Pages

Tuesday, May 25, 2021

कम्युनिस्टको 'कमरेड' बिर्सेर ओली किन भन्दैछन् 'केटा'?

किशोर दहाल

शनिबार, माघ ३, २०७७, २३:१३

काठमाडौं-

  • अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍या थिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छेभन्दा कुरा ठूला छन्। नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे। अब त्यो समस्याको समाधान भएको छ।
  • म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्नँ। हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन्। दौडी-दौडीकन गएर भोट मागेर ‘यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु’ भनेर, मन्त्री बनाएर, गरियो गरियो… एकदिन त पुक्क लात्तले हानेर भाग्यो। को भनेर यसो हेरेको त उही केटो।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका दुई भाषणका अंश हुन्, यी। पुस २४ गते धनगढीमा आयोजित सभा र माघ ३ गते काठमाडौंमा आयोजित नेकपाको प्रदेश १ सम्पर्क कमिटीको कार्यकर्ता भेलामा उनले दुई फरक नेताको आलोचना गर्दै ‘केटा’ शब्द प्रयोग गरे। नाम नलिए पनि सहजै बुझ्न सकिन्छ, पहिलो प्रसंग भीम रावल र दोस्रो प्रसंग योगेश भट्टराईसँग सम्बन्धित छ। रावल र भट्टराई नेकपाका स्थायी कमिटी सदस्य र पूर्व मन्त्रीहरू हुन्।

प्रधानमन्त्रीले ‘केटा’ भनेर होच्याएका दुई नेता र प्रधानमन्त्रीको उमेरमा पनि खासै ठूलो अन्तर छैन। ओली अहिले ६९ वर्ष पुगे। रावल र भट्टराई क्रमशः ६५ र ५४ वर्ष पुगे। पार्टी र आन्दोलनमा पुर्‍याएको योगदानको हिसाबले पनि दुवै नेता ओलीकै हाराहारीमा छन्।

सामान्यतया कम्युनिस्ट पार्टीमा सबैले सबैलाई ‘कमरेड’ भनेर सम्बोधन गर्छन्। ‘कमरेड’ शब्दले समानता बोध गराउने नेताहरू बताउँछन्। तर, ओलीलाई पार्टीभित्र उनी निकट र प्रशसंकले ‘बा’ भनेर सम्बोधन गर्छन्। सो सम्बोधनले उनी खुसी हुने गरेको नेताहरूको भनाइ पाइन्छ। उनी पनि सिमित बाहेकका नेतालाई कमरेड भन्दैनन्। सार्वजनिक रुपमा भाषण गर्दा सम्मान व्यक्त नगर्ने उनले पार्टी कमिटीको बैठकमा भने कतिपय नेतालाई ‘छौंडा’ जस्ता शब्द प्रयोग गर्ने गरेको एक नेता बताउँछन्।

‘पार्टीमा नेताहरूबीच हुने कमरेड सम्बोधनमा सबैभन्दा बढी केपी कमरेडले नै धावा बोलिरहनुभएको छ। र, उहाँले आफ्नै अभिव्यक्तिबाट आफैंलाई अत्यन्तै तुच्छ र तल्लो स्तरको नेताको रुपमा झारिरहनुभएको छ। त्यसमा मलाई अत्यन्तै चिन्ता छ। यत्रो लामो आन्दोलनबाट आएको नेता यसरी क्षयीकरण भइरहेको र गिर्दै गइरहेको देख्नु हाम्रो निम्ति पनि लज्जाको कुरा हो,' भट्टराईको प्रतिक्रिया छ।

आफूलाई ‘केटा’ भन्दै होच्याएकोमा रावलले ओलीका नाममा खुलापत्र नै लेखेर जवाफ फर्काएका थिए। 'तपाईं र मेरो उमेरमा करिब पाँच वर्षको मात्र फरक छ। केन्द्रीय कारागारमा २०३२ सालमा भेट हुँदा तपाईं प्रवेशिका परीक्षा उत्तीर्ण गरेको २३ वर्षको ‘केटो’ हुनुहुन्थ्यो भने म १९ वर्षको आई.ए.पूरा गर्नै लागेको ‘केटो’। तपाईंले २०२८ सालमा प्रवेशिका परीक्षा दिनुभयो भने मैले २०२९ सालमा। तपाईंले २०३२ सालको विद्यार्थी आन्दोलन र मसँगै केन्द्रीय कारागारमा बन्दी बनाइएका अन्य विद्यार्थीबारे थाहा नपाएर मलाई ‘बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर जेलमा ल्याएको’ भन्नुभएको होइन भन्ने मैले बुझेको छु', पुस २९ मा सार्वजनिक रावलको खुलापत्रमा भनिएको छ, 'तपाईंले एकातर्फ त्यसबेलाको विद्यार्थी आन्दोलनलाई र अर्कोतर्फ मलाई होच्याउने चेष्टा गर्नुभएको हो। तपाईंले २०६१/६२ को जनआन्दोलनलाई ‘बयलवाडा चढेर अमेरिका पुग्न सकिँदैन’ भनेर होच्याउन खोज्दैमा त्यो आन्दोलनलाई कुनै फरक नपरेझैं मलाई होच्याउन खोजेर केही फरक पर्दैन। तर पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो अग्लो पदमा पुग्नुभएका तपाईंले विद्यार्थी आन्दोलन सञ्चालन गर्दा पञ्चायती शासनद्वारा गिरफ्तार भई कारागारमा बन्दी तुल्याइएको मलाई ‘मैले राजनीति दिएको थिएँ’ भन्ने धृष्टता कसरी गर्नसक्नुभयो, आश्चर्य लागेको छ।'

रावलसँग ओलीको चित्त दुखाइ अहिले मात्रै होइन, पार्टी एक ढिक्का रहँदादेखि नै थियो। आफ्नै पार्टीको सरकार भए पनि रावलले प्रधानमन्त्री ओलीका कार्यशैली र निर्णयहरूमाथि पटकपटक आलोचना गर्दै आएका थिए। ओलीको ‘राष्ट्रवादी बेलुन’लाई उनैले नै पटकपटक प्वाल पार्ने गरेका थिए। प्रधानमन्त्रीले संसद्‌बाट पारित गराउन चाहेको एमसिसीलाई आम मानिससमक्ष बहसमा पुर्‍याउने काम उनैले गरेका थिए। आइफा अवार्ड, होली वाइन, रअ प्रमुख सामन्त गोयलसँगको भेट जस्ता कैयौं प्रसंग छन्, जसमा रावलको सक्रियताले ओलीलाई अप्ठ्यारो पारिरह्यो। रावल पार्टीभित्र पनि फरक समूहका नेता थिए। पार्टीको अनौपचारिक विभाजनपछि पनि उनी स्वाभाविक रुपमा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहतिर लागेका छन्। यी र यस्तै कारणले ओलीले उनलाई आफ्ना भाषणैपिच्छे झम्टिरहेको बुझ्न सकिन्छ। जसका लागि ओलीले आफ्नो कुण्ठा मात्रै होइन, तथ्यहीन समाचारको सहारा समेत लिएका छन्।

अर्का नेता भट्टराईलाई होच्याउने अभिव्यक्ति दिनुमा पनि चुनावअघिदेखिका प्रसंग जोडिन्छन्। २०७४ कात्तिक १९ गते भट्टराईको निर्वाचन क्षेत्र पुगेर ओलीले भाषण गरेका थिए- ‘बकाइदा मन्त्री भएर, मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको। जिताएर पठाउनुस्, मन्त्रीको बिल्ला भिराएर पठाउँछु।‘

तर पटकपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि भट्टराई मन्त्री बनाइएनन्। प्रत्येक पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा सामाजिक सञ्जालमा ओलीको सोही वाचाको चर्चा हुन्थ्यो। तर, ओलीले बेवास्ता गर्दै गएका थिए। बरु भट्टराईले आफ्नै सहयोद्धा रवीन्द्र अधिकारीको मृत्यु कुर्नुपर्‍यो। २०७५ फागुन १५ मा अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युपछि २०७६ साउन १६ गते भट्टराईले मन्त्री पदको सपथ लिएका थिए।

यसैलाई ओलीले गुनको रुपमा व्याख्या गर्ने र भट्टराईको तेजोबध गर्ने प्रयत्न गरेका छन्। तर भट्टराई भने आफ्नै पार्टीको उम्मेदवारको चुनाव प्रचारमा जानु पार्टी अध्यक्ष र प्रधानमन्त्रीको उम्मेदवारको दायित्व नै रहेको बताउँछन्। ‘उहाँ मेरो चुनाव क्षेत्रमा गएर मेरो पक्षमा बोल्नुभयो, पार्टीको पक्षमा बोल्नुभयो, त्यसलाई मैले ठीक ठान्छु। त्यसका निम्ति मैले उहाँलाई पटकपटक धन्यवाद पनि भनेकै छु। तर पार्टी अध्यक्ष र प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार हुनुको नाताले त्यो उहाँको दायित्व र जिम्मेवारीभित्रको कुरा हो,' भट्टराईले नेपाल लाइभसँग भने।

प्रतिनिधि सभा विघटनपछि गत पुस ५ गते भट्टराई सहितका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। जसलाई ओलीले ‘पुक्क लात्तले हानेर भाग्यो’ भनेर अर्थ्याएका छन्। उनको अभिव्यक्तिको अन्तर्यमा मन्त्री बनाइदिए बापत आफूलाई साथ नदिएर छाडेर हिँडेकोमा असन्तुष्टि देखिन्छ।

ओलीतिर सत्ता र शक्ति छँदाछँदै मन्त्री पद किन छाड्नुभयो त? गत पुस ७ गते नेपाल लाइभसँगको कुराकानीमा भट्टराईले जवाफ दिएका थिए- ‘अर्कोतिर, राजनीति थियो। विचार थियो। इथिक्स थियो। हामीले त्यसलाई छान्यौं।‘

आफूलाई गरेको केटो सम्बोधनप्रति भट्टराई खासै उत्तेजित सुनिएनन्। तर तीखो प्रतिक्रिया भने जनाए। 'उहाँले व्यक्तिहरूलाई जसरी सम्मान गर्नुहुन्न र ‘केटो’ भन्नुहुन्छ। त्यो उहाँको हिनताबोधको अभिव्यक्ति हो। उहाँमा ठूलो लघुताभाष छ। उहाँ मान्छेहरूलाई सम्मान गर्न जान्नुहुन्न। आदर गर्न जान्नुहुन्न', उनले भने, 'उहाँले मलाई केटो वा जेसुकै भने पनि म त्यही स्तरमा प्रतिवाद गर्न र जवाफ दिन चाहन्नँ। उहाँ मुलुकको वरिष्ठ नेता हो। त्यसकारण म उहाँलाई सम्मान गर्छु। उहाँले मलाई केटो भनेर वा होच्याएर मेरो कद घटेको छैन। बरु उहाँको यस्तो शैलीले उहाँकै व्यक्तित्व र उचाइलाई गम्भीर क्षयीकरणतर्फ लैजाँदै छ। उहाँलाई त्यसतर्फ ध्यान दिन म अनुरोध गर्छु।'

000

उहाँकै व्यक्तित्व र उचाइलाई गम्भीर क्षयीकरणतर्फ लैजाँदै छ : योगेश भट्टराई

आफ्नो पार्टीको उम्मेदवारको प्रचारमा जानु प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार र पार्टी अध्यक्षको जिम्मेवारी र दायित्व हो कि होइन? उहाँले मलाई विशेष गुन लगाउन जानुभएको हो कि पार्टीको प्रचार गर्न जानुभएको? उहाँ मेरो चुनाव क्षेत्रमा गएर मेरो पक्षमा बोल्नुभयो, पार्टीको पक्षमा बोल्नुभयो, त्यसलाई मैले ठीक ठान्छु। त्यसका निम्ति मैले उहाँलाई पटकपटक धन्यवाद पनि भनेकै छु। तर पार्टी अध्यक्ष  र प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार हुनुको नाताले त्यो उहाँको दायित्व र जिम्मेवारीभित्रको कुरा हो। यदि देशभरीबाट पार्टीका उम्मेदवारले जितेर नआएका भए उहाँ कसरी प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो? त्यसैले आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने दायित्व उहाँको हुन्थ्यो। त्यसैले स्वभाविक दायित्व अन्तर्गत उहाँ जानुभएको हो।

उहाँले व्यक्तिहरूलाई जसरी सम्मान गर्नुहुन्न र ‘केटो’ भन्नुहुन्छ। त्यो उहाँको हिनताबोधको अभिव्यक्ति हो। उहाँमा ठूलो लघुताभाष छ। उहाँ मान्छेहरूलाई सम्मान गर्न जान्नुहुन्न। आदर गर्न जान्नुहुन्न। उहाँले मलाई केटो वा जेसुकै भने पनि म त्यही स्तरमा प्रतिवाद गर्न र जवाफ दिन चाहन्नँ। उहाँ मुलुकको वरिष्ठ नेता हो। त्यसकारण म उहाँलाई सम्मान गर्छु। उहाँले मलाई केटो भनेर वा होच्याएर मेरो कद घटेको छैन। बरु उहाँको यस्तो शैलीले उहाँकै व्यक्तित्व र उचाइलाई गम्भीर क्षयीकरणतर्फ लैजाँदै छ। उहाँलाई त्यसतर्फ ध्यान दिन म अनुरोध गर्छु।

उहाँले पैताला टेक्दैमा सबै ठाउँमा जित्ने भएको भए वामदेव गौतम गौतम किन हार्नुभयो? त्यहाँ पनि उहाँ चुनाव प्रचारमा जानुभएकै थियो। उहाँले प्रचार गर्दैमा जित्ने भए वामदेव गौतलाई हराएको जिम्मेवारी उहाँले लिनुपर्छ।

म उठेको चुनाव क्षेत्रमा २०४८ सालदेखि नेकपा एमालेले चुनाव हारेकै छैन। तर झापा त्यस्तो ठाउँ हो, जहाँ सबैभन्दा सुरक्षित भनेको ठाउँमा केपी ओलीले २०६४ सालमा चुनाव हार्नुभएको थियो। किन हार्नुभयो? त्यस्तो बहादुर नेताले जित्नुपर्थ्यो। यसपटकको चुनावमा पनि आफू हारिन्छ कि भनेर पार्टीको केन्द्रीय नीति नहुँदा नहुँदै राप्रपासँग झापामा चुनावी तालमेल गर्नुभयो। त्यो तालमेल उहाँको का लागिमात्रै थियो। म प्रधानमन्त्रीलाई भन्न चाहन्छु- दाग ऐनामा होइन, तपाईंको अनुहारमा छ। ऐना होइन, अनुसार पुच्छ्नुहोस्।

पार्टीमा नेताहरूबीच हुने ‘कमरेड’ सम्बोधनमा सबैभन्दा बढी केपी कमरेडले नै धावा बोलिरहनुभएको छ। र उहाँले आफ्नै अभिव्यक्तिबाट आफैंलाई अत्यन्तै तुच्छ र तल्लो स्तरको नेताको रुपमा झारिरहनुभएको छ। त्यसमा मलाई अत्यन्तै चिन्ता छ। यत्रो लामो आन्दोलनबाट आएको नेता यसरी क्षयीकरण भइरहेको र गिर्दै गइरहेको देख्नु हाम्रो निम्ति पनि लज्जाको कुरा हो।

000

यस्तो छ भीम रावलको खुलापत्र

प्रिय प्रधानमन्त्रीजी,

मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु। अहिले प्रधानमन्त्री पदमा हुनुभए पनि तपाईंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु। यो पत्र कुनै जाँगरका साथ लेख्न मन लागेर लेखेको होइन।

तपाईंले २०७७ साल पुस २४ गते धनगढीको एउटा आमसभामा प्रधानमन्त्रीको गरिमा र मर्यादालाई समेत ख्याल नगरी तथ्यहीन कुरा गर्नुभएकोले सत्य-तथ्यको स्मरण गराउन यो पत्र लेख्न बाध्य भएको छु। देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति गलत सूचनाको आधारमा बरालिँदा देश र जनताले दुःख पाउनसक्ने र स्वयं त्यस्तो महत्वपूर्ण पदको मर्यादा क्षतविक्षत हुनसक्ने स्थितिप्रति संवेदनशील हुनुपर्छ भन्ने मेरो आशय रहेको छ।

तपाईंसँग २०३२ सालमा केन्द्रीय कारागारमा पहिलो भेट भएदेखि पञ्चायती कालमा हाम्रो त्यति सघन भेटघाट हुन सकेन। तर २०४८ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि तत्कालीन नेकपा (एमाले) का सबै आरोह अवरोहमा हामी सँगै थियौं।

यस अवधिमा तपाईंले मलाई अवश्य पनि राम्ररी चिन्नुभयो होला। तपाईंलाई पनि मैले कम चिनेको छैन। त्यसबेलाका विभिन्न घटनाक्रम, परिदृश्य तथा तपाईंको व्यवहार र कार्यका विभिन्न पत्रहरू अहिले म खोल्न गइरहेको छैन। भविष्यमा आवश्यकता अनुसार त्यो गर्दै गरौंला। यहाँ म तपाईंले धनगढीमा गर्नुभएको भाषणको सन्दर्भमा मात्र सीमित हुन चाहन्छु।

तपाईंको हतासा र उत्तेजनापूर्ण भाषण मैले सुनें। तपाईंले मेरो स्मरण गर्नुभएछ। सुदूरपश्चिमको सभामा बोल्दा तपाईंले मेरो स्मरण गर्नुभएकोमा धन्यवाद। तपाईंले मेरो नाम नलिनु भए पनि मलाई भनेको भन्ने स्पष्ट बुझिनेगरी भन्नुभयो, “अछामको एउटा केटो बाटोमा हिँड्दाहिँड्दै पुलिसले समाएर जेलमा ल्याएर मैले राजनीति दिएको थिएँ। यस प्रदेशको विकासको समस्या ती मान्छे हुन्। अब यस प्रदेशको समस्या समाधान भएको छ। पिलो निचोरेर ओजन घट्दैन। दुईचार जना पिलो निचोरिएझैं भएका हुन्।”

तपाईंले यति भन्नुभएपछि मलाई सत्य–तथ्य खोल्न सजिलो भएको छ। तपाईं र मेरो उमेरमा करिब पाँच वर्षको मात्र फरक छ। केन्द्रीय कारागारमा २०३२ सालमा भेट हुँदा तपाईं प्रवेशिका परीक्षा उत्तीर्ण गरेको २३ वर्षको ‘केटो’ हुनुहुन्थ्यो भने म १९ वर्षको आई.ए.पूरा गर्नै लागेको ‘केटो’। तपाईंले २०२८ सालमा प्रवेशिका परीक्षा दिनुभयो भने मैले २०२९ सालमा। तपाईंले २०३२ सालको विद्यार्थी आन्दोलन र मसँगै केन्द्रीय कारागारमा बन्दी बनाइएका अन्य विद्यार्थीबारे थाहा नपाएर मलाई “बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर जेलमा ल्याएको” भन्नुभएको होइन भन्ने मैले बुझेको छु।

तपाईंले एकातर्फ त्यसबेलाको विद्यार्थी आन्दोलनलाई र अर्कोतर्फ मलाई होच्याउने चेष्टा गर्नुभएको हो। तपाईंले २०६१/६२ को जनआन्दोलनलाई “बयलवाडा चढेर अमेरिका पुग्नसकिँदैन” भनेर होच्याउन खोज्दैमा त्यो आन्दोलनलाई कुनै फरक नपरेझैं मलाई होच्याउन खोजेर केही फरक पर्दैन। तर पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो अग्लो पदमा पुग्नुभएका तपाईंले विद्यार्थी आन्दोलन सञ्चालन गर्दा पञ्चायती शासनद्वारा गिरफ्तार भई कारागारमा बन्दी तुल्याइएको मलाई “मैले राजनीति दिएको थिएँ” भन्ने धृष्टता कसरी गर्नसक्नुभयो, आश्चर्य लागेको छ।

कि तपाईंले कारागारमा मसँग भेट हुनुभन्दा पहिल्यै जेलबाट बाहिर आएर मलाई प्रशिक्षण दिएको सपना देख्नुभयो? तपाईसँग भेट हुनुअघि नै म क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा गिरफ्तार भएर कारागारमा बन्दी बनाइएको होइन र? तपाईंसँग त केन्द्रीय कारागारमा मेरो सामान्य परिचय मात्र भएको हो। राधाकृष्ण मैनालीको नेतृत्वमा रहेका झापालीहरूको मेसमा तपाईं हुनुहुन्न’थ्यो । उहाँहरूले तपाईंका कतिपय कुराहरू अवसरवादी देखिएकाले धेरै कुरा नगर्नु भन्नुभएकोले मैले तपाईसँग कुनै राजनीतिक कुरा नै गरिनँ। प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेर झूटा बोल्न किन नहिच्किचाउनु भएको?

सुदूरपश्चिमका साथै राष्ट्रियस्तरमा विगत ४७ वर्षदेखि कम्युनिस्ट पार्टीको विस्तारमा कटिबद्ध हुँदै गत आमनिर्वाचनमा तपाईंलाई प्रधानमन्त्री बन्नको लागि सुदूरपश्चिम प्रदेशबाट आवश्यक पर्ने स्थानमा पार्टीलाई विजयी गराउन समेत नेतृत्व गरेको मलाई “समस्या” भन्दै तपाईंले पार्टी फुटाएपछि “समस्या हटेको” भन्नुको तात्पर्य मैले बुझेको छु।

तपाईंका राष्ट्रहित, संविधान र पार्टीको सिद्धान्त, विधि र नीति विरोधी काम कुरालाई रोक्न मैले जुन भूमिका खेल्दै आएको थिएँ त्यसप्रति तपाईंको असीमित आक्रोश छ। अब तपाईंले अलगै पार्टी खोल्ने दुष्कर्म गर्नुभएपछि उक्त कामहरू ढुक्कसँग गर्नसकिने ठान्नुभएको होला। तर मजस्तै देशभक्त नेपालीहरू त्यस्ता गलत कामका विरुद्ध निरन्तर जुझिरहने छन्।

वस्तुतः देशको लागि सबभन्दा ठूलो “समस्या” तपाईं नै हुनुभएको कुरा अनेकौं तथ्य र घटनाक्रमले पुष्टि गरिसकेका छन् । केन्द्रीय कमिटीका हाल कायम ४३४ जनामध्ये झण्डै दुईतिहाइ सदस्यहरू तथा नेकपाका देशभरि रहनुभएका हजारौं नेता, कार्यकर्ता र सदस्यहरूलाई “पिलो”, “दुई/चार जना” र “केही केशहरू” भनेर तपाईंले आफ्नो फुटपरस्त, अलोकतान्त्रिक र पार्टीविरोधी दृष्टिकोण स्वयं उदांग गर्नुभएको छ।

तपाईंले मन्त्री पद दिने वा नदिने भन्ने कुरा व्यक्तिगत सम्पत्ति जस्तो ठान्ने दृष्टिकोणका साथ मलाई “मन्त्री बनाउन” नमानेकोले रिसाएको भनी कुप्रचार गर्नुभएको रहेछ। म तपाईंलाई सोध्न चाहन्छु- तपाईंसँग मैले कुन दिन, कुन मिति र कहाँ मन्त्री पदका लागि आग्रह गरें। मैले त तपाईंका गुटका मानिसहरूले मन्त्री हुनको लागि आग्रह गर्दा अस्वीकार गरिदिएको तपाईंलाई अवश्य जानकारी हुनुपर्छ।

नेपाली कांग्रेसका सभापति स्वयंले नेतृत्व गरेको प्रदेशबाट अत्यधिक मतका साथ चुनाव जिताउँदा त्यहाँबाट एकजना पनि मन्त्री नबनाएर सामान्य राजनीतिक नैतिकता र मान्यता नदेखाउने तपाईंले अहिले पार्टी फुटाउन मन्त्री पदको अस्त्र दुरुपयोग गर्दा “खुसी हुनुपर्ने” भनी कसरी अर्ति दिन सक्नुभयो? वनसम्बन्धी मुद्दा खेपेको व्यक्तिलाई वनमन्त्री बनाउने जस्तो अनैतिक काममाथि पर्दा हाल्न तपाईंले अरूतर्फ “सखुवाघारी फाँडेर वन सिध्याउने योजना तुहियो, पर्नु पिर पर्‍यो। सालघारी मासेर आफू सप्रिन खोज्ने तत्वहरूको बेग्लै मकसद र उद्देश्य छ।” भनी भ्रम सिर्जना गर्न खोज्नुभएको छ।

काठतस्करीमा मुद्दा खेपेकालाई वनमन्त्री बनाएर “सखुवाघारी फाँडेर वन सिध्याउने” र “सालघारी मासेर आफू सप्रिन खोज्ने” योजना तपाईं स्वयंको रहेको भनेर किन नभन्ने? भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरी भारतले नक्शा प्रकाशित गरेपछि देशभक्त नेपालीहरूको आवाजसँगै मैले पनि आवाज उठाएको थिएँ।

हाम्रो भूमि भारतले आफ्नो नक्सामा देखाएपछि त्यसको विरोध गर्नुका साथै नेपालले आफ्नो भूमि समावेश गरी नक्सा प्रकाशित गर्नुपर्छ भनी देशभक्त नेपालीहरू, संसदीय समितिहरू र मजस्ता जनप्रतिनिधिहरूले उठाएको आवाज तपाईंलाई मन नपरेर संसदभित्र र बाहिर कटाक्ष गर्नुभएको बिर्सनु त भएको छैन होला नि? पछि कोरोना महामारीको बीचमा भारतीय रक्षामन्त्रीले हाम्रो उक्त क्षेत्रमा सडककै उद्घाटन गरेपछि त्यसविरुद्ध तथा नेपालले आफ्नो नक्सा प्रकाशित गर्नुपर्छ भनी उठेको आवाज एवं पार्टीको निर्णय थेग्न नसकेपछि मात्र तपाई नक्सा प्रकाशित गर्न तयार हुनुभएको होइन र?

नक्सा त दबाबमा आएर प्रकाशित गर्न तपाईं तयार हुनुभयो तर सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता तथा नेपाली भूभागमा गरिएको अतिक्रमणको यथार्थ चित्रण गरी सरकारकै एक निकायले प्रकाशित गरेको पुस्तकमाथि प्रतिबन्ध लगाउने तपाईंको कार्यले के बुझाउँछ? साथै नेपालले नक्सा प्रकाशित गर्दा कुनै अर्को देशको “उक्साहट” मा गरेको भनी नेपालको अपमान गर्नेलाई नै नेपालमा कु-समयमा आमन्त्रण गरी सम्मान गर्न लगाउने तपाईं नै होइन र? यस्तो सत्य–तथ्यमाथि पर्दा हाल्न तपाईंले धनगढीमा गएर “नक्सा प्रकाशित गरेकोमा उखरमाउलो” गरिएको भनी भ्रम फिंजाउने व्यर्थको प्रयास गर्नुभएको छ।

तपाईंले आफ्नो भाषणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत पक्षलाई “भगौडा” भन्दै त्यस्ताका पछि नलाग्न पनि भन्नुभएको रहेछ । यसबारे पनि संक्षेपमा चर्चा गरेर तपाईंलाई यथार्थको सम्झना गराउनु सामयिक हुन्छ। झापा जिल्लामा रामनाथ दाहाल पक्राउ पर्नुभएपछि तपाईं २०२९ साल कार्तिकमा भागेर मोरङमा केही समय माधव कुमार नेपालको डेरामा बसी त्यहाँबाट भागेर भारतको गोरखपुर हुँदै नैनिताल गई तीन महिना उखु गोडेर बस्नुभएको हो कि होइन? त्यहाँबाट फेरि तपाईं रौतहट आएका बेला गिरफ्तार हुनुभएको हो कि होइन? तत्कालीन नेकपा एमालेमा तपाईंले निरन्तर गुटबन्दी गरेर पार्टीको विधिबाट भाग्ने प्रवृत्ति देखाउनु भएको हो कि होइन?

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीच एकीकरणका बखत तपाईं स्वयंले हस्ताक्षर र सहमति गर्नुभएका घोषणा, सम्झौताबाट तथा त्यसपछि पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक पार्टी विधान अनुरुप बस्न नमानेर तपाईं भाग्नुभएको हो कि होइन? जनताले पाँच वर्षका लागि जनमत दिएको प्रतिनिधि सभा भंग गरेर तपाईं संसदबाट भाग्नु भएको हो कि होइन?

सात दशक लामो कठोर संघर्ष र ठूलो बलिदान पश्चात् कम्युनिस्ट पार्टीले हासिल गरेको उपलब्धिको सदुपयोग र रक्षा गर्ने कामबाट भाग्दै तपाईंले पार्टी विभाजन जस्तो अत्यन्त विश्वासघाती काम गर्नुभएको हो कि होइन? यसरी भाग्नेलाई नै विवेकशील मानिसहरूले “भगौडा” भन्ने गर्छन्, होइन र? उत्तेजना, आवेश र अमर्यादित शब्दजालले होइन, तथ्यगत किसिमले जवाफ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

तपाईंले धनगढीमा वन मुद्दा लागेका वनमन्त्रीमार्फत मलाई “पागल” भन्ने जस्तो निकृष्ट शब्दका साथ गालीगलौज गर्न लगाउनु भएको पनि मैले देखें। यसस्तरमा झरेर देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामा मन्त्रीले गालीलौज गर्नु विक्षिप्त, हतास र उदण्ड मनस्थिति र चरित्रको द्योतक हो भन्नेमा कसैको दुई मत हुनै सक्दैन।

देशका लागि यो राम्रो लक्षण होइन। राज्य चलाउनेहरूमा देखिने यस्तो विक्षिप्त मानसिकताको समयमै राम्ररी चिकित्सकीय परीक्षण गराई निदान र उपचार गराउनु सम्बन्धित व्यक्ति र सरकारको स्वास्थ्यको लागि एवं देशका लागि हितकर हुन्छ, होइन र? किनकि सनकी, विवेकहीन र उदण्ड मानिसहरूको हातमा राज्य सञ्चालनको जिम्मेवारी जाँदा राष्ट्रियता, लोकतन्त्र र जनताको भविष्य नै खतरामा पर्न सक्छ।

तपाईं विभिन्न कार्यक्रममा जस्ता शब्द, शब्दावली र भावभंगीका साथ आफ्नो प्रतिरक्षा गर्न बल गरिरहनुभएको छ त्यसका लागि तपाईंलाई पर्याप्त समय आवश्यक पर्ने भएकोले अहिले धेरै लामो पत्र नलेख्नुहोला। तपाईंका अभिव्यक्ति अनुरूप थप कुरा लेख्दै गरौंला। झण्डै एकवर्ष बढी समयदेखि सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीमा बसेर काम गर्नुभएको छैन, स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला। सुस्वास्थ्यको कामना सहित !

धन्यवाद ।

भीम रावल

सदस्य, स्थायी कमिटी

इञ्चार्ज, सुदूरपश्चिम प्रदेश कमिटी

मितिः २०७७।९।२८

नेपाल लाइभमा प्रकाशित। https://nepallive.com/story/236756 

No comments:

Post a Comment