Pages

Saturday, August 8, 2015

हिरोशिमा र नागासाकीमा एटम बम बर्षदा

सोमबार, ६ अगस्त १९४५ ।

पश्चिम जापानको सुन्दर शहर हिरोशिमा । साढेँ तीनलाख जनतालाई आफ्नो छातीमा बोकेर यो शहर गरम तर स्वच्छ आकाशसहित बिहानैदेखि मुस्कुराईरहेको थियो ।

त्यहाँ छाइरहेको शान्तिलाई एक्कासी बिहान ७:०९ बजेको खतराको साइरनले भंग ग¥यो । आकाशमा मडराइरहेको अमेरिकी बमबर्षक विमान बी२९ ले कुनै पनि बेला बम बर्षा गर्न सक्ने सूचना जारी भयो । तर त्यो विमान आकाशमा चक्कर मारेर बम नखसालीकन उत्तीकै फक्र्यो । ७:३१ मा अब सब ठीकठाक छ भन्ने सूचना जारी भयो । गएको ६ महिनामा दिनदिनै र रातिसमेत यस्तो क्रम लगातार व्यहोरिहेका भयग्रस्त र अनिंदा हिरोशिमाबासीहरु फेरि एकचोटि ढुक्क भए । बिहानको नास्ता गरेर उनीहरु आआफ्नो काममा लागे । साना बच्चाहरु खेल्न थाले । सडकमा मान्छेहरुको आवत–जावत बढ्न थाल्यो । ट्राममा भीड बढ्न थाल्यो । 

तर घण्टाभरमै त्यो विमान फेरि हिरोशिमाको स्वच्छ प्रभातकालीन नीलो आकाशमा चक्कर मार्न थाल्यो । तर यसपटक विमान एउटा मात्र थिएन, तीन तीनवटा थियो । ठीक ८:१५ बजे ‘एलोना गे’ नामको त्यो विमानबाट एउटा पाराशूट फुत्त तल खस्यो । खेलिरहेका बच्चाहरुले आकाशका त्यो दृश्य देखे र कराए ‘हेर, हेर पाराशूट ! पाराशूट !’ तल खसिरहेको पाराशूटमा लाम्चो गोलो कुनै बस्तु झुण्डिरहेको प्रष्टै देखिन्थ्यो । तर जापानीहरुलाई के थाहा त्यो सानो वस्तुले लाखौं जापानीहरुको मृत्यु असह्य वेदनाको बीउलाई आफ्नो गर्भमा बोकेको छ भनेर ? मान्छेला्रई थाहै थिएन– त्यो दुनियाँको सबैभन्दा पहिलो एटम बम थियो भनेर ।  

विमानबाट पाराशूटमा खसालिएको ‘लिटिल ब्वाय’ नाम गरेको त्यो आणविक बम लक्ष्य गरिएको आइवोइ पुलमा खसेन, त्यसको झण्डै दुई सय गज पर शिमा अस्पतालको आँगनको ५८० मिटरमाथि बीच आकाशमै भयानक जोडसित पड्कियो । सारै ठूलो आवाजले गर्दा मान्छेहरु त्यसको स्वर नै सुन्न समर्थ भएनन् । हिराहिमाबासीहरुले एक्कासी दुई तीन सेकेण्डसम्म सैयौं सूर्य किरण बराबरको नीलो सेतो प्रकाश आँखा नै चकाचौंध हुने गरी झिलिक्क बलेको महसुस गरे । तुरुन्तै त्यो बिष्फोटबाट चारैतिर यति चर्को ताप फिँजिन थाल्यो, मानौं, आकाशको सूर्य पिण्ड नै पृथ्वीमा झरेको छ ।

एटम बम बिष्फोट भएको ठाउँको ठीक मुन्तिरको जमिनमा पाँच सय गज वरिपरि अहिलेसम्म नदेखिएको सारै अचम्मको दृश्यहरु देखियो । त्यहाँ सबैथोक तुरुन्तै डढेर भष्म भए । जिउँदा मान्छेहरु अत्याधिक तापले गर्दा बाफ र धुँवामा परिणत भए । किनभने त्यहाँको तापक्रम चढ्यो तीन हजारदेखि चारहजार डिग्री सेण्टीग्रेडसम्म । बिष्फोट बिन्दुको डेढ किलोमिटर वरपरको तापक्रम नै ५४० डिग्रीभन्दा माथि पुग्यो । दुई माइलभित्र परेका सबै घरहरु तुरुन्तै भत्किए र तिनीहरुमा आगलागी फैलियो । तुरुन्तै जमीनबाट बाक्लो बादलको धुँवाको मुस्लो माथि आकाशमा चालिस हजार फीटमाथिसम्म च्याउको आकारमा उम्लियो । विष्फोटको लगत्तै अपूर्व तापको लहर चारैतिर फिँजियो । आधा माइलभित्रका सबै मान्छेहरु रेडियो विकिरण र अत्याधिक तापले गर्दा तुरुन्तै मरे ।


जो तुरुन्तै मरे ती भाग्यमानी ठहरिए । सबैभन्दा दर्दनाक बिजोग त बिष्फोट केन्द्रबाट केही पर हुनेहरुको भयो, खासगरी दश वर्गकिलोमिटर परसम्म रहनेहरुको । त्यहाँ हजारौँ मान्छेको अनुहार विकिरणयुक्त ताप लहरले गर्दा कुरुप हुने गरी डढ्यो । केही मान्छेहरु, जसले बम बिष्फोटलाई नांगो आँखाले हेरे, उनीहरुका आँखाका गेडीहरु नै पग्लिएर झरे । असंख्य मानिसका जिउभरिका छाला डढेर आलुका बोक्रा झैं उप्किए र शरीरमा तन्द्रंग झुण्डिए । सबैजसो घरका शिशाहरु चकनाचुर भएर फुटे । धेरै मान्छेको शरीरमा फुटेका धारिला शिशाका टुक्राहरु गढेर घाउ हुने र नसाहरु फुटेर रगतको फोहोरा छुट्ने स्थिति भयो । चर्को तापले मान्छेका लुगाहरु तुरुन्तै खरानी हुने र मान्छेहरु नांगै हुन जाने स्थिति सर्वत्र देखाप¥यो । शरीरका रौं र यौनांग डढ्नाले व्यक्ति लोग्नेमान्छे हो कि स्वास्नीमान्छे भनेर छुट्याउन गाह्रो हुने स्थिति यत्रतत्र देखाप¥यो । 

७६ हजार घरहरु भएको हिरोहिमा शहरमा खाली ६ हजार घरमात्र सग्लो बँचे । अठ्चालिस हजार घरहरु त पूरै पाताल भए । सबैभन्दा कन्तबिजोग त घर भत्किने र त्यसभित्र मान्छे च्यापिने, अनि त्यहाँबाट आगलागी पनि हुने घटनाबाट भयो । यसरी जिउँदै डढेर हज्जारौं हिरोशिमाबासीहरु स्वाहा भए । सिंगै हिरोशिमा शहर यसप्रकार इँटाभट्टाभित्रको आगोको सुरुङ झैं देखियो ।

जो यो आगोबाट बचेर निक्ले, ती मिजु, मिजु (जापानी भाषामा पानी, पानी) भन्दै बाटामा लाशै लाशमाथि कुल्चदै नदीखोलातिर हामफाले । अतिशय ताप र घाउले गर्दा शरीरमा पानीको मात्रा कम भएका हिरोशिमाबासीहरु नदीको पानीमा राहतको निम्ति डुबे । तर नदीको पानी पहले जस्तो चीसो र स्वच्छ थिएन । चर्को तापलहरले गर्दा नदीको पानी पनि भक्भकी उमालेको सरह थियो । घरहरु भत्केको र मरेका माछा र लाशहरुको थुप्रो लागेकाले गर्दा पानी निकै प्रदुषित थियो ।

अस्पताल र स्वास्थ्य उपचार केन्द्रहरुमा दशौं हजार घाइते थुप्रिए । तर अस्पताल र स्वास्थ्य केन्द्रहरु आफै भत्केर र आगो लागेर बिजोग स्थितिमा थिए । शहरका जम्मा १५० डाक्टरहरुमध्ये ६५ जना त एटम बम बिष्फोट हुनासाथ नै मरे । बाँकी धेरैजसो घाइते थिए । नर्सहरुमध्ये ९० प्रतिशत या त मरे, या केही पनि गर्न असमर्थ हुने गरी घाइते थिए । तथापि जो बाँचेका थिए, तिनीहरुले बहादुरीपूर्वक घाइते बिरामीहरुको उपचार गरे । तर यसपल्ट उपचारको लागि आएका सबैजसो घाइतेहरुको समस्या उनीहरुको निम्ति बिल्कुलै नौला र अचम्मको थियो । उनीहरु एटम बमले पैदा गरेको नाभिकीय ताप र रेडियो विकिरणको समस्याले गर्दा ग्रस्त विरामी थिए । यस्तो रोग उनीहरुले न पहिले कहिल्यै देखेका थिए, न सुनेका ।

एटम बमको आगोको पोलाइ र घाउले गर्दा आहत हिरोशिमाबासीहरुलाई थप समस्या चर्को आँधी भुमरी र कालो बर्षाले पा¥यो । अरु बमहरुमा देखा नपर्ने अचम्म र डर लाग्दो ‘शक वेभ’ ताप–लहर अणु बमको बिष्फोटमा देखा प¥यो । बम बिष्फोट हुने बित्तिकै बिष्फोट बिन्दुबाट पहिला प्रथम अति चर्को तापको लहर बाहिर प्रवाहित भयो । पहिले यो लहर भुमरीझैं चक्कर लाउँदै अघि बढ्यो । तर पछि फेरि फर्केर केन्द्रतर्फ नै आउन थाल्यो । यो भयानक ताप लहर यसरी अघि बढ्ने र पछि हट्ने प्रक्रियाले गर्दा एक किसिमको चक्रवात जस्तो डरलाग्दो आँधी–बेहरी सिर्जना ग¥यो । यने आँधीले बिष्फोट केन्द्रका करीब एक माइलभित्रका सबैजसो बडे बडे घरहरुलाई ढाल्यो । आँधीले आगोलाई शहरको चारैतिर फैलायो । तुरुन्तै अचम्मको मुसलधारे बर्षा हुन थाल्यो । यो बर्षा कालो र चिप्लो थियो । पानीको थोपाहरु सारै नै चीसा थिए । यो बर्षा दुई घण्टासम्म भइरह्यो । यो रेडियो विकिरणले भरिभराउ अति चीसो बर्षाले हिरोशिमाबासीहरुको घाउलाई अरु बेसी चर्कायो, असंख्य घरबारविहिनहरुलाई ठिहि¥याएर समस्याग्रस्त पा¥यो ।

हिरोशिमा शहरमा अब ठूलठूला काला झिंगाहरु देखापरे । ती झिंगाहरुले छाला उप्केर भित्रको मासु समेत देखिएका हिरोशिमाबासीहरुको घाउ नै घाउले भरिएको शरीरमा फूल पार्ने प्रयत्न गरे ।

बम काण्डमा बचेका मिचिको वातानावे भन्छिन्– ‘घाइतेहरु यति कमजोर थिए कि उनीहरुसित आफ्नो शरीरमा लागेका काला झिंगाहरु धपाउने तागत समेत थिएन । केहीका शरीरमा त ब्लांकिटले छोपे झैं गरी काला झिंगा भन्किरहेका देखिन्थे ।’

एटम बम बिस्फोटको पहिलो दिन नै त्यहाँ लगभग एकलाख मान्छेको मृत्यु भयो । घाउ र विकिरणले गर्दा बर्षको अन्तसम्म मर्नेहरुको संख्या एक लाख चालिस हजार पुग्यो । एउटै बमले यति छिटो यति धेरै नागरिकहरु एकै चिहान भएको यो विश्वमै पहिलो घटना थियो । 

तर दोश्रो बिश्वयुद्धमा हिरोशिमा शहरलाई ध्वस्त पारेर मात्र अमेरिका सन्तुष्ट भएन । अमेरिका युद्धमा जापानलाई घुँडा टेकाउन अर्को शहरलाई पनि ध्वस्त पार्न तम्सियो ।

उसको दोस्रो निशाना थियो– हिरोशिमाकै नजिकैको कोकुरा शहर, जहाँ जापानको विशाल हतियार भण्डार थियो  । तर कोकुरामा ‘फ्याट म्यान’ नामक पहिलेभन्दा डबल बिष्फोटक क्षमता भएको अर्को एटम बम खसाल्न हिँडेको अमेरिकी बी२९ बमबर्षक विमानले घना बादल र कम तेलको कारणले त्यो बम त्यहाँ खसाल्न सकेन । त्यसपछि त्यस कामका लागि जिम्मेवार मेजर डब्ल्यू स्वीनेले निर्णय गरे– ‘अब दोस्रो होइन, तेस्रो निशाना– नागासाकीमा एटम बम खसाल्ने । ’

अगष्ट ९ ओ बिहान ११:०२ बजे पश्चिम जापानको नागासाकी शहरको ५०० मिटरमाथि बीच आकाशमा ‘फ्याट म्यान’ त्यत्तीकै भयानक तबरले पड्कियो । हिरोशिमामा जे जे भयो, ठीक त्यस्तै कुराहरु दुईलाख जनसङ्ख्या भएको नागासाकीमा पनि  कार्बनकपी झैं दोहोरिए । उस्तै निलो सेतो बिजुलीको आँखा नै अन्धो पार्ने झिल्का, उस्तै ताप लहर, उस्तै बिष्फोट, उत्तिकै रेडियो बिकिरण, उस्तै आगलागी र घरहरुको ध्वंश, उस्तै बाफ झैं उडेका मान्छेहरु, उस्तै आगोको पोलाईले छाला डढेका र उप्किएका डरलाग्दा भुतजस्ता मान्छेहरु ! त्यहाँ ७४ हजार नागरिकहरु एटम बमको प्रहारबाट तुरुन्तै लाशमा परिणत भए । शहरको एक तिहाई भाग क्षणभरमै ध्वस्त भयो । हिरोशिमामा रुखहरु ढलेका थिए, नागाशाकीमा तिनीहरु दुई चिरामा बदलिए । तर नागासाकीमा झन्डै दोब्बर शक्तिको बम बिष्फोट भएर पनि नोक्सानी चैँ हिरोशिमामा जति भएन । नागासाकी शहरको भौगलिक अवस्थितिको कारणले नै त्यहाँको ध्वंश पहिलेको भन्दा थोरै र सीमित भयो । एटम बम युरोकामी उपत्यकाको आकाशमा बिष्फोट भयो । सबैभन्दा बेसी नोक्सानी त्यही उपत्यकामा भयो, यद्यपि विकीरण दुई वटा उपत्यकामा फैलियो ।


नव युवा मासिकको पूर्णांक १४ मा प्रकाशित श्याम श्रेष्ठको ‘हिरोशिमा र नागासाकीमा बम बर्षंदाः लाखौं मान्छे जिउँदै डढे !’ भन्ने लेखको केही अंशहरु यहाँ प्रकाशित गरिएको हो । फोटोहरु गुगलबाट साभार गरिएका हुन् ।

No comments:

Post a Comment