनि प्रभावशाली मानिन्थ्यो। 

विसं २०४६ साल पछि व्यावसायिक पत्रकारिताको सम्बर्धनमा कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायको योगदान पनि प्रशंसनीय रह्यो। तथापि नेपालको पत्रकारिताको इतिहासमा सम्पादकको व्यक्तित्व बृहत् बन्न सकेन अर्थात् सही अर्थको आदर्श सम्पादकको उदय भएन। विगत र वर्तमानमा पनि क्षमतावान् पत्रकार छन् तर तिनले आफ्नो क्षमतालाई जन हितका लागिभन्दा व्यक्तिगत फाइदाका लागि उपयोग गरेका छन्। नेपालमा चाहिँ सम्पादकको उदय नै नभई अवसान हुने अवस्था आएको छ। दुःखको विषय यही हो।

नेपालमा सम्पादकको उदय हुन नसक्नुमा प्रमुख कारक पत्रकार आफँै हुन्। यहाँ कुनै समिर जैनले सम्पादकको हत्या गरेको हैन। तर सबै पत्रकार आफै समिर जैन हुन उद्यत छन्। पत्रकारिताको पेसालाई स्वच्छ, संयमित र नैतिक बनाउनुभन्दा पत्रकारको बिल्ला भिरेर राजनीतिक दलाली गर्नेको संख्या बढेर गएको छ। केही युवालाई पत्रकारको पगरी भिराएर तिनैबाट महिनावारी उठाउने, दसंै र तिहारमा पत्रकारहरूबाटै दसैँ खर्च र खसीको आशा गर्ने, राजदूतावासबाट रक्सी र सुटको अपेक्षा गर्ने सम्पादकको भीड बढेर गएको छ। 

समाजमा जिम्मेवार पत्रकारिता गर्ने, सरकार र जनतालाई नैतिक र उत्तरदायी बनाउनेभन्दा पत्रकार बन्ने र राष्ट्रले दिन सकेजति र नसके पनि जबर्जस्ती सुविधा उपभोग गर्ने पत्रकार नै ठूला बनेका छन्। राष्ट्रको ढुकुटी कुम्ल्याउने भ्रष्टाचारीको खन्ती बन्न लागिपरेका छन् नेपालका अधिकांश मै हुँ भन्ने ठूला पत्रकारहरू। 

विसं २०४६ सालको जनआन्दोलनको सफलतापश्चात् राजनीति र पत्रकारिताको बाटो नछुट्टिनु पनि नेपाली पत्रकारिताको लागि अभिशाप प्रमाणित भयो। पत्रकारहरू राज्यको सशक्त र जिम्मेवार विपक्षीको भूमिकामा देखिनुपर्नेमा कुनै एक राजनीतिक दल वा अर्को दलको झोला बोक्ने कार्यकर्ताका रूपमा प्रकट भए। अधिकांश पत्रिका जनहितका विषयमा कलम चलाउँदैनन्, मन नपरेको राजनीतिक दललाई कसरी हानी पुर्या।उन सकिन्छ भन्ने नियतले समाचार प्रस्तुत गर्छन्। अझ, माओवादी आन्दोलन उत्कर्षमा पुगेपछि र उनीहरू मूलधारमा आएपछि स्वतन्त्र पत्रकारिताकै विरुद्धमा सक्रिय हुने पत्रकारहरूको ठुलै जमात तयार भएको छ। अर्थात् पत्रकारनै जनताको नैसर्गिक अधिकार कुण्ठित गर्ने विषयमा लेख्ने, बोल्ने र त्यस्तो विचार राख्ने राजनीतिक दलको समर्थन गर्ने मोर्चा सम्हालेर बसेका छन्।

नेपालमा उदय नै नभएको सम्पादकको अवसान गराउने अर्को मुख्य धार व्यावसायिक पत्रकारहरूको संघ र संस्था बन्न पुगेका छन्। आर्थिक, शिक्षा, स्वास्थ्य, संसद्, वातावरण, खेलकुद, फोटो पत्रकारिता आदि हरेक विषयमा सबै ठूला पत्रिका र टेलिभिजन च्यानलका पत्रकार सदस्य बनेका छन्। यिनले जानी वा नजानी आफू सम्मिलित सञ्चार गृहको सम्पादकीय अधिकार कुल्चिने गरेका हुन्छन्। यस्ता संघ वा संस्थामा सम्मिलित पत्रकार कस्तो समाचार बनाउने, कस्तो समाचार बनाउँदा सम्पादकले छाप्ने र आफूलाई सहयोग गर्ने सरकारी, विदेशी र निजी संस्थाको हित संरक्षण पनि हुने भन्ने विषयमा बढी ध्यान दिन्छन्। यिनीहरू सम्बन्धित संस्थाका सम्पादकले समाचारको विषयमा निर्णय लिनुभन्दा पहिल्यै मूल विषय या त मरिसकेको हुन्छ वा यिनले सामूहिकरूपमा चाहेको ढंगले उठान गरिएको हुन्छ। सञ्चार गृहको डेस्कमा बसेको सम्पादक त्यसबेला मृत नभए पनि कोमामा रहेको अवस्थामा परिणत हुन्छ। पहिल्यै एक ढंगले पाकेको समाचारलाई पस्कनमात्र सम्पादक बाध्य हुन्छ। अझ नौनी झिकिसकेको दूधबाट समेत सके जति तर निकाल्ने सम्पादक र संचार उद्यमीको पनि निकै बोलाबाला छ। झन् नवप्रवेशी ठूला मिडियाका लगानीकर्ताको 'ब्ल्याकमेल'को धन्दा पर्दाफास हुँदैगर्दा यो क्षेत्र अझै दुर्गन्धित बन्दैछ। 

नेपालमा सम्पादकको अवसानमा प्रकाशकको भन्दा ठूलो भूमिका पत्रकार आफैँले खेल्दैछन्। तर त्यसभन्दा डरलाग्दो भूमिका यस समाजका पाठक र बुद्धिजीवीले खेलेका छन्। कुनैपनि समाचार कसैले विवेकशील ढंगले प्रकाशन वा प्रसारण गर्योज वा गरेन भनेर हेर्ने भन्दापनि त्यस्ता पाठकहरू कसले कहाँबाट के फाइदा लिएर त्यो समाचार किन जनतालाई पस्क्यो भन्ने तर्क गर्ने र मिडिया हाउसलाई भ्रष्ट साबित गर्ने ध्याउन्नमा हुन्छन्। कुन सम्पादक कुन विदेशीको दलाल, कुन व्यापारीको नोकर र कुन राजनीतिक दलको कार्यकर्ता भनेर खुट्याउन माहिर पाठक त्यस्ता पत्रपत्रिका नपढ्ने वा टेलिभिजन नहेर्ने कार्यमा भने एकमत हुँदैनन्। समाजमा व्याप्त भ्रष्टाचार र अनैतिकताले पनि पत्रकारलाई त्यस्तै बनाएको छ। सबैको समग्र प्रभावले उदयनै नभएको सम्पादकको अवसान गराएको छ। 

नेपालमा सम्पादकको अवसान भएको हैन बरु उदय नै नभएको हो। यसरी सम्पादकको उदय हुन नदिनका लागि सर्वप्रथम त पत्रकार आफैँ जिम्मेवार छन्। तर पत्रकार सँगसँगै नेपाली समाज, राजनीतिक दल र कर्पोरेट हाउसपनि उत्तिकै पत्रकारिता सिध्याउने रोगबाट ग्रसित छन्। पत्रकारिता साँच्चै नै चौथो अंगका रूपमा स्थापित भएर एक सशक्त र स्वच्छ प्रतिस्पर्धीका रुपमा विकसित नहुँदासम्म सम्पादक उदय नै नभई अवसानको बाटोमा लागिरहनेछ।



***
यो पनि पढ्नुहाेस्ः

सम्पादकको अवशान -भारत भुषण

No comments:

Post a Comment