Pages

Sunday, June 21, 2015

सोचको सौन्दर्य

 रोशन खड्का

सौन्दर्यको रंगमा चोपेर जीवनको बगैंचा 
अब आफू नजिकै राख्छु 
लहर लहर इन्द्रेणी 
जान्दछु 
टिपि गए ओइलाउंछ फूल पनि 
नटिपि सिउरिन्छु अब 
खुसीको परेलीमा 

सम्झन्न 
मुटुलाइ चरक चरक दुखाउने 
पर्खालजत्रै घाउहरू, 
दृश्यहरु पखाली झर्ने 
आंखाको अविरल पहिरो 
कहिल्यै सम्झन्न अब 
माया गर्छु भन्नेले 
माया गर्न छाडेको 
पहिलो र अन्तिमको एकै क्षण ' 
बुझेकै छु त ...... 
जिन्दगीको सर्बनाम 'दुख' हुंदै होइन 

गर्दिन हिसाब किताब 
 माथिङ्गलमा प्राप्तिमात्रको रगत उमालेर 
सोच्छु, बरू 
पाउनु-गुमाउनु 
चाहानु-तत्काल बहिस्कार गर्नु 
दुख्नु-फेरी कुत्कुतिनु , अनुभूति या क्षण के हुन ?
र हराउंछु प्रश्नहरूको अनकन्टरमा..... 
सांच्ची, 
जीवन र जीवनमा प्राप्त क्षणहरू कुन बढि प्रिय हुन्छ ?? 
एउटा सिंगो मान्छेको लागि.....

हेर्छु एक नासले चुहिरहने बलेसी 
र झरिपछिको बिश्राम 
अनि समझन्छु फेरि जीवन र मृत्युको सम्बन्ध 
केही बुझेझैं लाग्छ 
जीवन त नदीभन्दा ज्यादा झरि पो हो क्याहो
झरिपछि रोकिन्छ बलेसीको चुहावट...... 

त्यसैले हो कि ?
करोडौंको सवारीभन्दा हिंड्ने बाटो कता हो कता प्रिय लाग्छ.. 
म अब जीवनको बाटैबाटो हिंड्छु

No comments:

Post a Comment