Pages

Wednesday, October 7, 2015

एकता र खबरदारी जारी रहोस् !

किशोर दहाल

        बुधबार दिउँसो वीर हस्पिटलको अघिल्तिर ट्वीटर खोल्दा एउटा ट्वीट ह्यासट्याग चर्चित भइरहेको थियोः #DonateOilToIndianEmbassy । हिउँसो ३ बजे लैनचौर स्थित भारतीय दुतावासलाई इन्धन ‘सहयोग’ गर्न जाने कार्यक्रम रहेछ । भारतीय दुतावासले इन्धन सहयोग माग्दै नेपाल आयल निगमलाई फ्याक्स पठाएको खबर मैले बिहानै कान्तिपुर दैनिकमा पढेको थिएँ । भारतीय दुतावासको यही हेपाह शैली विरुद्ध बुधबारै ३ बजे दुतावासमा तेल पु¥याउन जाने सांकेतिक अभियानको आयोजना भएको थियो ।
       तीन बजे वरिपरि भारतीय दुतावासको छेउमा रहेको खानी बिभागको कार्यालयमा ट्वीटेहरुको आगमन बढ्दै थियो । केहीको हातमा सवारी इन्धन थियो । केहीसँग #BackOffIndia लेखिएको पम्प्लेट पनि थियो । भारतीय हस्तक्षप चर्को भएपछि अस्तितिर यो ह्यासट्याग पनि बिश्वव्यापी ट्रेण्डिङमा परेको थियो ।
साथीहरुले धेरैथरि नारा लेखेर ल्याएकाक थिए । उनीहरुले हामीमा मानवता मरेको छैन, छिमेकी र पाहुनालाई सहयोग गर्नु हाम्रो दायित्व हो, तेल दिन सक्छौ तर स्वाभिमान दि सक्दैनौं आदिजस्ता मानवियता र राष्ट्रप्रेमले ओतप्रोत नाराहरु थिए ।
       उपस्थिति बढ्दै गएपछि भीड भारतीय दुतावासतिर लम्कियो । तर, केही पर पुगेपछि पुलिसले अगाडि जान रोक्यो । उनीहरुले निषेधित क्षेत्र भएकोले यस किसिमको विरोध गर्न नपाइने बताए । त्यसपछि टोली फेरि खानी बिभागतिरै फर्कियो । अनि छलफल गर्ने, गीत गाउने कार्यक्रम सुरु भयो । निकै बेरसम्म राष्ट्रिय भावनाले ओतप्रोत भएका, नेपालीको साहस देखाउने, स्वाभिमानको व्याख्या गरिएका गीतहरु गाइए । गीतहरुले उपस्थितमा उत्साह र राष्ट्रवादी भावना बढाइरहेको थियो ।
       पुलिसले सबैलाई दुतावासमा जान नदिएपछि दुइजना मात्रै जाने भए । तर, इन्धन लिएर जान भने दिइएन । ह्यासट्याग र नाराहरु लेखिएका पर्चाहरु लिएर दुइजना साथीहरु दुतावास गए ।
केही घण्टाको जानकारीमा उपस्थित भएकाहरुले अन्य धेरैको प्रतिनिधित्व गर्न सक्थे । र, दुतावास जाने दुईजनाले हामी र हामीजस्तै धेरैको आवाज बोल्न सक्छन् ।
* * * *
       जुन देशले नेपालमाथि नाकाबन्दी लगाएर इन्धन ठप्प बनाएको छ । उही देशको प्रतिनिधिलाई इन्धन नै सहयोग गर्नु भनेको ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने नेपाली उखानको व्यवहारिक कार्यान्वयन पनि हो । हामी अभावमा छौं, हामीले कष्ट भोगेका छौं तर हामीमा मानवीयता मरेको छैन, हाम्रा सहयोगी हातहरु हातहरु गलेका छैनन् भन्ने एउटा विम्बात्मक प्रतिक्रिया पनि हो ।
      केही घण्टाको बीचमै ह्यासट्याग बिश्वव्यापी नम्बर एक ट्रेण्डिङमा पुग्यो । केही समयको जानकारीमा नै ट्वीटेको भीड जम्मा भएको थियो । यसले नेपाली बीचको एकता बुझाउँछ । यो सांकेतिक विरोधले कुनै देखिने परिवर्तन त नल्याउला । कुनै ठूलै उथलपुथल पनि नल्याउला । तर, यसले दिने अर्थको मूल्य छ । यसले नेपालीको एकता मानचित्र भावना र वैदेशिक हस्तक्षपप्रतिको खबरदारी उजागर गर्छ ।
    हाम्रो एकता र खबरदारी  जारी रहोस् !

Sunday, October 4, 2015

पिके भर्सेस केपी

किशोर दहाल

         दिउँसो २ बजेतिर म नागरिक दैनिकको शनिबारिय कार्यालय पुग्दा कोठा शान्त थियो । कोठाभरि कम्प्युटर थियो । मान्छेचाहीँ चार जना । प्राय कम्प्युटर अफ थियो । मान्छेचाहीँ अन । काम जारी थियो ।
         चारमध्ये दुइजनासँग दोहोरो चिनजानी थियो । बाँकी दुइजनासँग एकोहोरो । उपेन्द्र दाईसँग घनिष्ट सम्बन्ध छ, संगम दाईसँग पछिल्ला दिनहरुमा संगत बढ्दै छ । बाँकी दुईजना भाषा शर्मा र अमृत भादगाउँले म एकोहोरो चिन्थें । मानिसका जीबनशैलीसँग सम्बन्धित फिचरहरु लेख्ने भाषा शर्मालाई पाठकहरुले याद गरेको हुनुपर्छ । अरुले नगरेका भए पनि मैलेचाहीँ ख्याल गरेको छु । अमृत भादगाउँले पनि यात्रा विवरणमा एउटा ब्राण्ड नेम नै हो ।
         कतै घुम्न जाने पूर्वयोजना सहित म त्यहाँ पुगेको थिएँ । त्यहीँ पुगेपछि प्रज्ञा प्रतिष्ठान जाने योजना बन्यो । प्रतिष्ठानमा प्रदिप नेपालको पुस्तक विमोचन कार्यक्रम रहेछ । घुमाइ पनि हुने, रमाइलो पनि हुने हिसाबले त्यता जाने भइयो । चारजना उपेन्द्र दाई, संगम दाई, भाषा दिदि र म गरि चार जना अफिसबाट निस्कियौं ।
चाइना टाउनमा खाजा खाएर फर्किंदा भाषा दिदिले ज्याकेट किन्नुभयो । कहिलेकाहीँ बिना योजना पनि सामान किनिन्छ । योजनाबिना काम गर्नुमा मजा बेग्लै हुन्छ ।
          प्रतिष्ठान त जाने भइयो । तर, बाईक एउटा, मान्छे चारजना । तेलको संकट परेको बेलामा बाइक नचढ्ने कुरा पनि चल्यो तर उपेन्द्र दाईलाई बेलुका उतैबाट घर जान सजिलो हुने हुनाले बाइक लैजाने भइयो । अन्तत  संगम दाई र म हिड्दै जाने भइयो, उपेन्द्र दाईहरु बाइकमा । काठमाण्डौको सडकमा हिँडाईमा पनि मजा छ । थरिथरिका मान्छे, थरिथरिका भाव, बानी देख्न पाइन्छ । कोही हतारिएका हुन्छन्, कोही सुस्त हुन्छन्, कोही हाँस्दै हुन्छन्, कोही मुख बिगारेर हिँडिरहेका हुन्छन् । कोही एक्लै, कोही ग्रुपमा । कोही हात हल्लाउँदै हिड्छन्, कोही हात गोजीमा हालेर हिड्छन् । आजकाल त हात जोडेर हिड्नेहरु पनि प्रशस्तै देखिन्छन् । घडीमा नौ बजाएर दिमागमा बाह्र बजाउँदै हिड्नेहरु पनि हुन्छन् । सबैलाई आफ्नैआफ्नै तनाब छ । त्यसैले त शहर जीवन्त छ ।
         प्रतिष्ठान पुगे पछि थाहा भयो, त्यहाँ पुस्तक प्रदर्शनी पनि रहेछ । संगम दाई र म पनि त्यतै छि¥यौं । उपेन्द्र दाईहरुलाई पनि त्यहीँ भेटियो । खासै कुनै पुस्तक किन्ने योजना थिएन । तैपनि कोठाभरि पुस्तक फिँजाईएको देख्दा आनन्द लाग्दैथियो । थरिथरिका पुस्तकबाट आइरहेको बास्ना साच्चै मीठो हुन्छ । फूलको संसार र पुस्तकको संसारमध्ये कुन प्रिय भनेर विवाद भयो भने म पुस्तकको संसार रोज्नेछु ।
संगम दाजुले केही पुस्तकहरु किन्नुभयो । मैले पनि दुइवटा कविता संग्रह किनें । रहर गरेर होइन, त्यत्तिकै । उपेन्द्र दाईले चाहीँ थुप्रै किनीसक्नुभएको रहेछ । पुरानो पढ्ने बानी जगाउने योजना बनाउनुभएको रहेछ । यो पक्कै पनि खुसीको कुरा हो । भाषा दिदिले चाहीँ पुस्तक किन्नुभएन । त्यसो त अघि ज्याकेट किन्दा उहाँको गोजी रित्तिसकेको थियो । गोजी रित्तिएर हो वा रहर नलागेर हो, त्यो चाहीँ खासै थाहा भएन । किनकि, रहर गर्नुभएको भए सापटी मिल्न सक्थ्यो ।
         प्रतिष्ठानको दुइवटा हलमा कार्यक्रम थियो । एउटामा माओवादीको अन्तक्र्रिया कार्यक्रम रहेछ, अर्कोतिर प्रदिप नेपालको पुस्तक विमोचन । अन्तक्र्रियाका बिशेष व्यक्ति प्रचण्ड थिए, विमोचनमा केपी ओली । दुवै कार्यक्रम सँगसँगै जस्तो भइरहेकाले हामीले कुनै एउटाको भाषण रोज्नुपर्ने भयो । उपेन्द्र दाईले भन्नुभयो, “ओलीले टुक्कासुक्का भन्ने हुन्, प्रचण्डको बmेज बढेको बेला छ, केही बिशेष कुरा बोल्न सक्छन् ।” हामीले ओलीका टुक्का भन्दा पनि प्रचण्डको भाषणमा रुचि देखायौं । नेताको भाषणमा मानिसको रुचि अझै हराइसकेको छैन भन्ने एउटा जिउँदो प्रमाण हामी आफैं भएका थियौं । जब कार्यक्रम हलमा पुग्यौं, हल खचाखच भरिएको देखेपछि लाग्यो, हामीजस्तै धेरै रहेछन् यो शहरमा ।
           हामी हलमा छिर्दा सपना मल्ल प्रधान बोलीरहेकी थिइन् । हामी प्रचण्ड बोल्न थालेपछि आउँला भनेर बाहिर निस्कियौं । केहीबेर पछि भित्र छिर्दा प्रचण्डको बोल्ने पालो आउनै लागेको थियो ।
आफ्नो भाषणमा प्रचण्डले चर्का कुरा गरेनन् । संविधान सभा गठनको उद्देश्य, संविधान बनाउन नदिने शक्तिलाई परास्त गर्दै संविधान बनाएरै छाडेको कुरा, संविधान संसोधनको सरलता र आवश्यकता तथा सत्ता राजनीतिले कमजोर बनाउन सक्ने दलीय एकतालाई जोड दिएर बोले । आजकाल प्रचण्डको भाषण सुनेर मान्छे त्यति तरंगीत हुँदैन । उनले मान्छेको दिमागमा होइन, मुटुमा हिर्काउन थालेका छन् । पहिले यिनको भाषणमा मान्छेलाई जुरुक्क जुरुक्क पार्ने शक्ति हुन्थ्यो । त्यही शक्तिले नै यिनी यहाँसम्म आइपुगेका हुन् । तर, आजकाल महसुस हुन्छ होला नेपालीहरु दिमागले होइन, मुटुले सोच्छन् । भाषण पनि शान्त पाराले गर्न थालेका छन् । उस्तै पनि बीचबीचमा लघुकथा सुनाउन थालेका छन् । भाषण मार्फत आगो उकेल्न छाडेका छन् । नेतृत्वमा बसेर आगो उकेल्दा उकेल्दै पार्टी डढिसकेको महसुस गरेको हुनुपर्छ ।
           प्रचण्डको भाषण सकिएपछि हामी केपी ओली उपस्थित कार्यक्रमतिर लाग्यौं । संयोग कस्तो प¥यो भने हामी पुग्ने बित्तकै ओलीको बोल्ने पालो आयो । ओलीको भाषणमा पनि तिब्रता हुने गथ्र्यो । उखान टुक्काको फूलबुट्टा भर्दै तीखो टिप्पणी उनको शैली हो । पछिल्लो समय ‘राष्ट्रवाद’को प्रतीक हुँदै गएका ओलीको बोलीमा आज भने कुनै दम थिएन । निकै गलेको आवाजमा यिनले पुस्तकबारे केही कुरा भने । खासमा पुस्तकबारे भन्दा पनि प्रदिप नेपालबारे धेरै कुरा भने । नेपालको बहुआयामिक व्यक्तित्वबारे धेरै बोले । पुस्तकचाहीँ उनले नपढी आएछन् । विमोचनमा प्रमुख वक्ताले नै पुस्तक नपढी आउनु अचम्मको संस्कृति विकास हुँदै गएको छ । जे बोल्दिए पनि हुन्छ भन्ने मानसिकताले काम गरेको होला ।
            नेपाली राजनीति लामो समय पिके भर्से
केपीमा अल्झिरह्यो । यी  दुइ पात्र र प्रवृत्ति बीचको कटाक्ष आम जानकारीमा आएकै कुरा हो । तर, अहिले माहोल फेरिएको छ । निकै नजिक भएका छन् । सामान्य अबस्थामा भएको भए यसरी दुई पार्टीका शीर्ष नेता बीच यो खालको मिलन अचम्म र खतरनाक दुबै हुन सक्थ्यो । तर, अहिले बिशेष अबस्था छ । 

twitter: @kishu_gb123

Saturday, October 3, 2015

घुँडा होइन खुट्टा टेकौं

किशोर दहाल

          यतिखेर देश अप्ठ्यारोमा छ । नाकाबन्दीको असर नाकाबाट आँगनसम्म आइपुगेको छ । अन्योलता बढ्दै छ । देश भुमरीमा फस्दै गएको हो कि भनेर अनुमान गर्नेहरु पनि छन् । अनुमानलाई बल पु¥याउने मानकहरु समाचारका केन्द्र बनिरहेका छन् । सर्पले टोक्छ कि भनेर भाग्दाभाग्दै कतै हामी अजिङ्गरको मुख छेउ त पुगेनौं ? मानिसहरु आफैंलाई प्रश्न सोध्न थालिरहेका छन् । अप्ठ्यारोको बेलामा सरकारलाई सहयोग गर्नुपर्ने विचार पनि मुखरित भइरहेका छन् ।
           देशमा अप्ठ्यारो परिरहेको बेलामा नागरिकबीच एकता देखिनुपर्छ । सँगसँगै अर्को कुरा के पनि छ भने सरकारले पनि अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । उसले जनतालाई हौसल्ला र आशा देखाउन सक्नुपर्छ । नाकाबन्दीको यो अवस्थामा जनतालाई विकल्पको खोजी गरिँदै गरेको अनुभूति दिलाउन सक्नुपर्छ । आशाले मान्छेलाई लामो कालसम्म जीबित राख्नसक्छ । त्यो आशा जनतासमक्ष प्रवाह हुन सक्नुपर्छ । तर, हाम्रो सरकारले केही गर्दै छ त ? विकल्पहरुको खोजी गरेको छ त ? यो प्रश्न पनि सँगसँगै उठिरहेको छ । उसको मौनता जनतालाई बिझिरहेको छ । सरकारले त यस्तो बेलामा जनतालाई वैकल्पिक पहलकदमीबारे यथार्थरुपमा भन्न सक्नुपर्छ र जनताको नैतिक समर्थनका साथ अघि बढ्नुपर्छ । जसले सरकार–जनता एकसाथ छन् भन्ने एकताको सन्देश जानसक्छ ।
           सामाजिक सञ्जालभरि एकथरि समुदायको राष्ट्रवाद जागेको छ । यो राष्ट्रबाद कति लामो समय टिक्ला त्यो भने हेर्न बाँकी नै छ । अब हामीले समात्ने बाटोले त्यसको आयु निर्धारण गर्ने छ । अप्ठ्यारो झन् बढ्दै गयो भने त्यो राष्ट्रवाद लामो समय जिउँदो भने रहँदैन । भनाई नै छ, भोको पेटले राष्ट्रवाद भन्दैन । आज कोठामा ग्याँस बलुञ्जेल र बाइकमा पेट्रोल छउँञ्जेल महसुस हुने राष्ट्रवाद र ती चिज सकिएपछि महसुस हुने राष्ट्रवाद बिल्कुलै फरक हुन्छ । अहिले अमुक देशप्रति नारा लागेको छ, जुलुस तन्किएको छ । किनकि, अभाव चर्को भइसकेको छैन । तर, भोलि कोठामा ग्याँस सकिएर खाना पाक्न छाडेको दिन, बाइकमा पेट्रोल सकिएर महत्वपूर्ण काम छुटेको दिन हाम्रो आक्रोश अबश्य पनि आफ्नै सरकारतिर सोझिन्छ । त्यतिबेला कुनै ट्वीटर ट्रेण्डले जनतालाई एकिकृत गराएर राख्न सक्दैन । जनताले प्रश्न त सरकारलाई नै सोध्ने हो । उत्तर दिन सरकारले तयारी गरिरहेको छ त ? त्यतिबेला सरकाले फलानो देशको अबरोध, फलानो देशको असहयोग भनेर उम्किन पाउँदैन । संकटको बेला जनताले सरकारले साथ दिने हो तर निदाउन छाडिदिने भन्ने अर्थमा होइन । अहिले महसुस भइरहेको कुरुपता के हो भने सरकार सरकार उँघिरहेको छ । अब, ऊ निदाउँछ कि जाग्छ केही दिनमै देखिएला ।
            उच्च तहबाट जनताप्रति ढाडस सञ्चारित होओस् भनेर आशा गरिराखेको बेला कस्ता समाचार प्रवाह हुँदैछन् ? सञ्चारमन्त्री विदेशी भूमिबाट भन्छन्– भारतले नाकाबन्दी गरेको छैन । अनि स्वदेशी आक्रोशको तारो बनेको हिन्दी टिभी च्यानलको प्रशारण बन्द गर्ने कदममाथि आक्रोशको भाषामा नै प्रष्टिकरण सोध्छन् । च्यानल बन्द गर्ने काम सही त होइन । तर, प्रतिरोधको लागि एउटा विकल्प भने हो । यसमा सञ्चारमन्त्रीले नागरिकको चित्त दुखाइदिए । अघोषित नाकाबन्दीबारे अर्थमन्त्रीले बिश्वसमुदायलाई ब्रिफिङ गरिरहँदा रिजालको अभिव्यक्तिले जनतालाई ढाडस दिन्छ ? उता भारतको लागि नेपाली राजदुतले भनिदिए– नाकाबन्दी भएको छैन । अब उनले भारत गएर पनि त्यही नै भन्नेछन् । अनि, भारतका जनता र मिडियाले कसरी बुझ्लान् ? राजदुतको केबल कोही उपाध्याय व्यक्तिको होइन, नेपालको हो । उनले त्यसरी बोल्न मिल्थ्यो र ? सीमामा भइरहेको भारतीय अर्घेल्याईंमा उनको नजरअन्दाजले ग्याँस नपाएर छट्पटिरहेको कुनै नेपालीलाई चयन दिन्छ ? यस्तो अवस्थामा प्रधानमन्त्री मौन छन् । बरु, उद्योगमन्त्री महेश बस्नेतले ‘नेपाल छिट्टै पेट्रोलियम पदार्थ बेच्ने मुलुक बन्ने’ हावादारी तर्क दिएर गाइजात्रा जगाईदिए । सत्ता साझेदार दल एमालेका सुप्रिमो ओलीज्युका राष्ट्रवादी टुक्का जारी छ । प्रचण्डको साइकल राष्ट्रवाद कता गुडिरहेको छ, सडकमा देखिदैन । यसबाट के पुष्टि हुन्छ भने जनतामा आशा र उत्साह बढाउनुपर्ने नेताहरु कोही निराशा र कोही रिस बढाउन उद्यत छन् । नाकाबन्दी निरन्तर कायम रहिरह्यो भने यस्ता दल र नेताको नेतृत्वमा जनताले अप्ठ्यारोबाट छुट्कारा पाउलान् ? अनि अमुक देशप्रति मात्रै आक्रोश उकेलिरहलान् ?
           नाकाबन्दीले हामीलाई दुइवटा विकल्प दिन्छ । कि घुँडा टेक्ने, कि खुट्टा टेक्ने ।
           दुःखको कुरा, खुट्टा टेकेर स्वाभलम्बी बन्नुभन्दा घुँडा टेक्नमै हामी पारङ्गत भइसकेका छौं । हामीले अघोषित रुपमा र जनताको आँखा छल्दै धेरै पटक घुँडा टेकिसकेका छौं । कुनै समाचार बने, कुनै बनेनन्, बेग्लै कुरा । शासकको निम्ति यो सजिलो र एकडेढ दशकको संकटमोचक पनि हुँदै आएको छ । यसैबीच भारतीय स्वार्थले भने बढोत्तरी पाउँदै आएको छ । हाम्रो घुँडा टेकाइ पनि स्वभाविक बन्दै गएको छ । यसपटक पनि सम्भावना यसकै बढि छ । किनकि, अहिलेको नेतृत्वमा कुनै भिजन नै छैन । सुशील कोइराला कुनै राजनीतिक चिन्तन, दृष्टिकोण, राष्ट्रिय सपना बिना नै प्रधानमन्त्री भए । त्यसको असर अहिले देखिदैछ । र, कोइरालासँगसँगै बाँकीको राजनीति पनि उस्तै हो । उनीहरुले स्वावलम्बनको गन्तव्य देखेकै छैनन् । उत्तेजित राष्ट्रवादले देश गुड्दैन भन्ने नेताहरुलाई पनि थाहा छ । तर, देशलाई त्यसैगरि अगाडि धकेल्न खोजिरहेछन् । उत्तेजित राष्ट्रवादले घुँडा टेकाइलाई नै मलजल पु¥याउँछ । डर कतिमात्रै हो भने यो अप्ठ्यारोको अन्त्य घुँडा टेकेरै हुने त होइन ? भारतले नेपाललाई घुँडा टेकाउन हरेक अस्त्र प्रयोग गरिरहेको छ । फेरि यस्तो अबस्थामा हाम्रा नेतृत्व भने कमजोर देखिदै गएका छन् । त्यसो त राजनीति भनेको पर्दा भित्रको खेल हो । पर्दाभित्र के–के लेनदेन हुन्छ भन्न सकिन्न । यो स्थितिमा ‘लेन’ भन्दा पनि ‘देन’ नै बढि होला । घुँडा टेकिएछ भने पनि देशलाई नदुखोस् । यत्ति कामना गरौं ।
              अर्कोतिर, स्वावलम्बी बनेर खुट्टा टेक्ने विकल्प पनि छ । देशहरुले कहिलेकाहीँ नसोचेको गति लिन्छन् । त्यसमा भित्री  आधार र बाहिरी मेहनत भने अबश्य हुन्छन् । दोश्रो बिश्वयुद्ध जापानको प्रगति, नाकाबन्दीबीच क्युवाको स्वाभिमान हामीले पनि पछ्याउन सक्ने सम्भावना पनि रहन्छ । तत्काल पो अन्योल देखिएको छ । हिजोसम्म फालाफल भइरहेको नुन, तेल आज बिशेष भइरहेको छ । विस्तारै विकल्पहरु खुल्दै जान्छन् । आखिर मान्छेको दिमाग पो हो त । कोठामा थुनिएको मुसाले त कैयौं उपाय लगाएर बाटो पहिल्याउँछ । हामी त मान्छे पो त । त्यो पनि करिब ३ करोड । आखिर यो सीप नै नभएको, श्रम नगर्नेहरुको भूमि त होइन नि । यति सानो, बिबिधतायुक्त र स्रोतसाधनले भरिपूर्ण देशलाई त इखले नै विकसित गर्न सकिएला । कसैले भिख दिनै पर्दैन । यहुदीहरुले मरुभूमिमा देश फलाए, हाम्रो त फुलिसकेको देश छ, फल्न कति नै बेर लाग्ला र ? तर, संसारबाट अलग्गिएर एक्लै हिड्न भने सकिन्न ।
          कनै देश अरु देशबाट छुट्टिएर एक्लै अघि बढ्न असम्भव छ । तर, पूर्ण परनिर्भर नभएरै बाँच्न भने सकिन्छ । हाम्रो अबको बाटो त्यही हुनुपर्छ । भारतको पनि व्यापारको सबाल छ, सुरक्षाको सबाल छ, सिँचाइ र पानीको सबाल छ । उसले पनि नेपाललाई निधेष गरेर अगाडि बढ्न गाह्रो छ । जसरी भारत हाम्रो यथार्थ हो, त्यसगरी नेपाल पनि भारतको यथार्थ हो । हामीले जति शीर उठाउन थाल्नेछौं, उती नै उसले निहु¥याउन थाल्नेछ । किनकि उसले हामीलाई पटक–पटक रुवाएको छ, हामीले छैनौं । हाम्रो मनोबल उच्च छ । त्यो उच्चता दुईपक्षीय भेटघाटका व्यवहारमा देखाउँ । जब मनोबल र व्यवहार उच्च हुन्छ, कसैले हेप्न सक्दैन ।  खुट्टा बलिया हुँदै जानेछ ।
             यो नाकाबन्दीले हामीलाई केही सबक सिकाएको छ । त्यसबाट किन नसिक्ने ? उसमाथिको निर्भरता कम गर्नको लागि किन आजैदेखि प्रयास नगर्ने ? यही मौकामा र यही इखमा हामीले बिस्तारै भए पनि खुट्टा टेक्न थाल्नै पर्छ । नाकाबन्दी त फेरी २० वा ४० बर्षपछि पनि हुन सक्छ । त्यतिबेलासम्म हामीले आधारभूत आवश्यकताका वस्तुमा आत्मनिर्भर बन्न सक्यौं र पेट्रोलियम पदार्थ लगायतका वस्तुमा विकल्प तयार गरिराख्यौं भने नाकाबन्दी हुने नै छैनन् । नाकाबन्दी भनेको दुःख दिन वा झुकाउन हो, त्यो सम्भावना नै नरहेपछि नाकाबन्दी गरिने पनि छैन । भइहाले पनि हामीलाई दुःख हुने छैन । तर, अहिले घुँडा टेकियो भने पछि फेरि घुँडा टेक्नेमात्रै विकल्प रहन्छन् । जति–जति परनिर्भरता बढ्दै जान्छन्, खुट्टा लुलो हुन्छ र घुँडा अघि सर्छ ।
            राष्ट्रहित र स्वावलम्बनका निम्ति अब जे गरिन्छ निरन्तर गर्नु जरुरी छ । कुनै स्वदेशी उत्पादनको सुरुवात गरिन्छ भने निरन्तरता दिऔं । बिजुली वा पेट्रोलको मितव्ययी प्रयोगलाई पनि निरन्तरता दिऔं । स्वदेशी उत्पादनमा जोड गरौ, सम्भव नभएका कुरामा विकल्पहरु खडा गरिराखौं । अब, भारतलाई मित्र–मित्र भनेर जप गरिराख्नुपर्ने जरुरी छैन । ऊ धुर्त छ भन्ने पटक–पटक देखिसकियो, अब चेतौं । सचेततापूर्वक सम्बन्ध बनाऔं । उसबाट जुनसुकै बेला पाउन सकिने धोकाबारे सचेर रहौं । भारतसँग हाम्रो व्यापारिक सम्बन्ध मात्रै हो भनेर बिश्लेषण गरौं । रोटी–बेटी सबै घाममा सुकाइदिए हुन्छ । त्यस्ता नारा दिएर उसले हामीलाई सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरिरहेको छ । भारतसँग मागेर खानु नपरेपछि शीर उच्च राखेर कुरा गर्न सकिन्छ, सक्नुपर्छ । निरन्तर–निरन्तर ।
            यहींनेर ख्याल गर्नुपर्ने कुरा के छ भने भारतको सम्पूर्ण विकल्प चीन भन्ने भूल गरिएको छ । सामाजिक सञ्जालमा यस्ता बोक्रे तर्कहरु धेरै पढ्न पाइन्छ । ‘भारतले निहुँ खोज्यो भने चीनसँग मिलेर लड्ने’, ‘चीनले हरेक कुरामा खुला दिलले सहयोग गर्छ’ आदिजस्ता रुमानी तर्क त्यहाँ पाइन्छ । सत्य के हो भने चीन पनि हाम्रो असली मित्र भने होइन । असल मित्र भइदिएको भए लिपुलेकमा भारतसँग हात मिलाउने थिएन । त्यसैले भारतसँग उठेको रिसमा चीनसँग लहसिदा हाम्रो खास भलो हुँदैन । हामीले भारतलाई ‘देखाइदिने’ मानसिकतामा चीनसँग सम्बन्ध बढाउन भने सक्छौं । यसले भारतलाई चिड्याउन वा सोच्न बाध्य तुल्याउन भने सक्छ । कुटनीतिमा कहिलेकाहीँ यस्ता कार्डहरु फ्याँक्नुपर्छ । चीनसँगको व्यापार भारतसँग जत्तिको सजिलो भने हुने छैन । फेरि अर्को कुरा, आजसम्म पो चीन विकल्प छ, भोलि चीन पनि बटारियो भने विकल्प के छ त ?
             दिल्लीसँगको अहिलेको लडाईं घुँडा टेक्ने कि खुट्टा टेक्ने भन्ने नै हो । अहिले खुट्टा टेक्नको निम्ति हामीबीच आन्तरिक एकता देखिनै पर्छ । मधेसको समस्या पेचीलो बन्दै गइरहेको छ । यसको समाधान नगरिकन राष्ट्रिय एकता सम्भव नै छैन । साढें तीन दर्जनको मृत्युशोक मनाइरहेको मधेसले बाह्य लडाईंमा खुलेर साथ दिन नसक्नु स्वभाविक छ । काठमाण्डौ र दिल्लीको लडाईंमा मधेसले काठमाण्डौलाई साथ दिनु नैतिकता पनि हो । तर, त्यो नैतिकता त्यतिबेला बलियो हुन्छ, जब काठमाण्डौप्रति मधेसले अपनत्व महसुस गर्न सक्छ । अहिले त्यही अपनत्व क्षीण भइरहेको बेला छ । मधेस खुलेर काठमाण्डौंलाई साथ दिन सक्ने स्थितिमा छैन । अनि मधेसको साथबिना काठमाण्डौले दिल्लीलाई जित्न पनि सक्दैन । त्यसकारण काठमाण्डौले मधेसको मन जित्नु र आन्तरिक एकता बलियो देखाउनु अहिलेको आवश्यकता हो । मधेसलाई सहमतिमा ल्याईयो र संविधान र काठमाण्डौ दुवैप्रति अपनत्व जगाउन सकियो भने नाकाबन्दी पनि खुल्नेछ । भारतसँग कुनै तर्क रहने छैन । यदि नाकाबन्दी खुलेन भने पनि भारतबिरुद्ध लड्न हाम्रो आन्तरिक एकताले बल पु¥याउने छ । शंका उपशंकाको भरमा लड्नुपर्ने छैन ।
पहिलो पोस्टमा प्रकाशित । तर, यो लेख पहिलो पोस्टले सम्पादन गर्नुअघिको हो ।
twitter: @kishu_gb123

Sunday, September 27, 2015

सम्पादकहरु कस्ता लेख चाहन्छन् ?

डेल किगर

           लेखन विधिको विवादमा म एउटा दृष्टिकोण थप्न चाहन्छु । २१ वर्षसम्म म व्यावसायिक लेखक भएँ । तीमध्ये ११ वर्ष मैले स्वतन्त्र लेखकका हैसियतमा टिप्पणी, रेस्टुराँ समीक्षा, लघु कथा, व्यक्ति परिचय, मासिक वक्तव्यसमेत लेखें । यसबीचमा मैले दि समाचारपत्रमा पनि सिकारुहरुको प्रशिक्षण र लेख दृष्टिले चर्चित पाँचमध्ये एक भनिएका राष्ट्रिय प्रकाशन ‘जोन्स हप्किन्स जर्नल’ मा विशिष्ट लेखक तथा सम्पादकका रुपमा कार्यरत छु ।
           यहाँ मैले लेख्न लागेको धेरैजसो कुरा साहित्यइतरका लेखकहरुप्रति लक्षित छन् । तर काल्पनिक लेखनधर्मीहरुलाई पनि म अधिकांश यिनै सल्लाह निवेदन गर्दछु । दुवै विधाका सम्पादकहरु के चाहन्छन् त ? सम्पादकहरु ती लेखक रुचाउँछन् जो व्याकरण र वाक्य रचना राम्ररी बुझ्छन्, सही सूचना कसरी संकलन गर्ने भन्ने जान्दछन् र आडम्बररहित र स्पष्ट ढंगले लेख्छन् । लेखनको तात्पर्य थाहा पाएका र त्यसलाई ग्रहण गरेका अनि आफ्नै कौशल, तीक्ष्ण बुद्धि र शैली प्रस्तुत गर्ने लेखक सहजै सम्पादकको रोजाइमा पर्छन् । सम्पादकहरु ती लेखक रुचाउँछन् जसले अनुरोध गरिएको आकारमा सम्झौता भएको विषयमा विल्कुलै समयमा आफ्नो लेख रचना पु¥याइदिन्छन् । सम्पादकहरु केवल कोरा कल्पनाबाट निःसृत विचार रुचाउँदैनन् । बरु उनीहरु तिनको कार्यकक्षभन्दा बाहिरको संसारको बुद्धिमत्तापूर्ण, सुसूचित तथा सन्देहपूर्ण विवेचना र अन्तर्दृष्टियुक्त अवलोकन चाहन्छन् । सम्पादकहरु कठोर परिश्रमी र व्यावसायिक सौजन्यप्रति आदरभाव भएका स्रष्टा चाहन्छन् ।
            दुःखपूर्वक भन्नुपर्छ हामीले जति रचनाहरु पाउँछौं तिनमा अधिकांश कुरा अनुपयोगी हुन्छन् । तिनका धेरैजसो लेखकले अझै ‘लेख्न’ सकेका हुँदैनन् न त कुनै नवीन कुरा उप्काएका हुन्छन् । कसैकसैले त खामको पछाडिपट्टि हातैले धस्क्याएर आफ्नो रचना पठाउँछन् (नहाँस्नुस्, केही समयपहिले एउटा सम्पादकले यस्तै पत्र पाएको मैले थाहा पाएको छु) । लेखकहरुले कतिसम्म आशा गरेर आफ्नो रचना पठाउँछन् भन्ने म जान्दछु । म अरुका सपना कुल्चन रुचाउन्न तर वास्तविकता के हो भने हामीले प्राप्त गर्ने अधिकांश रचनाले हाम्रो समय बर्बाद गरिदिन्छन् र कहिलेकाँही त स्थापित स्तम्भकारहरु छोडेर नवोदित लेखकहरुलाई स्थान दिने सोचाई बनाृउन प्रेरित गर्छन् । 


लेखकीय सफलताका सूत्र

  • आधारभूत कुरा सिक । मेरो भनाइको अर्थ के हो भने तिनलाई भित्रै गहिराईसम्म पुगेर सिक । सम्पादकलाई ‘प्रयोग’ अथवा ‘तर अन्तर्वस्तुको महत्त्व हुन्छ नि’ जस्ता अर्थहीन कुरा सुन्ने समय र धैर्य हुँदैन । यदि तिम्रो व्याकरण, वाक्य रचना र वर्णविन्यास कमजोर छ भने तिमी प्रयोगवादी होइनौं, तिमी बच्चै छौ । हो, रचनाको अन्तर्वस्तु वा सारको अर्थ हुन्छ तर जब तिमीले भाषालाई समुचित ढंगले खेलाउन सक्दैनौं भने हामीलाई तिमीप्रति कुनै चाख हुँदैन । 
  •  चतुर र अन्तर्दृष्टियुक्त अवलोकनकर्ता बन । साहित्यिक र गैरसाहित्यिक लेखन पनि विस्तारपूर्ण विवरणमा निर्भर हुन्छन् । यदि तिमी देख्न, सुन्न र सोच्न सक्दैनौं भने तिमीसँग व्यक्त गर्ने कुरा पनि केही हुँदैन । व्यक्त गर्नलाई केही छैन भने तिमीले यही कुरा भन्न कैयौं पृष्ठ तयार गर्नेछौ ।
  •  सोच । सम्पादकहरुले तिमीले कल्पना गर्न सक्ने भन्दा बढी मूर्खतापूर्ण तुलना, बङ्ग्याइएका रुपक, अनुपयुक्त उपमा र बेहोसीपूर्वक तथ्याङ्क भरिएका पत्र आफ्नो टेबलमा पाउँछन् । होसियारीपूर्वक मिमांसा गरिएका, मेहनतपूर्वक लेखिएका, गम्भीर रुपले अवलोकन गरिएका र आद्योपान्त सुविचारित रचनाहरुले मात्र सम्पादकको ध्यान तान्छन् । आफ्नो रचनाको शब्दैपिच्छै घोत्लेउ र आफ्नै मान्यता, निश्कर्ष र हरेक वाक्यांशमाथि प्रश्न गर । 
  • कठोर परिश्रम गर । तीन जनासँग वार्ता गरे पर्याप्त हुन्छ भन्ने तिमीलाई लाग्छ भने दस जनासँग वार्ता गर । त्यसपछि एघारौंसँग कुरा गर । यसोभन्दा म गम्भीर भएरै भनिरहेको छु । मैले हिसाबै राखिन कि कतिपटक अन्तिम फोनको घण्टीले, जुन म थकित भएको कारण उठाउन चाहन्नथें, काम गथ्र्यो । तिमीले मलाई एक जनाको मात्र उद्धरण गरिएको रचना पठाउन सक्छौ तर यदि तिमीले दसैजनासँग वार्ता गरेको भए म अवश्य थाहा पाइहाल्छु । रचना आफैं बोल्नेछ कि त्यो कति सुसूचित छ, कति विस्तारित र विश्वासिला विवरणहरुद्वारा सारगर्भित छ । आवश्यक अनुसन्धान बिना नै तयार पारिएका रचनाहरुमा यसको स्पष्ट अभाव देखिन्छ । यदि यो काल्पनिक लेखन हो र तिमीले उचित बनोट, पात्रहरु र संवादका निम्ति अत्यावश्यक सामाग्री आधा मात्रै संकलन गरेका छौं भने मैले त्यो तत्काल थाहा पाउनेछु, पाँच मिनेटभित्रै । 
  • व्यावसायिक बन । त्यसको अर्थ समयमै प्रुफ हेरिएको स्पष्ट पाण्डुलिपि पठाउ, सम्पादकले चाहेको र तिमीले बचनबद्धता व्यक्त गरेको बिषयमा लेख । हामीलाई आश्चर्यचकित बनाउने भए आफ्नो प्रतिभा र अभ्यासले बनाउ नकि कुरै नभएको बिषयमा लेखेर वा आवश्यकताभन्दा दोब्बर लामो रचना पठाएर । 
  • होसियारीपूर्वक आफ्नो क्षेत्र छनौट गर र प्रस्तुतिमा व्यावसायिक बन । छोटा, सूचनामूलक खोज र स्पष्ट पाण्डुलिपिले तान्छन् । तथ्यलाई दोहो¥याई–दोहो¥याई जाँच । यो नसोच कि सम्पादकले यस्तो गरिदिनेछ, यो तिम्रो काम हो । पर्याप्त ठोस कारण नभएसम्म विश्मयादिबोधक चिन्ह प्रयोग नगर । संवाद लेख्दा आफूलाई प्रख्यात भाषाविद् काम्र्याक म्याकर्थी नसम्झ । 
  • प्रयत्नशील बन । आफ्नो प्रिय प्रकाशनसँग निरन्तर सम्पर्कमा बस । छोटा लेख पठाइराख । स्थापित विचार र रचना प्रकाशनका लागि जताततै पठाऊ । अखबारमा प्रवेश पाएपछि बेजोड तवरले सशक्त रचनाहरुको बाढी लगाइदेऊ । सम्पादक मण्डलमा न बहिरा छन् न अन्धा, तर हामीहरु विकर्षित अवश्य छौं । हाम्रो ध्यान आकर्षण गर्न सक्नेहरु अस्वीकार हुँदैनन् । 
  • आलोचना स्वीकार गर चाहे त्यो जतिसुकै भद्दा र तिम्रा भावनामा चोट पु¥याउने किन नहोस् । लेखन हास्य वा मनोविनोदको विषय होइन । यो आक्रामक पौरुषभाव पनि होइन । वास्तवमा यो साधारण सत्य हो । लेखन कहिलेकाहीँ आवश्यकताभन्दा क्लिष्ट हुनसक्छ तर त्यही गुनासोका भरमा कुनै परिवर्तन गर्नुहुँदैन । सम्पादकहरुले तिमीलाई समावेश गर्नका निम्ति आधारभूत कुरामा केही परिवर्तन गर्ने छैनन् । रवर्टसन ड्यामिन्स भन्छन्– प्रजातन्त्रभन्दा कला अग्रगामी र सीमापारि हुन्छ ।
         यो स्वभाविकरुपले महान् हुन्छ । तसर्थ आफ्ना रचना परिश्रम र कौशलले कलापूर्ण बनाउ । हो केही अपवाद छन् तर तिनलाई बिर्स । तिमी आफूलाई अपवादमा नपार । जटिल कुरा झन् जटिल हुँदै जान्छन् । माथिका सबै सूत्र प्रयोग गर, सम्पादकहरुले तिम्रो रचना अवश्य प्रकाशन गर्नेछन् । यी सबै विधि अवलम्बन र मौलिक शैली एवं सौन्दर्य विकास ग¥यौ भने सम्पादकले तिमीलाई ओठमै चुम्नेछन् । अनि थप काम दिन तिमीलाई बोलाउनेछन् । 

         कान्तिपुर दैनिक, बिहिबार, ७ साउन, २०६१

Monday, September 21, 2015

सडकमा असोज ३

किशोर दहाल / २०७२ असोज ३

        संविधान जारी हुने असोज ३ गते दिउँसोतिर नयाँ बानेश्वर पुग्दा त्यहाँको रौनक बेग्लै थियो । यो ठाउँमा आज केही हुँदैछ भन्ने कुरा जोसुकैले पनि थाहा पाउन सक्थ्यो । त्यसो त, यो कुरा थाहा नपाउने नेपाली नै को थियो होला र ?
        नयाँ बानेश्वर सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । संविधान जारी हुने दिनको लागि भनेर देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । झन्, नयाँ बानेश्वरमा स्वभाविक रुपमा सुरक्षा व्यवस्था कडा हुने नै भयो । ठाउँठाउँमा कुकुरहरुबाट निरिक्षण गराईएको थियो ।
संविधानसभा भवनमा झण्डैझण्डा टाँगिएको थियो । सडकका वरिपरि पनि झण्डा देख्न सकिन्थ्यो । कतिपय मानिस सडकमा पनि झण्डा बोकेर हिँडिरहेका देखिन्थे । झण्डैझण्डाको यो रौनकताले मानिसमा एकप्रकारको मित्रता बढाइरहेको स्पष्ट देखिन्थ्यो । सडकमा जात थिएन, भाषा थिएन, सम्प्रदाय थिएन, पार्टी थिएन, केबल नेपालीपन थियो । राष्ट्रप्रेम थियो । नजानिदो ढंगले एकता र ‘हामी एक हौं’ भन्ने भावना प्रवाहित भईरहेजस्तो लाग्थ्यो ।
       सडकमा मानिसको घुइँचो थियो । यद्यपि मानिसहरु हिँडिरहेका कम, झुण्डझुण्ड भएर गफ गरिरहेका धेरै थिए । पत्रकारहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो । सडक किनारामा पहेँला आउटर लगाएकाहरुको चहलपहलले त्यो बाक्लोपन अनुमान गर्न सकिन्थ्यो । साधारण मानिसहरु संविधानसभा भवनलाई पृष्ठभूमि बनाएर सेल्फी खिचिरहेका देखिन्थें । त्यो भवनप्रति मानिसमा ह्वात्तै मोह बढेको थियो । कतिले गर्ब महसुस पनि गरे होलान् । यो त्यही भवन हो, जसलाई मैले नै कैयौं पटक सपनाको हत्यारा भनेर बुझेको थिएँ । ममात्रै होइन । यो भवनको दायाँबायाँ हिड्ने धेरैले यस भवनप्रति रोष उकेलेका छन् । धेरैले मुख बिगारेका छन् । खर्चको बोझ र देश बर्बादीको कारण भनेर भवनमा बस्नेहरुलाई धारे हात लगाएका छन् । कैयौंले त दिक्क मान्दै घृणाबश पिच्च धुके पनि होलान् । असन्तुष्टि त त्यस भवनमा पहुँच राख्ने हाम्रै मत जितेका सभासद्प्रति मात्रै होइन, प्रतीकात्मक रुपमा त्यो सेतो भवनप्रति मान्छेले आ–आफ्नै शब्दमा गाली गरिरहे । तर, संविधान जारी हुने निश्चित भएसँगै केही दिनयता मानिसमा त्यो भवनप्रति भरोसा बढ्दै गएको थियो । संविधान घोषणा गर्ने दिन भने त्यस भवन लगभग आस्थापुञ्ज बन्दै गएको थियो । मानिसमा त्यस भवनप्रति अपार श्रद्धा महसुस भइरहेको थियो । त्यही भरोसा र श्रद्धा नै सेल्फी बनेर प्रकट हुँदै गएको बुझ्न सकिन्छ ।
         मनिसहरुमा तीब्र जिज्ञासा थियो । संविधानसभा, सभासद्, नेताहरु तथा सम्पूर्ण राजनीतिप्रति नै मानिसमा सकारात्मक भावना विकास भइरहेको थियो । पुरानो दृष्टिकोण पनि परिवर्तन हुँदै थियो । संविधानसभाको मात्रै होइन, समग्र राजनीतिकै चमक बढेको जस्तो लाग्थ्यो । मानिसहरु एक्काशी आशावादी भएरहेका थिए । धेरैमा यो देश अब विकास हुन्छ भन्ने बिश्वास बढेको थियो ।
          केही बेर नयाँ बानेश्वर घुमेपछि म कोठातिर फर्किएँ । धरहरा, खिचापोखरी, हनुमानढोका हुँदै आगाडि बढिरहँदा ठाउँठाउँमा संविधानको स्वागतको तयारी देखिन्थ्यो । नेपालको नक्सा बनाउँदै त्यसमा प्रदेशको नक्सा खिच्ने, रङ भर्ने, लेख्नेजस्ता अनेक तयारी गरिँदै थियो । मानिसहरुमा खुसी छताछुल्ल पोखिएको थियो । युवायुवतीहरु सकेसम्म आफ्नो कला प्रस्तुत गरिरहेका थिए ।
साँझ पर्दै गर्दा राष्ट्रपतिबाट नेपालको संविधान २०७२ को जारी भएको घोषणा भयो । संविधान जारी भएसँगै सडकमा अतासबाजी सुरु भए । मैनबत्ति बालिए । राष्ट्रगान गाईए । लड्डु बाँडिए । सडकले सकेसम्म बढि खुसी बाँड्यो ।
        यो ऐतिहासिक क्षणमा देश भने स्पष्ट रुपमा दुईटा भावना विभाजित भयो । देशको एउटा भुगोलको मानिसले सेल्फीदेखि लड्डु सम्ममा खुसी मनाइरहँदा मधेसका सडकमा भने अँध्यारो छाइरह्यो । ‘ब्ल्याक आउट’ गरियो । कारण जे सुकै होस्, जायज होस् या नाजायज, मन परेर होस् वा मन नपराएर होस् । मधेसले अँध्यारो मुख लगायो । झण्डै डेढ महिनादेखि ऊ काठमाण्डौंलाई आफ्नो आवाज सुनाउन बल गरिहेछ । काठमाण्डौ बन्दुकको कुन्दाले उसको आवाजमाथि नियन्त्रण गरिरहेछ । मधेस केही बोल्न खोजिरहेछ । तर, आवाजमाथि दमन भइरहेछ । मधेसको मुहारमा यो ऐतिहासिक खुसी महसुस भएन । कतिपयले चाहेर पनि खुसी साट्न सकेनन् । आन्दोलनरत दलको चेतावनीको कारण पनि मधेस पूर्णत अध्याँरो भयो । मन नपर्नेले संविधान नस्वीकार्दा हुन्थ्यो, तर मन पर्नेहरुलाई खुसी साट्न दिनुपथ्र्यो । खुला छाडिदिएको भए संविधानको वास्तविक प्रभाव पनि देखिन्थ्यो ।
       त्यसो त, मधेसबाट प्रशस्तै मत जितेका कांग्रेस, एमाले वा माओवादीका स्थानीय नेताले पनि खासै पहल गरेनन् जस्तो लाग्छ । उनीहरुको बहुमत आएको ठाउँमा उनीहरुको आवाज बहुमत मानिसले सुन्न सक्थे नि । ति दलका भातृ संगठनले कुनै रचनात्मक काम गरेनन् । सम्बन्धित दलले आफ्ना भातृसंगठनलाई कुनै प्र्र्रभावकारी आदेश दिएको सुनिएन ।
       म सोचिरहेछु, बाँकी देशले जस्तै मधेसले पनि सँगसँगै दिपावली गरेर खुसी साट्न पाएको भए कत्ति राम्रो हुने थियो ।

Saturday, September 19, 2015

‘हुलासको पिठो’ जस्तो संविधान

किशोर दहाल
असोज ३ गते काठमाडौंका धेरै  ठाउँमा अनेक प्रकारले संविधानलाई स्वागत गरिएको थियो। बेलुका बत्ती बालेर खुसियाली मनाइएको थियो।

पहिले पहिले हुलास कम्पनीको नाममा एउटा प्रचार खुबै सुनिन्थ्यो । त्यसको सम्पूर्ण विषय त याद छैन । तर, एउटा स्लोगन भने अद्यापि चर्चित छः 'हुलास भए अरु किन खोज्ने ?'

त्यसैसँग जोडिएको एउटा चुट्किला पनि सुनिन्थ्यो, साथीहरुका माझमा ।

केही कमिलाहरु मिठाइ पसलमा छिरेछन् । मिठाइ पसलमा कतै चिनी छरिएको, कतै मिठाइकै टुक्रा छरिएको, कतै पिठो छरिएको थियो । कमिलाहरु कोही चिनीतिर लागे । कोही मिठाइतिर लागे । तर, एउटाचाहिँ पिठो खान थालेछ । साथी कमिलाहरुले उसलाई सोधे, 'चिनी, मिठाइ छोडेर किन पिठो खान थालेको ?'

पिठो खानेले प्रतिप्रश्न गरेछ, 'हुलास भए अरु किन खोज्ने ?'

हुलासको पिठोको उत्कृष्टताको स्वीकारोक्तिसँगै एउटा व्यङ्ग्य पनि हो, यो । अझ उत्कृष्ट प्राप्त गर्नसक्ने अबस्था हुँदाहुँदै थोरैमा रमाउने बानीमाथिको व्यङ्ग्य । आज जारी हुन लागेको संविधान त्यही हुलास पिठोमा अल्झिँदा छुटेको मिठाइजस्तै भएको छ ।

सरकारका नाममा

किरण दहाल 
 

बसेर नयाँ आलीको डिलमा
चोबलेर एउटा खुट्टा
पानी भरिएको खेतमा
हेरिरहेछु
भर्खरै जोतेका आफ्नै गोरूका
थकित मुहार
, आफैले कोरेका हलोका धमिला धर्साहरू
फलाउनुछ यसपालि अलि बढि धान
देशमा फल्नै आँटेको संबिधानजस्तै

पुरानो रेडियो
बढि गनगनाउँछ अचेल
केके जाति अनौठा शब्दहरु
 संघीयता
 शासकीय स्वरुप
 बहुलवाद
 धर्म निरपेक्षता
पोहोर गाउँमा आएको
कुइरेले बोल्ने भाषाजस्तो

Thursday, September 17, 2015

संबिधान जलाउनु सामान्य हो : उज्ज्वल प्रसाईं


उज्ज्वल प्रसाईं सीमान्तकृत वर्गको पक्षमा निरन्तर कलम चलाईरहेका एक जुझारु लेखक हुन् । पछिल्लो समय उनी ‘रेकर्ड नेपाल’को सम्पादक छन् । प्रसाईंसँग आज दिउँसो फेसबुकमा गरिएको कुराकानी:
संबिधान जारी हुँदै गरेको स्थितिलाई कसरी मूल्याङ्कन गरिनु उचित होला ?
यो संविधानले कम्तिमा बहिस्करणलाई राम्रोसँग सम्बोधन गर्नुपथ्र्यो । त्यो भएन । कुनै सीमान्तकृत समूहको पनि बहिस्करण कम हुन सकेन । केही गरेजस्तो गरेर केही गरेनन् । सतहमा सीमाङ्कनको मात्रै मुद्दा पेचिलो देखिन्छ । तर, निर्वाचन क्षेत्रदेखि अनेक समस्या जस्ताको तस्तै छन् । 


यो संविधानमा के-के मुद्दा संबोधन भएनन्,  बुँदागत रुपमा भनिदिनुस् न !
१) धर्म निरपेक्षताः यसको परिभाषामा समस्या छ । सनातन धर्मको रक्षा गर्ने भनेको हिन्दु धर्मको रक्षा गर्ने नै भनेको हो । यसो गर्दा अरु धर्मलाई राज्यले पाखा पारेको ठहर्छ । र, राज्य हिन्दु धर्मको मात्रै हुन्छ ।
२) सीमाङ्कनः थारुको उचित प्रतिनिधित्व, त्यो जातीको बाहुल्य हुने प्रदेशमा मात्रै सम्भव छ । त्यसैले उनीहरुको बाहुल्य हुने गरी पहाड नमिसाई थारुलाई पश्चिममा एउटा प्रदेश दिनुपर्ने थियो । त्यो भएन । अनि, मधेसीको माग पूरा गर्न पूर्वका मधेसी बाहुल्य क्षेत्र जस्तो बिराटनगर, इनर्वा र झुम्का लगायतका ठाउँ प्रदेश २ मा जोड्ने ।
३) निर्वाचन क्षेत्रः निर्वाचन क्षेत्र जम्मा १६५ वटा छन् । त्यसमा भूगोललाई प्राथमिकता दिइएको छ । हरेक जिल्लामा एउटा–एउटा गरेर निर्वाचन क्षेत्रमा बाड्ने भनिएको छ । त्यसो गर्दा ७५ वटा भयो । बाँकी ९० वटा रह्यो । ९० वटालाई जनसङ्ख्याको आधारमा बाड्ने भनिएको छ । त्यसो गर्दा ४५ वटा सिट मधेसलाई पर्ने भयो । भूगोलबाट २० र जनसङ्ख्याको आधारमा ४५ वटा गरी जम्मा ६५ वटा सिट मधेसमा हुने भयो । तर, मधेसको जति नै जनसङख्या भएको पहाडमा भने १०० सिट हुने भयो । यसो गर्दा संसदमा मधेसको उचित प्रतिनिधित्व हुँदैन । त्यसैले बहिस्करणको समस्या हल हुँदैन ।
४) शासकीय स्वरुपः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति नहुँदा स्थीरता हुँदैन । यस बिषयमा व्यापक छलफल भइसकेको छ ।
५) नागरिकताः अहिले ‘वा’ लेखेर आएको भनिए पनि त्यसलाई काट्ने अर्को धारा राखेर फेरि आमाको नामबाट नागरिकता दिने बिषयलाई पन्छाउने कोशिस गरिएको छ । साथै, केही प्रावधान यस्ता छन्, जसले खासगरी मधेसीलाई राज्यका ठूला पदमा पुग्न बञ्चित गर्छ ।
६) दलितः यस बिषयमा यति नै समस्या हो भनेर बताउन सक्ने स्थिति छैन । यसभित्रका बहुआयामिक तथ्य र समस्या बुझ्नुपर्ने हुन्छ । त्यसका लागि आहुतीका लेखहरु पढ्न सुझाब छ । अहिलेलाई यत्ति भनौं, संविधानले जसरी अधिकार सुनिश्चित गर्नुपर्ने थियो, त्यो हुन सकेन ।
७) २०६३ सालमा भएको मधेस विद्रोहलाई स्वीकार गरिएको छैन, प्रस्तावनामा । माओवादी जनयुद्धलाई शसस्त्र विद्रोह भनेर सम्बोधन गरिएको ठाउँमा मधेसको विद्रोहलाई विद्रोह नमानेकै कारण कतै उल्लेख नगरिएको स्पष्ट हुन्छ ।
८) समानुपातीक समाबेशीः यो शब्दवलीलाई उचित ढङ्गले प्रयोग गर्नुपर्नेमा, समाबेशीमात्रै भनेर केही प्रावधान ल्याईएको छ । जसले समानुपातीक भन्ने मर्मलाई नै अंगीकार नगरेको देखिन्छ । यहाँ खस आर्य राख्नु भनेको यो मुद्दालाई कमजोर पार्नु हो । समानुपातीक प्रतिनिधित्व हुन नसक्दा बहिस्करण कम हुँदैन । त्यसकारण संविधानका धेरै प्रावधानमा यसरी गडबड गरिएको छ । दलितको हकमा पनि यो कुरा लागु हुन्छ ।
अन्त्यमा, संघीयता र समानुपातिक प्रतिनिधित्वको मर्मलाई निस्तेज गर्ने हिसाबकिताब गरेर नै यो संविधान ल्याईएको छ । खासगरी, यो दुई धारणा जसले राज्य पूनर्संरचनामा निकै ठूलो भूमिका खेल्छन्, यिनको सिद्धान्तलाई आधार नबनाई संबिधान ल्याउनु नै समस्या हो । 


संबिधान त आउने नै भयो । तर, यसलाई जलाउँदै हिड्नु पनि उचित नहोला । बरु, संघर्षका नयाँ शैली अपनाउनु नै ठीक होला । त्यो नयाँ शैली के हुन सक्छ ?
जलाउनु सामान्य हो । यो जलाउने कर्मको बिरोध गर्नेहरुले यही अबस्थाको संविधानलाई स्वागत गरेका हुन् । त्यस्तो बिरोध जरुरी
पनि   छैन । अब लडाईं कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्नुपर्ने देखिन्छ । सधैं सडकको झडप र त्यस्तो खाले क्रान्ति सम्भव छैन । यो संविधान लागु हुन्छ नै जस्तो देखिन्छ । लागु भएपछि यसका कमी कमजोरी पनि उजागर गर्दै जानु पर्छ । रिसर्च र लेखनबाट उजागर गर्दै गएर त्यसैलाई पछि राजनीतिक मुद्दा बनाउँदै जानुपर्छ जस्तो लाग्छ ।
 

भनिन्छ नि, राजनीतिमा चाहेजस्तो हुबहु र तत्कालै प्राप्त हुँदैन । यो कति सान्दर्भिक धारणा हुन सक्छ अहिलेको परिस्थितिमा ?
नहुने रहेछ भन्ने त देखियो । नेतृत्व कमजोर र अयोग्य भएपछि सहजै र समयमा नै प्राप्त गर्न सकिने उपलब्धी पनि प्राप्त हुँदैनन् । मधेस र माओवादीका त्यस्तै नेताको कारण अहिले मधेसको हालत बिग्रिएको छ । मधेसी र माओवादी नेतृत्वका कमजोरीमै टेकेर परिवर्तन नचाहनेले यो बेहाल सिर्जना गरेका हुन् । अहिले आएर माओवादी त कांग्रेस र एमालेको भ्रष्ट र पतीत संस्करणमा परिणत भएका छन् ।
 

एकथरि छन्, जो सगरमाथा चढिसकेको जस्तो खुसी मनाउँदैछन् । तिनीहरु अब भोलि यो देशमा कुनै समस्या नआउने जस्तो गर्दैछन् । अर्कोथरि छन्, जो नाम्चेबजार मै छुटेजस्तो गर्दैछन् । मिलन बिन्दु के हुन सक्ला तत्कालको राजनीतिमा ?
अब संविधान संसोधन गरेर जाने भन्छन् । त्यो सम्भव देखिदैन । बरु, यो प्रक्रियालाई अन्त्य हुन दिएर यो संविधानलाई नस्वीकार्ने शक्ति/समूहले संविधानको व्यवहारिक/सैद्धान्तिक कमजोरीलाई उजागर गर्ने नै हो । संविधानलाई हेर्ने, अध्ययन गर्ने र बिस्तारै यसको असंगती महसुस गराउने हो । यती हुन समय लाग्छ तर नयाँ चित्र बन्न सक्छ । 


मधेसको असन्तुष्टि इगोमा परिणत भइसकेको छ । केही पाएजस्तो, जितेजस्तो नभई ‘काठमाण्डौ’ फर्किन नेताहरुलाई अप्ठ्यारो छ । उनीहरुलाई तत्काल दिन सकिने कुरा के हुन सक्छ ?

तत्काल दिन सकिने भनेको, तिमीहरुको यति कुराचाहीँ अहिले पूरा गर्छौ । पुरानो सहमतिबाट यी कुराचाहीँ तत्कालै पूरा गर्ने प्रण गर्छौ भनेर टेबलसम्म ल्याउनु एउटा सेफ ल्याण्डिङ हुन सक्छ । त्यसो नगरी झारा टार्ने र एकदमै हेपेको जस्तो गरेर एक/दुइ दिनको समय दिएर बोलाउँदा झनै दुरी बढ्छ । 


उनीहरु भन्दैछन् कि, पुरानो सहमति कार्यान्वयन गर्ने हो भने नयाँ सहमति जरुरी नै छैन । पुरानो सहमतिको पूर्ण कार्यान्वयन पनि सम्भव छैन । यो स्थिति त लम्बिने देखियो नि !
राज्यले पूरै नजरअन्दाज गरेर पेल्ने नीति लिएपछि त्यस्तो त हुन्छ नै । अझै पनि बेवास्ता गरेर मधेसलाई एकदमै हेपेको सन्देश गयो भने बिखण्डनकारी हर्कतले बल पाउँछ । त्यसले कहीँ पु¥याउँदैन, तर झन्–झन् अराजकता बढाउँदै लैजान्छ । अहिले मधेसका नेताको अनुहार हेरेर मधेसलाई नजरअन्दाज गर्न बन्द नगर्दासम्म स्थीति विकराल बन्छ । 


यतिबेला ठूला दलका मधेसी नेता किन निरिह भएका होलान् ?
मान्छेले पहिला आफूलाई हेर्छ । आफ्नो भबिष्य, सुबिधा, सन्तान... सबैले मान्छेलाई कमजोर बनाउँछ । यो बिस्मयकारी जञ्जालबाट निस्कन गाह्रो पो हुन्छ । यही सबले लट्टिएका छन्, ठूला दलका मधेसी नेता । केही सुरेन्द्र चौधरीजस्ताले कोशिस सम्म गरे तर सकेनन् । अनेक धम्की, लोभलालचले पनि काम ग¥यो होला । 


तर, राजनीति भनेको त यस्तै होइन र ?
खासमा राजनीति भनेको यस्तो होइन । जब मान्छे राजनीति सकिएर अराजनीतिक भुलभुलैयामा फस्छ, तब यो सब सुरु हुन्छ । 


त्यसो भए हाम्रो राजनीतिले कहिलेदेखि रङ फेर्न थाल्यो त ? कि, हाम्रोमा राजनीतिले वास्तविक रङ नै ग्रहण गर्न पाएन ?
होइन, हाम्रोमा राजनीति नै भएको हो । सारा मुद्दा र डिस्कोर्स राजनीतिले नै ल्याएको हो । तर, जब राजनीति गर्नेहरुले त्यसमा पनि बर्चस्वमा भएकाहरुले आफ्नो जात, वर्ग र लिङ्गको साँघुरो घेरामा फस्न पुगे, त्यहीँबाट यो अराजनीतिक गडबडी सुरु भएको हो । 


हाम्रोजस्तो मुलुकमा व्यक्तिगत स्वार्थ र स्वार्थगत बाहिरी समूहलाई किनारा लगाउँदै शुद्ध राजनीति अघि बढ्न सक्छ र ?
त्यस्तो पुरै आदर्शवादी अबस्थामा मान्छेलाई लिन सकिदैन । तर, बञ्चितहरुको आन्दोलन र आवाज शसक्त भयो भने बर्चस्वमा भएकाहरु आफ्नो साँघुरो घेराबाट बाहिर आउन बाध्य हुन्छन् । अनि, सँगै शिक्षा तथा गम्भीर राजनीतिक छलफलहरुले पनि मान्छेलाई त्यो साँघुरो घेराबाट बाहिर आउन सहयोग गर्छ । 


हामीकहाँ राजनीति नाम दिएर अरु नै खेल खेलिन्छ कि क्या हो ?

राजनीतिलाई बुझ्ने र परिभाषीत गर्ने आ–आफ्नै तरिकाहरु होलान् । तर, महत्वपूर्णचाहीँ के हो भने पात्र/प्रवृत्ति र घटनालाई राजनीतिक ढङ्गले बुझ्न जरुरी छ । यो राजनीतिक बुझाईले नै भइरहेका अराजनीतिक कृत्य र घोषित मान्यतालाई उजागर गर्छ । 


केही मान्छेहरु अहिले खुबै तटस्थ बन्न खोजिरहेका छन् नि !
सबैभन्दा पहिले के बुझ्नुपर्छ भने त्यो तटस्थता भ्रम हो । तटस्थता बर्चस्ववादको नजिक हुन्छ । पक्षधरता नहुनु भनेको जे शक्तिशाली छ, जे मुलधार हो, जो प्रचारित छ त्यसैलाई स्वीकार्नु र पत्याउनु हो ।


संविधान घोषणापछि शान्ति आउँछ भन्ने एकथरिको बुझाई छ । यो कत्तिको सतही धारणा हो ?
शान्तिको परिभाषा गर्ने । शान्ति आफैमा तटस्थ हुँदैन । सबैलाई एकैपटक शान्ति हुँदैन । कसलाई शान्ति हुने हो ? को अशान्त हुने हो ? दलितलाई शान्ति हुन्छ ? काठमाण्डौको एउटा धनी पहाडेको घरमा बसेको मधेसीलाई शान्ति हुन्छ ? यस्ता प्रश्नको खोजी गरियो भने उत्तर आफैंले पाइन्छ ।

Monday, September 14, 2015

मिलाप खोज्दै अमलेखगञ्ज

 किशोर दहाल 
          अघिल्लो आइतबार प्रदर्शनी मार्गमा हिँडिरहेको थिएँ । मोबाइल काम्न थाल्यो । उपेन्द्र दाइ (उपेन्द्र लामिछाने, नागरिक दैनिक)को कल रहेछ । सामान्य कुराकानीपछि उहाँले भन्नुभयो, "हेटौंडा जाने हो ?" 
         सोमबार बिहानै हेटौंडातर्फ लाग्यौं । उहाँसँग यात्रा गर्दा बेग्लै किसिमको रमाइलो हुन्छ । कतै रिपोर्टिङको लागि जानू छ भने पनि 'घुम्न जाने' वा 'मुड फ्रेस गर्न जाने' भन्ने उहाँको पुरानो बानी यथावत् छ । सिमरा, बारामा मैले केही समय पत्रकारिता गर्दा उहाँसँगको सम्बन्ध घनिष्ट भएको थियो । सामान्य ठानिएका र वास्ता नगरिएका सामाजिक बिषयहरूमा रोचक फिचर लेख्न सक्ने उहाँको शैलीको म सदाबहार प्रशंसक हुँ । सिमरामा बस्दा हामी बाइकमा निकै घुम्थ्यौं । त्यो काठमाडौंमा पनि जारी छ ।
        जे होस्, रमाइलो गर्दै हामी अमलेखगञ्जसम्म पुग्यौं । हरहिसाबले तराईमा 'गर्मी' छ, आजकाल ।
 * * *
         अमलेखगञ्जमा हाम्रो पहिलो योजना थियो, भरत घलेलाई भेट्ने । उनी घरमै भेटिए । आराम गरिरहेका रहेछन् । पुरानो भेटघाट स्मरण गराईयो । घले राजनीतिक व्यक्ति भएकोले गफगाफको सुरूमै मधेसमा चलिरहेको आन्दोलनले प्राथमिकता पाइहाल्यो । र, सामाजिक सद्भाव गुम्ने हो कि भन्ने सामूहिक चिन्ता पनि व्यक्त गरियो । गफ गरिरहँदा भरतकी श्रीमती गीता छेउमै बसेर सुनिरहेकी थिइन् । उनी साह परिवारकि छोरी हुन्, अर्थात् मधेसी समुदायकी चेली । वास्तवमा, घले र साह बीचको मिलन सुन्न नै हामी यो घरसम्म तानिएका थियौं । 
            गफको बिषय उहाँहरूको विवाहमा केन्द्रित हुन थालेको थियो । चार दशक अघिको प्रेम सम्बन्ध सम्झिदा यो उमेरमा पनि लज्जा महसुस भइरहेथ्यो दुबैलाई । जिन्दगीको टेप रेकर्डर रिवाइण्ड भएर प्ले हुन थाल्यो । यद्यपि त्यो प्रेम र विवाहलाई दुवैले एकसाथ सम्झिए । विवाहपछि भागेर एक बर्ष काठमाडौं बसेको सम्झिए । दश बर्षसम्म गीताको माइतीले अस्वीकार गरेको सम्झिए । ३० को दशक आँखाभरि झलझली नाच्न थाल्यो । त्यो सम्बन्ध एक जोडीको स्वभाविक मिलन मात्रै थिएन, अन्तर्जातिय र अन्तर्समुदाय बीचको मिलनको सुरूवात पनि थियो । 
           पारिवारिक स्वीकारको सम्बन्धमा भरत भाग्यमानी रहेछन् । उनका बाबुले समेत अन्तर्जातीय विवाह गरेका कारण उनलाई अप्ठ्यारो थिएन । ढिलै सही, गीताको परिवारले पनि स्वीकार गरेपछि अब सम्बन्धहरू फरक समुदायसम्म विकसित भयो । उहाँहरूको खुसी झन् बढि प्रशारित भयो ।
          गीता साहलाई प्रश्न गरियो, “एउटा पहाडीयासँग विवाह गर्दा अप्ठ्यारो लागेन ?” उहाँले भन्नुभयो, “मैले पहाडीयासँग विवाह गरेकै होइन, असल मान्छेसँग विवाह गरेको हुँ ।” असल मान्छेहरु खास सम्प्रदायभन्दा माथि हुने उहाँको माथिल्लो बिचार सुनेपछि हामी सबैमा हाँसो प्रशारित भयो ।
     संयोग कस्तो परेछ भने त्यसदिन भरतका आमाको श्राद्ध पनि परेको रहेछ । कुराकानीकै क्रममा गीताले श्राद्धको प्रसाद लिएर आइन् । सांस्कृतिक अन्तर्घुलनको प्रभाव प्रसादमा पनि देखिन्थ्यो । केही पहाडीया समुदायमा प्रचलित प्रसाद र केही मधेसी समुदायमा प्रचलित प्रसाद प्लेटमा थिए । प्रसाद मीठो मात्रै होइन, बिबिधतापूर्ण पनि थियो ।
       घले दम्पतीको कोठाका भित्ताभरी फोटोहरु टाँसिएका छन् । आफ्नो लगायत छोरोछोरीको । छोराछोरीको रङमा, ढाँचामा जैबिक अन्तर्घुलन देखिन्छ । आमालाई हेरेर फोटो हे¥यो भने सन्तान मधेसी जस्तो लाग्थ्यो । बाबुलाई हेरेर फोटो हे¥यो भने पहाडीयाजस्तो लाग्थ्यो । फोटो हेर्दा पनि होलोग्राम हेरेजस्तो लाग्थ्यो ।
      घले परिवारको अन्तर्जातीय विवाहको यो श्रृङ्खला भरतका बाबुदेखि उनका सन्तानसम्म फैलिएको छ । भरतका एउटा छोराबाहेक परिवारका सबैले अन्तर्जातीय विवाह नै गरेका गरेछन् । भरतका छिमेकीहरुमा पनि धेरैजसो अन्तर्जातीय विवाह गरेकाहरु नै रहेछन् ।
       हामी अमलेखगञ्जको गाविस कार्यालय पुग्यौं । गाविसमा कोही पनि सेवाग्राही थिएनन् । सचिब र एकजना कार्यालय सहयोगी बाहेक अफिसमा अरु कोही पनि देखिएनन् । सचिबले अमलेखगञ्ज गाविसमा अन्तर्जातीय विवाहको केही अनुमानित तथ्याङ्कहरु प्रस्तुत गरे । त्यस्ता विवाहका केही रोचक प्रसङ्गहरु पनि सुनाए । सामाजिक सद्भावका केही प्रभावका बिषयमा पनि धारणा राखे ।
      कार्यालय परिसरमै एउटी महिला आइपुगिन् । उनले पनि अन्तर्जातीय विवाह गरेकी रहिछन् । उनलाई देख्ने बित्तिकै सचिबले भने, “यिनको पनि अन्तर्जातीय विवाह भएको त हो नि !”
     कार्यालय परिसरमा हामी पाँचजना कुरा गरिरहेका थियौं । उनीहरु हामीलाई अन्तर्जातीय विवाहका बिभिन्न दम्पतीहरुको बारेमा सुनाउँथे । उनीहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो कि अमलेखगञ्जमा सजातीय भन्दा अन्तर्जातीय विवाह धेरै हुन्छ । यहाँका लागि अन्तर्जातीय विवाहमा कुनै नयाँपन छैन । यो कुनै समाचारको बिषय नै होइन । तर, बाँकी देशलाई यो नयाँ खबर हुन सक्छ । अनौठो खबर हुन सक्छ । अमलेखगञ्जबासीलाई समाचार नै नबन्ने बिषय हामी बाँकी देशका निम्ति समाचार बनाउन गइरहेका थियौं ।
      हामीले धेरै अन्तर्जातीय जोडीका बारेमा जानकारी पाएका थियौं । तर, हामी सबैलाई भेट्न सक्दैन थियौं । त्यो सम्भव र आवश्यकता दुबै थिएन । तर, हामी अजिज शेखलाई भेट्न गयौं । जो अजिजउल्लाहबाट प्रेमसाथ अजिज बनेका थिए ।
      मुल सडकबाट थोरै भित्रपट्टि उनको टेलर्स रहेछ । बाहिरपट्टि भित्तामा चकले ‘अजिज टेलर्स’ लेखेको देखेपछि हामी भित्र छि¥यौं । एउटा युवा मेसिनको अगाडि बसेर कपडा सिलाउँदै थिए । अजिज सुतेका रहेछन् । तिनै युवाले ब्युझाइँदिए ।
      झण्डै एक दशक भन्दा अगाडि गरेको बिहे आजको समाजमा उदाहरणीय कदम बन्ला भनेर अजिजले सायद कहिल्यै सोचेका थिएनन् होला । हामीले आफ्नो उद्देश्य बताउने बित्तिकै उनी अकमक्क परे । केही बेरको कुराकानीपश्चात उनी सहज बन्न थाले ।
       अजिजले बिस्तारै पुरानो टेलर्स सम्झिए । टेलर्सका मेसिनका चक्काजस्तै उनको दिमाग घुम्न थाल्यो । त्यो पुरानो टेलर्स तिनै ताराको घरमा थियो, जोसँग उनले विवाह गरेका थिए । ताराको घरमा बसेर उनले कपडामात्रै सिएनन्, प्रेम पनि सिए । प्रेम झाँगियो । मागी विवाह सम्भव थिएन । अजिजले तारालाई भगाएर आफ्नो घर पु¥याए । केही समयपश्चात उनी एक्लै ताराको घरमा आए । अलिकति डर र अलिकति लाज बोकेर । असन्तुष्ट र आक्रोशित त सबै थिए, सासुआमा अलि बढि नै रिसाएकी रहिछिन् । उनले अजिजको टेलर्स मेसिन नै फ्याँकिदिइन्छिन् ।
        प्रेमको अगाडि आक्रोश कति समय टिक्थ्यो र ? अन्ततः सबै शान्त भए । प्रेम विस्तारित भयो ।
       अजिजले अन्तर्जातीय मात्रै नभइ अन्तर्धार्मिक विवाह पनि गरेका थिए ।
       टेलर्समा बसेर एकसरो प्रेमकहानी सुने पछि अजिजकै साथ लागेर हामी उनको घरसम्म पुग्यौं । एउटा सामान्य गेटबाट भित्र पस्ने बित्तिकै थाहा भयो, अजिजको ‘परिवार’ ठूलो रहेछ । ती सबै बाहिर बसेर केही खाइरहेका थिए । थरिथरिका अनुहार देखिन्थे । कोही सेता, कोही काला । गहुँ र फापर मिसाइएझैं लाग्थ्यो । अजिजले श्रीमती तारासँग हाम्रो परिचय गराए र हामी आउनुको कारण बताए । हामीले उनीसँग पनि केही जिज्ञासा राख्यौं । फरक भाषा र धर्मका मानिससँग विवाह गर्दा ब्यहोर्नुपरेका सजिला अप्ठ्याराबारे सोध्यौं । उनले ‘नमस्ते’ र ‘सलाम वाकेलुम’ दुबै संस्कृतिप्रति अपनत्व देखाइन् । घर र माइती दुबै तिरका चाडपर्वका बखान गरिन् । दुबैतिरका चाडपर्वमा समान सहभागिताका साथ मनाउन पाउनु आफ्नो भाग्य सम्झिइन् ।
             हामी अजिजको घरबाट फर्कियौं र मालती साहको घरतिर लाग्यौं । मालती तिनै सासुआमा हुन्, जसले एउटी पहाडीया बुहारीलाई छोराको मृत्युपश्चात पनि दिएको मायाको कारण छिमेकभर चर्चित छिन् । मधेसी समुदायमा दाइजोको कारण सासु र बुहारीको झगडा परेको समाचारमा बाक्लै सुनिन्छ । पहाडीया समुदायमा त तिज पर्व नै मनाइन्छ, जसमा सासुले दिएका दुःख माइती पुगेर गाइन्छ । तर, मालतीको व्यवहार फरक थियो । त्यसैकारण हुनसक्छ, उनको बारेमा सुन्ने बित्तिकै हामी उनलाई भेट्न उत्साहित भएका थियौं ।
            गीताको साथ लागेर हामी मालतीको घरमा पुग्दा बच्चाहरु बाहिर पढिरहेका थिए । हामी आएको थाहा पाउनासाथ उनी बाहिर निस्किए । परिवारका अन्य सदस्य पनि निस्किए । केही काला अनुहारको साथ लागेर एउटी गोरी महिला पनि निस्किइन् । उनी तिनै बुहारी थिइन्, जसले पाएको माया छिमेकमा उदाहरणीय बनिरहेको छ । गीताले मालतीसँग कुरा गगरेपछि उनीहरु हामीसँग गफ गर्न थाले । मालती सबैलाई छोरी भन्थिन् । गीतालाई पनि छोरी नै भन्थिन् । मायाप्रेम त्यत्तिकै महसुस भइरहेको थियो । लक्ष्मीको पतीको मृत्यु भएपछि पनि परिवारले उनलाई सक्दो माया दिइरहेको छ । देवर देउरानी सबैको माया प्राप्त भइरहेको छ । देवर त भन्दैथे, “हामी सानै छँदा आमाले जत्तिकै माया गर्नुहुन्थ्यो । अहिले पनि आमाजस्तै लाग्छ ।”
* * *
           समुदायको विकासको लागि जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक अन्तर्घुलन निकै आवश्यक छ । यसले एक अर्काको संस्कृति र भाषाको बारेमा जानकारी दिन्छ । प्रशारित गर्छ । र, अपनत्वको महसुस गराउँछ । अर्कोतिर यसले समाजमा फरक समुदायको सहअस्तित्व स्वीकार गर्न र सम्मान गर्न मद्दत पु¥याउँछ । फरक भाषा, जात र समुदायको मानिसमा पनि नातेदारीको विकास गर्छ । यसले समाजमा मिलाप बढाउँछ । यो अन्तर्घुलनको एउटा माध्यम अन्तर्जातीय विवाह हो । जुन अमलेखगञ्जमा देख्न पाइन्छ । 


*उपेन्द्र लामिछानेले यस बिषयमा नागरिक दैनिकमा लेख्नुभएको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् । 

Tuesday, August 25, 2015

तिमी को ?

गोपालप्रसाद रिमाल

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहंकार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ,
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?
यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हामी जयमाला बनाउन चाहन्छौं,
“तिमी जितेका छैनौ, जित्ने त अर्कै छ” भन्ने तिमी को ?

Wednesday, August 19, 2015

बेसीशहरमा बरालिँदा


किशोर दहाल ।

मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेस तथा जनजाति केन्द्रित दलहरूले गरेको दुई दिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो ।

बन्द नभएको भए आइतबार काठमाडौं फर्किने योजनामा थियौं । बन्द नै भएपछि त्यसको सदुपयोग गर्न पैदलै पुग्न सकिने कुनै ठाउँमा घुम्न जाने योजना बन्यो ।

गाउँशहर दरबार जाने भइयो ।

दिउँसो करिब दुई बजेको आसपास घाम लागेको थिएन । मौसम धुम्म थियो । हिँड्नलाई उपयुक्त मौसम थियो ।

बेसीशहरबाट पारिपट्टी डाँडामा पर्थ्यो- गाउँशहर दरबार । यसको ऐतिहासिकता मलाई थाहा थिएन । यसअघि नाम पनि सुनेको थिइनँ ।

बेसीमा गाउँ रहेछ । त्यसपछि जङ्गल । अनि फेरि गाउँ । उकालो बाटो । बेसीको गाउँ कटिनसक्दै थकाइ लागिसकेको थियो ।

गाउँ कट्नेबित्तिकै एक बृद्धा र केही युवती घाँसको भारी बोकेर ओरालो झरिरहेका थिए । उनीहरूलाई सोध्यौं, “दरबार पुग्न अब कति समय लाग्छ ?”

“लाग्छ अझै निकैबेर । आधा पनि भएको छैन”, बृद्धाले उत्तर दिइन् । युवतीहरू बोलेनन् ।

उनीहरू ओरालो झरे ।  हामी उकालो चढ्यौं ।

गर्मी निकै थियो । पसिनाले नुहाएजस्तो भइसकिएको थियो । तर, बाटोचाहीँ आधा पनि भएको रहेनछ ।

जङ्गल सुरू भयो । यहाँको वन उपभोक्ता समिति बलियो रहेछ, सायद । जङ्गल बाक्लो थियो । मनोजले भन्यो, “बाघ पाइन्छ कि क्या हो ?”

“के पाइन्थ्यो र ? यसरी जताततै बाघ पाइने भए बाघ संरक्षणमा विश्वब्यापी पहल किन गर्नुपर्थ्यो र ?” , मैले भनें ।

विद्रोह

-किरण दाहाल  
 

बरालिँदा साँझपख
यो सहरमा
नदेखियोस् तिमीलाई
ढल्न आँटेको
कुनै राणाकालीन पुरानो घरजस्तो
 
सम्झिराख्नु हरहमेसा
सहर आधुनिकता मन पराउँछ 

कुनै ब्रान्डेड स्प्रे छरेर
बास्नादार फूलजस्तै
मगमगाएको तिम्रो शरीर
फक्रिरहोस् प्रत्येक गल्लीमा
नसकियोस् तिम्रो यौवन
मैनबत्तीजस्तो
बरु पागल नजरहरू
तेर्सिरहुन तिमीतिरै
यो सहरमा मान्छेहरू
सुन्दरताको खोजीमा छन् 

चुँडिएको चङ्गा

-किरण दहाल


धेरै पहिले सोधेकी थिई उसले

पाईलटको अर्थ

नर्सको जिन्दगी

कसरी लेखिन्छ कबिता ?

जतिबेला कोपिला नै थिई



बेलाबेला सोधिरहन्थी

पजल गेमजस्ता प्रश्नहरु



अन्तिम पटक सोधेकी थिई उसले

चुडिएको चङ्गाको गन्तब्य !

कमरेडलाई प्रश्न

किरण दहाल

सपनामा आउँछन् माक्र्स
, सुनाउँछन् मलाई
द्वन्द्ववादका सिद्धान्त
सुनाउँछन् स्वप्न कथा
कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ?
केके हुन्छ त्यहाँभित्र ?
जुन कथा तपाईले सुनाउनुहुन्थ्यो
पहिलेपहिले

कमरेड !
देख्न त तपाई पनि देख्नुहुँदो हो सपनामा
टेण्डर हाल्दै गरेका माक्र्स
कालो बजारी गर्दै गरेका लेनिन
पजेरो चड्दै गरेका माओ
मनोबिश्लेषकहरु भन्छन्
सपना बिपनाको उपज हो