किशोर दहाल
२०७० बैशाखदेखि २०७२ सालकाे सुरूवाती महिनासम्म मैले नुवाकाेटकाे एउटा सामुदायिक विद्यालयमा अध्यापन गरेँ । त्यहाँ रहँदा, म एउटा घरकाे बुइगल (तेस्राे तला) मा बस्थेँ । सुरूमा डेढ वर्ष ३ जना, पछिल्लाे तीन महिना २ जना र २०७२ साल बैशाखदेखि म एक्लै बस्न थालेकाे थिएँ । हामी सबै शिक्षकहरू नै बस्थ्याैं । तर, भुकम्प आउँदा म एक्लै थिएँ ।)
२०७२ वैशाख १२ गते शनिबार !
खाना खाइसकेर कपडा धुँदा बिहानको ११ जति बजिसकेको थियो । म बेडमाथि बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साेही पाठकाे परीक्षा (युनिट टेस्ट) लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा पनि हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।
म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला (बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले स्कूल छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यस दिनचाहिँ घरमा म एक्लै थिएँ । घरबेटीहरु नजिकैको अर्को घरमा बस्नुहुन्थ्यो ।
पहाडको घरहरु भुकम्पको दृष्टिकोणले निकै जोखिमपूर्ण हुनेगर्छ । म पहिलो पटक पहाड आउँदा नै घरको संरचना देखेर डराएको थिएँ । घरको संरचना र भुकम्प एकसाथ सम्झिंदा मेरो आङ सिरिङ्ग हुन्थ्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँरहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल उभ्याइएको मात्रै हुँदो रहेछ । कच्ची नै भए पनि हाम्रो तराइमा खाँबाे गाडेर घर बनाइन्छ । तुलनामत्मक रुपमा भूकम्पीय जोखिम पनि कम हुन्छ ।
प्रश्नपत्र हेर्दै गर्दा जस्ता बज्न थाल्यो । जस्ता लगाइएको घरमा सामान्य कम्पनमा पनि जस्ता बज्ने गर्छ । घाम तातिदैं र सेलाउँदै जाँदा नियमित बज्ने भएकाले अस्वभाविक लाग्दैनथ्यो । तर, यसपटक जस्ता अलि चर्कै गरि बज्न थाल्यो । सँगसँगै घर पनि हल्लिन थाल्याे । भुकम्प गइरहेको छ भनेर बुझ्न समय नै लागेन । नजिकै रहेको मोबाइल गोजीमा हालेँ ।
खाटमाथिबाट हतारहतार झरेर खाटमुनि लुक्न खोजेँ । भुकम्पबाट हुनसक्ने मानविय क्षतिलाई न्युनिकरण गर्ने यो एउटा ब्राण्डेड तरिका थियो । हामीले त्यही सिकेका थियौं, सिकाएका थियौं ।
मैले पूरै शरीर खाटमुनि छिराइनँ । सम्भव भयो भने भाग्नुपर्छ भन्ने सोच पनि थियो । त्यसैले टाउकोलाई खाटको बाहिरपट्टि र शरीरलाई भित्रपट्टि पारेर बसें ।
घर हल्लिरहेकै थियो । डर बढ्दै गएको थियो ।
म बसेको घर ढुङ्गा र माटोले बनेको हो भन्ने सम्झिने बित्तिकै मेरो डर झनै बढेर आयो । झन्, म बुइगलमा थिएँ । डर झन्झन् बढ्दै थियो । मलाई हतारहतार भर्याङबाट झर्ने विचार नआएको होइन । तर, विचार गर्दा नगर्दै भित्तोको ढुङ्गाहरु खस्न थालिहाले ।
म बस्ने गरेको तेस्राे तलामा पुग्न ढाेकाकाे रूपमा घाेप्टे प्रयोग हुन्थ्यो । घरै हल्लिन थालेपछि जस्ताबाट बनाइएकाे र ठड्याएर राखिएको घाेप्टे आफैं खस्याे र ढोका बन्द भयाे । अब मैले चाहेर पनि भर्याङ्गबाट झर्ने स्थिति रहेन । किनकि भर्याङ्ग छेउकै चुप्पा (छानाको सबैभन्दा माथिल्लो भाग बनाउने उद्देश्यले बनाइने उल्टो V आकारको पर्खाल) बाट ढुङ्गाहरु खसिरहेको थियो । र ढुंगाहरु ढाेप्टेमाथि थुप्रिन थालेकाे थियाे । टाउको त्यतै फर्किएकाले मैले ढुंगा खसेर घोप्टे पुरिएको देखिरहेको थिएँ।
मैले अगाडि हेर्दाहेर्दै मेरो खाट जाेडिएकाे पछाडिकाे भित्तो र चुप्पा पनि खस्न थालिसकेछ ।
म सुत्ने खाटमा खासमा दुईवटा खाट जोडिएको थियो । त्यसमध्ये भित्तापट्टिको खाटमा किताबहरु राख्ने गरिएको थियो भने छेउतिरको खाटमा सुत्ने गर्थेँ । खाटमा ढुङ्गाहरु खस्न थाले । मेरो ढाडले खाटमा छोइरहेकाले खाटमाथि बढ्दै गएको ढुङ्गाको दबाब पनि महसुस हुँदै थियो।
सहयोगको लागि कराउने शब्दै निस्केन । खस्दै गएको ढुङ्गाहरु हेर्नु र त्यसले आफूलाई नलागोस् भनेर सचेत रहनुबाहेक अरु के नै उपाय थियो र ? संकटको बेलामा दिमाग पनि शून्य हुँदोरहेछ ।
भूकम्पको कम्पन कम भएको महसुस भएपछि म झ्यालतर्फ अघि बढें । झ्याल साँघुरो भए पनि म त्यसबाट बाहिर निस्कने प्रयास गर्न थालें । हतार हतारामा मैले आफूलाई सन्तुलित राख्न सकिनँ । म झ्यालबाट खसेँ र पालीमा पछारिएँ । पालीमा गुल्टिदैं जमिनमा पछारिएँ, जहाँ पालीमा बाँधिएकाे भैंसीकाे मल फाल्ने गरिन्थ्याे ।
म त सुरक्षित भएँ । भुकम्पको धक्काहरु महसुस भइरहेकै थियो । बीरगञ्जतिर बस्नुहुने बुबाको फोन आयो । म सुरक्षित भएको जानकारी गराएँ ।
आफुले भने कसैलाई फोन गर्न सकिनँ । नमस्तेको सिमकार्डमा राती नै ब्यालेन्स सकेको थिएँ । राति नमस्तेको सिममा ब्यालेन्स सकिएर नेट चल्न छोडेपछि मात्र म सुतेको थिएँ । एनसेलको ब्यालेन्स बिहान सकेको थिएँ । बिहान एनसेलबाट नेट चलाउँदा चलाउँदै ब्यालेन्स सकिएपछि मात्रै म कपडा धुन निस्किएको थिएँ ।
अब फोन कुर्नुको विकल्प थिए । एनसेलको सिम भर्खरै चलाउन थालेको थिएँ । यसको धेरै सिस्टम र सुविधाबारे उत्ति जानकारी थिएन । एनसेलले ऋण दिन्छ भन्ने सुनेको थिएँ तर प्रोसेस थाहा थिएन ।
त्यसाे त ब्यालेन्स भएकै भए पनि फाेन लाग्ने अवस्था थिएन ।
भूकम्पको धक्का कम हुन थाले पछि म गाउँतिर निस्किएँ । नजिकै पाँचवटा घर भएको एउटा गाउँका सबै घरहरु सुतेका थिए । एकजना च्यापिएका रहेछन् । स्थानीयको सहयोगमा उनलाई उद्धार गरिएको थियो ।
पहाडको गाउँ भएकाले वरिपरिका गाउँको घरहरु लडेका देख्न सकिन्थ्यो । भुकम्पले क्षति पुर्याउँछ भन्ने थाहा थियो, तर यसरी गाउँ नै ध्वस्त बनाउन सक्छ र सबैलाई शोकमा डुबाउँछ भन्ने थाहा थिएन । म केही घरहरुतिर डुलेँ । सबै उस्तै थिए । बस्नलायक घर कुनै थिएनन् । भत्केका घर त भत्किनै हाले, चर्केका र फुटेका घरहरु झन् बढि जोखिमपूर्ण लाग्दथे । तिनीहरुले खतरा बढाइरहेका प्रतीत हुन्थे ।
हावा बेस्सरी चलेको थियो । धराप घरहरु लडाइदेला जस्तो।
कसैसँग सम्पर्क हुन सकिरहेको थिएन । काठमाण्डौंमा भाइ र ममी हुनुहुन्थ्यो । ममी काम विशेषले त्यही दिन नाइट काठमाडौं आइपुग्नुभएको थियो । सम्पर्क नभएकाले डर लागिरहेको थियो । मानिसहरु काठमाडौंमा करिब ५० हजार मर्न सक्ने अनुमान गरिरहेका थिए । त्यसकारण डर झनै बढिरहेको थियो । काठमाडौंको हाम्रो कोठा पिल्लर नहालेको पुरानो मोडलको थियो । डर बढाउन हरेक कारण बलियो भएर मुटुमा आक्रमण गरिरहेका थिए ।
दिन बित्दै गएपछि कलहरु आउन थाल्यो । सबै सकुसल भएको जानकारी पाएँ । मन अलि शान्त भयो ।
दिनभरिजसो भुकम्पको धक्का महसुस भइरह्यो । केही मानिसहरु पुरिएको सामान निकाल्न प्रयासरत थिए । जिर्ण घरभित्र पसेर सामान निकाल्ने जोखिम उनीहरु उठाइरहेका थिए ।
मेरो ल्यापटप कोठामा नै थियो । ल्यापटप राखेको खाटमाथि ढुङ्गाको थुप्रो लागेको थियो । अघिल्लो साल किनेको ल्यापटप जिउँदै छ कि मर्यो भन्नेसम्म थाहा थिएन । बुइँगलमा चढेर ढुङ्गा पन्छाएर ल्यापटप निकाल्ने आँट आइरहेको थिएन ।
भूकम्प लगभग रोकिएको महसुस भएपछि म बुइँगलमा चढेँ र ढुङ्गा खोतल्न थालें । खाटमाथि ढुङ्गाको ठूलो थुप्रो थियो । खाट बीचमा भाँचिएछ । ल्यापटप कहाँ छ भन्ने थाहा थिएन । केहीबेर ढुङ्गा पन्छाए पछि मैले ल्यापटप भेटेँ । ल्यापटपलाई मैले त्यसैकाे सानाे ब्यागभित्र राखेर अर्काे ठूलाे ब्यागले छाेपेर किताबमाथि राखेकाे रहेछु । त्यसकारण ढुङ्गाकाे ठक्करले प्रत्यक्ष असर गरेन । सायद खाट भाँचिएर पनि त्यसो हुन सम्भव भयो । जो होस्, ल्यापटप भाैतिक रूपमा ठीकै थियाे ।
घर त भत्किएको थियो । त्यहाँ बस्न सकिने अबस्था थिएन । केही सामान निकाले पनि बसोबासको दोश्रो विकल्प खोज्नैपर्थ्यो । पाँच जनाको निम्ति रात कटाउन पाल टाँङ्नुको विकल्प थिएन । अघिल्लो रातभर र शनिबार दिनभर हावा चलेको थियो । त्यसकारण त्यस रात पनि हावा चल्ने अनुमान थियो । त्रिपाल टाङ्दा पनि सुख पाइएला जस्तो लागेको थिएन । तर, विकल्प थिएन ।
No comments:
Post a Comment