Pages

▼

Saturday, August 8, 2015

एक साँझ बसन्तपुरमा

–किरण दहाल

अस्ताएको सूर्यसँगै
उदाउँदै छन्, नयाँ प्रेमिल जोडीहरु
मध्यस्तकर्ता बनेका छन्
 –पानीपुरी
 –चट्पटे
 –आईसक्रिमहरु
अँध्यारोलाई पन्छाएर
बलिरहेछन् ल्याम्पपोष्टहरु
ठिङ्ग छन् मन्दिरहरु
हिमालका चचुराजस्तै

‘भोको बसेर धर्म हुन्न,
भारी बोकेर धनी भईन्न’
भन्दाभन्दै पनि
भारी बोकेरै पौने जिन्दगी काटेको
एक बृद्ध भरिया
फुस्फुसाउँछ सडक पेटीमा
सस्तोखाले बिंडीको धुवासँगै
मानौ, ऊ पढ्दैछ–
शहरका नामी बिश्लेषकको
बुझ्नैपर्ने, तर नबुझिने बिचार

एक युवती–
मोबाईलमा औँलाहरु दौडाउँछे
हिसाबकिताब गर्छे–लभ पर्सेन्टेज
एक युवक–
दन्त्य कथामा
अजिङ्गरले मान्छे तानेझैँ
तान्छ, चुरोटको लामो सर्को
बा’का अर्तीहरु बिर्सेर
एक हुल तालु खुइलेहरु–
चरित्र चित्रण गर्छन्
नयाँ प्रधानमन्त्रीको

हजारौँ पाईलाहरु
सरिरहेछन् निरन्तर
मानौ, कसैले खेलिरहेछ ‘पजल गेम’
छिटोछिटो

थरिथरिका आवाजहरु छन्
थरिथरिका अनुहारहरु छन्
न आवाज बुझिन्छ
न अनुहार चिनिन्छ
मानौ, राम्ररी च्यानल नटिपेको
कुनै एन्टिनावाला
‘ब्ल्याक एण्ड ह्वाईट’ टिभि हेरिरहेछु म
साँझपख बसन्तपुरमा

twitter: @kiran_ktm

यो कविता दोस्रो संबिधानसभाको चुनाब पछि लेखिएको हो । त्यतीबेला सुशील कोइराला भर्खरै प्रधानमन्त्री बनेका थिए । त्यस समयमा बसन्तपुरको आभा निकै भव्य थियो । त्यसको सुन्दरताको बारेमा यसै कवितामा पनि उल्लेख गरिएकै छ । तर, २०७२ बैशाख १२ को भुकम्प पछि बसन्तपुर उजाड बनेको छ । कविताले पाठकहरुलाई बसन्तपुरको त्यही भव्य समयको कल्पनामा फर्काउने छ, जुन समयमा कविता रचना गरिएको थियो ।

No comments:

Post a Comment