किशोर दहाल
२०७० बैशाखदेखि २०७२ सालकाे सुरूवाती महिनासम्म मैले नुवाकाेटकाे एउटा सामुदायिक विद्यालयमा अध्यापन गरेँ । त्यहाँ रहँदा, म एउटा घरकाे बुइगल (तेस्राे तला) मा बस्थेँ । सुरूमा डेढ वर्ष ३ जना, पछिल्लाे तीन महिना २ जना र २०७२ साल बैशाखदेखि म एक्लै बस्न थालेकाे थिएँ । हामी सबै शिक्षकहरू नै बस्थ्याैं । तर, भुकम्प आउँदा म एक्लै थिएँ ।)
२०७२ वैशाख १२ गते शनिबार !
खाना खाइसकेर कपडा धुँदा बिहानको ११ जति बजिसकेको थियो । म बेडमाथि बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साेही पाठकाे परीक्षा (युनिट टेस्ट) लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा पनि हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।
म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला (बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले स्कूल छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यस दिनचाहिँ घरमा म एक्लै थिएँ । घरबेटीहरु नजिकैको अर्को घरमा बस्नुहुन्थ्यो ।
पहाडको घरहरु भुकम्पको दृष्टिकोणले निकै जोखिमपूर्ण हुनेगर्छ । म पहिलो पटक पहाड आउँदा नै घरको संरचना देखेर डराएको थिएँ । घरको संरचना र भुकम्प एकसाथ सम्झिंदा मेरो आङ सिरिङ्ग हुन्थ्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँरहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल उभ्याइएको मात्रै हुँदो रहेछ । कच्ची नै भए पनि हाम्रो तराइमा खाँबाे गाडेर घर बनाइन्छ । तुलनामत्मक रुपमा भूकम्पीय जोखिम पनि कम हुन्छ ।
प्रश्नपत्र हेर्दै गर्दा जस्ता बज्न थाल्यो । जस्ता लगाइएको घरमा सामान्य कम्पनमा पनि जस्ता बज्ने गर्छ । घाम तातिदैं र सेलाउँदै जाँदा नियमित बज्ने भएकाले अस्वभाविक लाग्दैनथ्यो । तर, यसपटक जस्ता अलि चर्कै गरि बज्न थाल्यो । सँगसँगै घर पनि हल्लिन थाल्याे । भुकम्प गइरहेको छ भनेर बुझ्न समय नै लागेन । नजिकै रहेको मोबाइल गोजीमा हालेँ ।