Pages

Wednesday, May 26, 2021

नागरिकको प्रश्न नेतालाई- ओली किन अझै प्रधानमन्त्री?

किशोर दहाल

शनिबार, चैत १४, २०७७, २१:५६

काठमाडौं- 'पुनःस्थापित भएपछि संसद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कठालो समातेर निकाल्छ भन्ने हाम्रो अपेक्षा थियो। तर आज पनि प्रधानमन्त्री को छ भन्दा उनकै नाम लिन हामी बाध्य छौं। यत्रो ठूलो आन्दोलन गरेर एउटा जुन हौसला र विजयोत्सव हुनुपर्थ्यो। मुलुकले एउटा गति लिनुपर्थ्यो। आज हामी विश्मयमा छौं, के भएको यो भनेर बुझ्न सकिएन', शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित 'नागरिक सभा'को उठान गर्दै राजनीतिशास्त्री कृष्ण खनालले सहभागी अतिथितर्फ लक्षित गर्दै सुनाए। करिब २ घण्टा चलेको सो सभा यिनै बाध्यता र विश्मयको पोको खुलाउने प्रयत्नमा बित्यो।

नागरिकका तर्फबाट कृष्ण खनाल र दोभान राईका तीखा प्रश्नको सामना गर्न आइपुगेका थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल। तुलनात्मक रुपमा खुलेर बोलेका सहभागीहरुले ओलीलाई कायम राखिएको समर्थनदेखि नयाँ सत्ता समीकरणको जटिलतासम्मलाई सम्बोधन गरेका थिए। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि अन्योलपूर्ण राजनीतिक दिनहरु बिताइरहेका नेता नेपालले आफ्नो निरिहता व्यक्त गरे। उनले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमा पठाइदिएकोले आफूले बडो अप्ठ्यारो महसुस गरिरहेको बताए। 'सर्वोच्चको फैसला छ- पुरानो ठाउँमा फर्क', उनले भने, 'हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं। तर बिडम्बना छ, यहाँ भन्न पनि मलाई गाह्रो छ। पार्टीभिको कुरा डबलीमा आएर भन्यो भन्ने अर्को आरोप लाग्ला। कुन दिन मलाई त्यहाँबाट पनि घोक्र्याएर निकालिदिने स्थिति बन्ला।'

नेता नेपाललाई राजनीतिशास्त्री खनालले प्रश्न तेर्स्याए- आवश्यक पर्दा संसद्‌मा 'फ्लोर क्रस' गर्नुहुन्छ कि हुन्न? नेपालले प्रष्ट जवाफ फर्काउन सकेनन्- 'यस्तो कुरा यहाँ सोधेर मलाई अप्ठ्यारोमा नपार्नुस् न।'

खनालले सुरुमै विपक्षी दल र नेताहरुसँग 'दोस्रो योजना'बारे जिज्ञासा राखिरहेका थिए। नेता नेपालले त्यसको प्रष्ट जवाफ दिएनन्। त्यसलाई स्पष्ट रुपमा जवाफ दिए, प्रचण्डले। 'हामीले सोच्यौं, संसद् पुनःस्थापना भएपछि स्वतः नै राजीनामा दिनुपर्ने परिस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ। संसद् पुनःस्थापना भएपछि सायद राजनीतिक नेतृत्वले थोरै रिल्याक्स गर्‍यौं', उनले भने, 'हामी दोस्रो योजनामा गम्भीर नभएकै हो। हामीले रिल्याक्स गर्‍यौं। गल्ती भयो। ओलीको कदम लोकतन्त्र र परिवर्तका विरुद्ध एउटा डिजाइनमा छ भनेर हामीले एकपछि अर्को तयारी गर्नुपर्थ्यो। त्यहाँ हामी थोरै चुकेकै हो।'

प्रचण्डले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने खुलाए। उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले आफूलाई हत्त न पत्त समर्थन फिर्ता नलिन जबर्जस्त दबाब दिएको  पनि खुलाए। 'समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ भन्ने छ', उनले भने, 'मैले भनिराखेको छु- नैतिक र राजनीतिक ढंगले म अब धैरै दिन पर्खिन सक्दिनँ। मैले जुन सरकारलाई प्रतिगामी भनेको छु। त्यसलाई मैले समर्थन गर्न सक्दिनँ। चाहे राजनीति जतासुकै जाओस्। मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्दछ। म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु।'

प्रचण्डले समर्थन फिर्ता लिनुअघि आफ्नो प्रयत्न परिवर्तित परिस्थितिमा प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गएका प्रमुख राजनीतिक दलहरुका बीचमा अबका निकासबारे एउटा न्यूनतम समझदारी र सहकार्य होस् भन्ने चाहेको बताए। 'अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर मात्रै समर्थनलाई एकदुई रोकेको मात्रै हो', उनले भने।

पछिल्लो राजनीतिक संकटलाई आफ्नो पक्षमा पार्नका लागि प्रधानमन्त्री ओलीले जसपासँग दुरी घटाएका छन्। त्यसैले पनि सो पार्टीका नेताहरुको बालुवाटार आऊजाऊ बाक्लिएको छ। जसले गर्दा प्रधानमन्त्री ओली र जसपाबीचको संवादलाई लिएर अनेक आशंका व्यक्त हुने गरेका छन्। त्यस्तै मध्येको एक हो, ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएमा जसपाले ओलीलाई नै सघाउँछ। त्यसैलाई लक्षित गर्दै खनालले ठाकुरलाई सोधे- 'विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई धकेलेपछि विश्वासको मत त तपाईंहरुले दिन सक्नुहुन्नँ नि!'

ठाकुरले प्रष्ट जवाफ दिएनन्। उनले त्यो कुरा त्यतिबेलै विचार गर्ने बताए। बरु उनले आफूहरु थारु र मधेसी भएकाले पीडा भोग्नुपरेको बताए। उनले कम्युनिस्ट पार्टीमा अहिले स्वार्थको लडाइँ भइरहेकाले त्यसमा आफूहरुलाई नमुछ्न आग्रह गरे। 'देशमा जब संकट आउँछ, अहिले संकट छ', ठाकुर अघि बढे, 'त्यसपछि हाम्रो जरुरत पर्छ। अरु बेलामा पर्दैन।'

ठाकुरले अहिलेसम्म ओलीसँग कुनै लिखित सम्झौता पनि नगरेको र वचन पनि नदिएको प्रष्ट पारे। ‘प्रधानमन्त्री भन्नुहुन्छ- म गर्न सक्ने जति गर्छु। त्यसो भए गरेर देखाउनुस्’, उनले भने।

विश्वासको मतको विषयमा खनाल कांग्रेस नेता रिजालबाट पनि प्रष्ट हुने चाहे। उनले सोधे- 'के कांग्रेसले ओलीलाई विश्वासको मत दिनसक्छ?' 'हामी दिन सक्दैनौं', रिजाल पनि प्रष्ट सुनिए।

रिजालले ओली कसरी सत्ता लम्ब्याउने प्रयासमा छन् भन्ने पनि खुलाउन खोजे। उनको भनाइको सार थियो- प्रधानमन्त्रीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भइराख्न मन छैन। उनी उहाँलाई ७६ (३) वा ७६ (५) मा पुग्ने हतार छ। ७६ (५) अनुसार प्रधानमन्त्री बन्न नसक्ने र ७६ (३) अनुसारकै प्रधानमन्त्रीले ७६ (७) को अधिकार प्रयोग गर्न पाइयोस्। त्यतातिर मुलुकको राजनीति जाओस् भन्ने चाहनुभएको छ।

'आजको दिनमा ओलीसँग प्राविधिक र राजनीतिक रुपमा संसद्को बहुमत पनि छैन। ओलीको विपक्षमा पनि प्राविधिक रुपमा बहुमत छैन। राजनीतिक रुपमा बहुमत भए पनि प्राविधिक रुपमा छैन। त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ', रिजालले भने।

प्रचण्डले सहकार्यका लागि महन्थलाई पटकपटक आग्रह गरे। 'हामी पीडित हौं। पीडित-पीडित मिल्ने हो। पीडितहरुको मोर्चा बनाउने हो र लडाइँ जित्ने हो', उनले भने।

उनले नेपालमा मधेसको अधिकार पहिचान विरोधी प्रवृत्तिको रुपमा नेपालमा केपी ओली प्रवृत्ति स्थापित भएको ठाकुरलाई स्मरण गराए। 'तपाईं नै सरकार बनाउनुस् र समस्या हल गर्नुस् न मिलेर। आजको भोलि, एक हप्ताभित्र हाम्रो सरकार बन्छ, महन्थजी। तपाईं हामी मिलेर सरकार बनाऔं, किन ओलीकहाँ धाउनुहुन्छ?', प्रचण्डले ठाकुरलाई भने।

ठाकुरले प्रचण्डको प्रस्तावको जवाफ दिएनन्। बरु केही अघि नै उनले भनेका थिए- 'तपाईंको पीडा र हाम्रो पीडा अलगअलग छ। तपाईंहरुको पीडा सत्ताका लागि हुनसक्छ। हाम्रो त्यो छैन।'

 

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/242163 

No comments:

Post a Comment