लेखन विधिको विवादमा म एउटा दृष्टिकोण थप्न चाहन्छु । २१ वर्षसम्म म व्यावसायिक लेखक भएँ । तीमध्ये ११ वर्ष मैले स्वतन्त्र लेखकका हैसियतमा टिप्पणी, रेस्टुराँ समीक्षा, लघु कथा, व्यक्ति परिचय, मासिक वक्तव्यसमेत लेखें । यसबीचमा मैले दि समाचारपत्रमा पनि सिकारुहरुको प्रशिक्षण र लेख दृष्टिले चर्चित पाँचमध्ये एक भनिएका राष्ट्रिय प्रकाशन ‘जोन्स हप्किन्स जर्नल’ मा विशिष्ट लेखक तथा सम्पादकका रुपमा कार्यरत छु ।
यहाँ मैले लेख्न लागेको धेरैजसो कुरा साहित्यइतरका लेखकहरुप्रति लक्षित छन् । तर काल्पनिक लेखनधर्मीहरुलाई पनि म अधिकांश यिनै सल्लाह निवेदन गर्दछु । दुवै विधाका सम्पादकहरु के चाहन्छन् त ? सम्पादकहरु ती लेखक रुचाउँछन् जो व्याकरण र वाक्य रचना राम्ररी बुझ्छन्, सही सूचना कसरी संकलन गर्ने भन्ने जान्दछन् र आडम्बररहित र स्पष्ट ढंगले लेख्छन् । लेखनको तात्पर्य थाहा पाएका र त्यसलाई ग्रहण गरेका अनि आफ्नै कौशल, तीक्ष्ण बुद्धि र शैली प्रस्तुत गर्ने लेखक सहजै सम्पादकको रोजाइमा पर्छन् । सम्पादकहरु ती लेखक रुचाउँछन् जसले अनुरोध गरिएको आकारमा सम्झौता भएको विषयमा विल्कुलै समयमा आफ्नो लेख रचना पु¥याइदिन्छन् । सम्पादकहरु केवल कोरा कल्पनाबाट निःसृत विचार रुचाउँदैनन् । बरु उनीहरु तिनको कार्यकक्षभन्दा बाहिरको संसारको बुद्धिमत्तापूर्ण, सुसूचित तथा सन्देहपूर्ण विवेचना र अन्तर्दृष्टियुक्त अवलोकन चाहन्छन् । सम्पादकहरु कठोर परिश्रमी र व्यावसायिक सौजन्यप्रति आदरभाव भएका स्रष्टा चाहन्छन् ।
दुःखपूर्वक भन्नुपर्छ हामीले जति रचनाहरु पाउँछौं तिनमा अधिकांश कुरा अनुपयोगी हुन्छन् । तिनका धेरैजसो लेखकले अझै ‘लेख्न’ सकेका हुँदैनन् न त कुनै नवीन कुरा उप्काएका हुन्छन् । कसैकसैले त खामको पछाडिपट्टि हातैले धस्क्याएर आफ्नो रचना पठाउँछन् (नहाँस्नुस्, केही समयपहिले एउटा सम्पादकले यस्तै पत्र पाएको मैले थाहा पाएको छु) । लेखकहरुले कतिसम्म आशा गरेर आफ्नो रचना पठाउँछन् भन्ने म जान्दछु । म अरुका सपना कुल्चन रुचाउन्न तर वास्तविकता के हो भने हामीले प्राप्त गर्ने अधिकांश रचनाले हाम्रो समय बर्बाद गरिदिन्छन् र कहिलेकाँही त स्थापित स्तम्भकारहरु छोडेर नवोदित लेखकहरुलाई स्थान दिने सोचाई बनाृउन प्रेरित गर्छन् ।
लेखकीय सफलताका सूत्र
- आधारभूत कुरा सिक । मेरो भनाइको अर्थ के हो भने तिनलाई भित्रै गहिराईसम्म पुगेर सिक । सम्पादकलाई ‘प्रयोग’ अथवा ‘तर अन्तर्वस्तुको महत्त्व हुन्छ नि’ जस्ता अर्थहीन कुरा सुन्ने समय र धैर्य हुँदैन । यदि तिम्रो व्याकरण, वाक्य रचना र वर्णविन्यास कमजोर छ भने तिमी प्रयोगवादी होइनौं, तिमी बच्चै छौ । हो, रचनाको अन्तर्वस्तु वा सारको अर्थ हुन्छ तर जब तिमीले भाषालाई समुचित ढंगले खेलाउन सक्दैनौं भने हामीलाई तिमीप्रति कुनै चाख हुँदैन ।
- चतुर र अन्तर्दृष्टियुक्त अवलोकनकर्ता बन । साहित्यिक र गैरसाहित्यिक लेखन पनि विस्तारपूर्ण विवरणमा निर्भर हुन्छन् । यदि तिमी देख्न, सुन्न र सोच्न सक्दैनौं भने तिमीसँग व्यक्त गर्ने कुरा पनि केही हुँदैन । व्यक्त गर्नलाई केही छैन भने तिमीले यही कुरा भन्न कैयौं पृष्ठ तयार गर्नेछौ ।
- सोच । सम्पादकहरुले तिमीले कल्पना गर्न सक्ने भन्दा बढी मूर्खतापूर्ण तुलना, बङ्ग्याइएका रुपक, अनुपयुक्त उपमा र बेहोसीपूर्वक तथ्याङ्क भरिएका पत्र आफ्नो टेबलमा पाउँछन् । होसियारीपूर्वक मिमांसा गरिएका, मेहनतपूर्वक लेखिएका, गम्भीर रुपले अवलोकन गरिएका र आद्योपान्त सुविचारित रचनाहरुले मात्र सम्पादकको ध्यान तान्छन् । आफ्नो रचनाको शब्दैपिच्छै घोत्लेउ र आफ्नै मान्यता, निश्कर्ष र हरेक वाक्यांशमाथि प्रश्न गर ।
- कठोर परिश्रम गर । तीन जनासँग वार्ता गरे पर्याप्त हुन्छ भन्ने तिमीलाई लाग्छ भने दस जनासँग वार्ता गर । त्यसपछि एघारौंसँग कुरा गर । यसोभन्दा म गम्भीर भएरै भनिरहेको छु । मैले हिसाबै राखिन कि कतिपटक अन्तिम फोनको घण्टीले, जुन म थकित भएको कारण उठाउन चाहन्नथें, काम गथ्र्यो । तिमीले मलाई एक जनाको मात्र उद्धरण गरिएको रचना पठाउन सक्छौ तर यदि तिमीले दसैजनासँग वार्ता गरेको भए म अवश्य थाहा पाइहाल्छु । रचना आफैं बोल्नेछ कि त्यो कति सुसूचित छ, कति विस्तारित र विश्वासिला विवरणहरुद्वारा सारगर्भित छ । आवश्यक अनुसन्धान बिना नै तयार पारिएका रचनाहरुमा यसको स्पष्ट अभाव देखिन्छ । यदि यो काल्पनिक लेखन हो र तिमीले उचित बनोट, पात्रहरु र संवादका निम्ति अत्यावश्यक सामाग्री आधा मात्रै संकलन गरेका छौं भने मैले त्यो तत्काल थाहा पाउनेछु, पाँच मिनेटभित्रै ।
- व्यावसायिक बन । त्यसको अर्थ समयमै प्रुफ हेरिएको स्पष्ट पाण्डुलिपि पठाउ, सम्पादकले चाहेको र तिमीले बचनबद्धता व्यक्त गरेको बिषयमा लेख । हामीलाई आश्चर्यचकित बनाउने भए आफ्नो प्रतिभा र अभ्यासले बनाउ नकि कुरै नभएको बिषयमा लेखेर वा आवश्यकताभन्दा दोब्बर लामो रचना पठाएर ।
- होसियारीपूर्वक आफ्नो क्षेत्र छनौट गर र प्रस्तुतिमा व्यावसायिक बन । छोटा, सूचनामूलक खोज र स्पष्ट पाण्डुलिपिले तान्छन् । तथ्यलाई दोहो¥याई–दोहो¥याई जाँच । यो नसोच कि सम्पादकले यस्तो गरिदिनेछ, यो तिम्रो काम हो । पर्याप्त ठोस कारण नभएसम्म विश्मयादिबोधक चिन्ह प्रयोग नगर । संवाद लेख्दा आफूलाई प्रख्यात भाषाविद् काम्र्याक म्याकर्थी नसम्झ ।
- प्रयत्नशील बन । आफ्नो प्रिय प्रकाशनसँग निरन्तर सम्पर्कमा बस । छोटा लेख पठाइराख । स्थापित विचार र रचना प्रकाशनका लागि जताततै पठाऊ । अखबारमा प्रवेश पाएपछि बेजोड तवरले सशक्त रचनाहरुको बाढी लगाइदेऊ । सम्पादक मण्डलमा न बहिरा छन् न अन्धा, तर हामीहरु विकर्षित अवश्य छौं । हाम्रो ध्यान आकर्षण गर्न सक्नेहरु अस्वीकार हुँदैनन् ।
- आलोचना स्वीकार गर चाहे त्यो जतिसुकै भद्दा र तिम्रा भावनामा चोट पु¥याउने किन नहोस् । लेखन हास्य वा मनोविनोदको विषय होइन । यो आक्रामक पौरुषभाव पनि होइन । वास्तवमा यो साधारण सत्य हो । लेखन कहिलेकाहीँ आवश्यकताभन्दा क्लिष्ट हुनसक्छ तर त्यही गुनासोका भरमा कुनै परिवर्तन गर्नुहुँदैन । सम्पादकहरुले तिमीलाई समावेश गर्नका निम्ति आधारभूत कुरामा केही परिवर्तन गर्ने छैनन् । रवर्टसन ड्यामिन्स भन्छन्– प्रजातन्त्रभन्दा कला अग्रगामी र सीमापारि हुन्छ ।
कान्तिपुर दैनिक, बिहिबार, ७ साउन, २०६१