किशोर दहाल | २०७६ माघ २० सोमबार | Monday, February 03, 2020 ११:३५:०० मा प्रकाशित
काठमाडौं- तत्कालीन एमाले र माओवादी केन्द्रले नियमित रुपमा आफ्नो महाधिवेशन गर्ने हो भने उनीहरुले क्रमशः दसौं र आठौं महाधिवेशन गर्ने थिए। एमालले २०७१ असारमा नवौं र माओवादीले २०६९ माघमा सातौं महाधिवेशन गरेका थिए।
दुवै पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि उनीहरुले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशनको क्रमसंख्या कति हुन्छ? २०७६ माघ १५-१९ मा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा यो विषय उठे पनि निर्णय भने भएन।
संसद भित्र र बाहिर गरी झन्डै आधा दर्जन कम्युनिस्ट पार्टीले आफ्नो सक्रियता देखाइरहेका छन्। तर, सबैको महाधिवेशन क्रमसंख्या भने फरकफरक छ। यस्तो किन भयो त?
खासमा, पञ्चायतकालमा भएको पार्टी विभाजन, त्यसपछि एकता र नयाँ गठनबाट बनेका पार्टीहरुको अनेकथरि महाधिवेशनले अहिलेको कम्युनिस्ट पार्टीको महाधिवेशन क्रमसंख्या फरकफरक भएको हो। यो सामाग्रीमा हामी मुख्यगरी नेकपामा नाममा एकीकृत भएका कम्युनिस्ट आन्दोलनका दुई धार तत्कालीन एमाले र माओवादी केन्द्रको महाधिवेशनको क्रमलाई विस्तृतमा र अन्य कम्युनिस्ट घटकका महाधिवेशनलाई संक्षेपमा चर्चा गर्नेछौं।
० ० ०
पुष्पलालको नेतृत्वमा विस २००६ मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो। तर, दुई वर्षपछि नै यो पार्टी प्रतिबन्धमा पर्यो। २००८ माघ ८ मा बन्दी अवस्थामा रहेका डा केआइ सिंहले सिंहदरबार 'कब्जा' गरेपछि त्यसमा कम्युनिस्ट पार्टीको पनि सम्बद्धताको आशंकामा तत्कालीन मातृका कोइराला सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध ५ वर्ष कायम रह्यो। राजा महेन्द्रको राज्याभिषेकको मुखमा पार्टीले संघर्ष गर्ने बताएपछि २०१३ बैशाख ४ मा प्रतिबन्ध फुकुवा भयो।
पार्टी प्रतिबन्धित रहेकै अवस्थामा २०१० माघमा पाटनमा भूमिगत अवस्थामा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। महामन्त्रीको हैसियतले मनमोहन अधिकारीले 'केन्द्रीय कमिटीको रिपोर्ट' भन्ने राजनीतिक प्रतिवेदन र 'नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम' भन्ने पार्टी कार्यक्रम प्रस्तुत गरे। दुवै एक मतले पारित भए।
महाधिवेशनले अधिकारीलाई नै महासचिव बनाउँदै १३ सदस्यको केन्द्रीय कमिटी गठन गर्यो। महाधिवेशनले तुल्सीलाललाई गुटबन्दी गरेको र डिपी अधिकारीलाई गलत तत्त्वलाई पार्टीमा घुसाएको आरोपमा ६ महिनाको लागि सदस्यबाट निलम्बन गर्यो।
चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन महासचिव अधिकारीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल त्यता गयो। अधिकारी त्यता जानुअघि कार्यवाहक महामन्त्री केशरजंग रायमाझीलाई बनाइएको थियो। रायमाझीलाई कार्यवाहक महासचिव बनाउने क्रममा विवाद भएको थियो। आफू संस्थापक महासचिव भएका कारण चीन जान पाउनुपर्ने अडान पूरा नभएपछि पुष्पलाल आक्रोशित भएका थिए। फलस्वरुप उनी कार्यवाहक महासचिव बन्न पनि चाहेनन्। जसका कारण, रायमाझीले अवसर पाएका थिए। जो पोलिटब्युरोको कनिष्ठ सदस्य थिए।
त्यसैक्रममा पार्टीभित्र दुई लाइन संघर्ष देखा पर्न थाल्यो। एउटा धारको नेतृत्व रायमाझी र अर्कोको पुष्पलालले गरे।
चीन गएका अधिकारी उपचारका लागि लामो समय उतै रहे। २०१४ जेठ १५-२५ मा काठमाडौंको फोहोर दरबारमा खुला रुपमै दोस्रो महाधिवेशन भयो। यता महाधिवेशन हुँदै गर्दा महासचिव अधिकारी भने चीनमै थिए।
महाधिवेशनको झन्डोत्तलन पुष्पलालले गरे। उद्घाटन भने रायमाझीले गरे।
महाधिवेशनअघि कार्यवाहक महामन्त्री भएका रायमाझीले आफूलाई थप शक्तिशाली बनाउँदै लगेका थिए। उनले एक किसिमले पार्टी नै कब्जा गरेका थिए।
यसको परिणाम दोस्रो महाधिवेशनमा देखियो। चुनावमार्फत रायमाझी महासचिव चुनिए। यो महाधिवेशनको रोचक पक्ष के छ भने अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भयो तर नेतृत्वमा भने बहुमतबाट रायमाझी चुनिए। नेतृत्वको लागि भएको मतदानमा उनले १७ मध्ये १२ मत पाएका थिए। पुष्पलालले ५ मत मात्रै पाए। अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन।
यसैबीच पञ्चायत सुरु भयो। चीनबाट उपचार गरी फर्किएका अधिकारी लगायत यहाका धेरै नेताहरु जेलमा परे।
पार्टी प्रमुख रायमाझीले मस्कोबाटै राजाको कदमको स्वागत गरिदिए। उनी पूर्णरुपमा राजावादी कम्युनिस्ट भइसकेका थिए।
अवस्था अप्ठ्यारो हुँदै गयो। पार्टी प्रतिबन्धित थियो। त्यसमाथि प्रभावशाली नेताहरु जेलमा पनि परेका थिए। जेलबाहिर र भित्रका नेताहरु बीच प्रभावकारी सम्पर्क हुन सकेको थिएन। पार्टीका सानातिना विवाद पनि ठूला देखिन थाले। अप्ठ्यारो परिस्थिति भएका कारण पार्टी कार्यनीति र रणनीतिमा पनि अलमल देखिन थाल्यो।
यहाँ जोड्न उचित हुनेछ, २०१७ फागुन-चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको तृतीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर दस्तावेज, प्रतिनिधित्व, स्थान, खर्च लगायतको विषयमा निर्णय नभएको भन्दै तोकिएको समयमा महाधिवेशन हुन सकेन। ०१७ पुषमा सुरु भएको पञ्चायती शासनमा पार्टीहरु प्रतिबन्धित भएका कारण महाधिवेशन झन् कठिन बन्दै गयो। महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो। अल्पमतले आन्तरिक विधि पुर्याई बैशाख ४-१५, २०१९ मा भारतको बनारसमा बेग्लै 'तेस्रो महाधिवेशन' गरे।
दरभंगा विस्तारित बैठकले विभिन्न जोन (क्षेत्र) निर्धारित गरिएको थियो। ती जोनका प्रतिनिधिहरु सामेल भई २०१८ भदौमा अन्तरजोन समञ्जस्य समिति गठन गरियो। तेस्रो महाधिवेशन त्यही समितिले गरेको थियो।
महाधिवेशनमा जसमा समितिको तर्फबाट सचिव तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई पारित गरियो। साथै, ५१ सदस्यीय राष्ट्रिय परिषद् र ७ सदस्यीय सचिवालय (राजनीतिक समिति) गठन गरियो। महासचिवमा अमात्य चुनिए। सचिवालयमा पुष्पलाल, मनमोहन अधिकारी (जेल), हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा (जेल), मोहनविक्रम सिंह (जेल) र कमलराज रेग्मी रहे।
महाधिवेशनमा तत्कालिक कार्यक्रमका विषयमा मुख्य विवाद थियो। अमात्यले संप्रभुता सम्पन्न संसद, पुष्पलालले विघटित संसदकै पुनर्स्थापना र मोहन विक्रम सिंहले संविधानसभाको निर्वाचनको माग राखेका थिए। सिंहका तर्फबाट बलराम उपाध्यायले माग राखेका थिए। तर, अमात्यको ८२ प्रतिशत मत पर्यो।
० ० ०
अहिलेका मुख्य कम्युनिस्ट पार्टीहरुको महाधिवेशनको साझा आधार २०१९ सालको तेस्रो महाधिवेशन नै हो। सोही महाधिवेशनपछि कम्युनिस्ट पार्टीमा विभाजनको अनन्त श्रृंखला सुरु भएको थियो। तत्कालीन माले अर्थात् पूर्व एमालेले २०१९ सालको महाधिवेशनसँग आफ्नो संगती मिलाएर र चौथो महाधिवेशन गरे।
तत्कालीन एकता केन्द्र तथा पूर्व माओवादीले पनि ०३१ र ०४१ सालमा भएका महाधिवेशनसँग आफ्नो संगति मिलाए।
० ० ०
एमाले र माओवादीबीच एकता नभएको भए नेकपा एमाले (तत्कालीन माले) ले दसौं महाधिवेशनको तयारीमा हुन्थ्यो। उसले ०१९ सालको तेस्रो महाधिवेशनलाई आधार बनाउँदै ०४६, ०४९, ०५४, ०५९, ०६५ तथा ०७१ मा महाधिवेशन गरिसकेको छ।
०३५ सालमा गठन भएको मालेले ०४६ भदौ ९-१४ सम्म सिरहामा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको थियो। यसै महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई हटाएको थियो। र, बहुदलीय शासन प्रणालीलाई अपनाएको थियो। यो महाधिवेशनबाट मदन भण्डारी महासचिव भए।
०४७ पुष २२ गते माले र मार्क्सवादीबीच एकता भयो। र एमाले बन्यो। एकतापछि नेतृत्वका लागि अध्यक्ष पद सिर्जना गरियो। पार्टी अध्यक्ष नेकपा (मार्क्सवादी)का मनमोहन अधिकारीलाई बनाइयो। भण्डारी महासचिव बने।
०४९ माघ १४-२० मा काठमाडौंमा एमालले पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो। भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) पारित गरियो। यद्यपि, महाधिवेशनमा भण्डारीको जबजका अतिरिक्त सीपी मैनालीको परिमार्जित नौलो जनवाद, मोहनचन्द्र अधिकारीको नौलो जनवाद, रघु पन्तको सामाजिक जनवादीजस्ता कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। तर, व्यापक छलफलबाट पनि निष्कर्ष ननिस्किएपछि मतदान भयो, जहाँ भण्डारीको दस्तावेजले बहुमत पायो। अधिकारी र भण्डारीले क्रमशः अध्यक्ष र महासचिवमा नै निरन्तरता पाए।
०५० जेठ ३ को दासढुंगा घटनामा भण्डारी र आश्रितको निधन भएपछि माधव नेपाल महासचिव बनाइए।
०५४ माघ १२-१८ मा नेपालगंजमा एमालेको छैटौं महाधिवेशन सम्पन्न भयो। छैटौं महाधिवेशनमा पुग्दा पार्टीले एकातिर आफ्ना निर्णयहरुलाई पाँचौं महाधिवेशनको नीतिहरुको निरन्तरता हो भनेर दाबी गर्यो भने
अर्कातिर, 'जनताको बहुदलीय जनवाद' स्वयं नै क्रान्तिहरुको सिद्धान्त हो भन्ने घोषणा गर्यो। महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित गर्यो।
एमालेले ०५९ माघ १८-२२ मा जनकपुरमा सातौं महाधिवेशन गर्यो। जबजले सिद्धान्त र माधव नेपालले नेतृत्वको रूपमा निरन्तरता पाए।
एमालेले ०६५ फागुन ५-१४ मा बुटवलमा आठौं महाधिवेशन सम्पन्न भयो। अधिकारीको मृत्युपछि छाडिएको अध्यक्ष पद पुन प्रयोगमा ल्याइयो। पहिलो कार्यकारी अध्यक्ष बने झलनाथ खनाल। उनले चुनावमा केपीशर्मा ओलीलाई चुनावमा पराजित गरेका थिए। महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अख्तियार गर्यो।
एमालेले २०७१ असार १९- साउन १ मा काठमाडौंमा नवौं महाधिवेशन आयोजना गर्यो। केपी ओली अध्यक्षमा निर्वाचित भए।
० ० ०
माओवादीबारे बुझ्न २०१९ सालको तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टी कसरी गुज्रिए भनेर बुझ्नु जरुरी हुन्छ।
सो महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारीलाई क्रमश ३, १ र २ वर्षका लागि पार्टीबाट निष्काशित गरियो।
पार्टी विभाजन भयो।
विभाजनपछि कम्युनिस्ट पार्टीहरु झन् कमजोर बन्दै गए। नेताहरु नै छरपस्ट भए। निष्क्रियता छायो। २०१९ सालको तेस्रो महाधिवेशनद्वारा निर्वाचित नेतृत्वभित्रै अन्तरकलह उत्पन्न भयो। पार्टी महासचिव अमात्य र वरिष्ठ नेता पुष्पलालका बीच नै द्वन्द्व सुरु भयो। विवादकै बीच २०२५ जेठमा भारतको गोरखपुरमा 'तेस्रो सम्मेलन'को आयोजना गरी पुष्पलालले बेग्लै पार्टी स्थापनाको घोषणा गरे।
उता कारबाहीमा परेका रायमाझी समूहले २०२३ सालमा तेस्रो केन्द्रीय सम्मेलन गर्यो। र, २०२४ सालमा तेस्रो महाधिवेशन गर्यो। जेलमा रहेका मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलाई समेत केन्द्रीय समितिमा समट्दै नेतृत्व चयन गर्यो। तर यो समूह पनि एक भइरहन सकेन। सो पार्टीमा विष्णुबहादुर मानन्धरले ०३८ मा विद्रोह गरी नेकपा (मानन्धर) अस्तित्वमा ल्याए। ०४० मा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) अस्तित्वमा ल्याए। अन्तिममा ०४३ समूहका एउटा समूहले स्वयं रायमाझीलाई नै निष्काशित गरी नेकपा (मातृ समूह) स्थापना गरे।
फुटका बेला पुष्पलाल समूहमा रहेका अन्य नेताले पनि पुष्पलालकै बाटो पछ्याए। कम्युनिस्ट पार्टीहरु मुख्य व्यक्तिपिच्छेका समूहमा गठन हुन थाले। यसै क्रममा मजदुर किसान सभा (२०३०), कम्युनिस्ट एकता सम्पर्क समिति, नेपाल (२०३०), सर्वहारा क्रान्तिकारी संगठन (२०३३) र मुक्तिमोर्चा समूह (२०३३) जस्ता स-साना कम्युनिस्ट समूहहरु अस्तित्वमा आए।
मनमोहन अधिकारी ०२५ सालमा जेलमुक्त भए। उनी केहीसमय राजनीतिमा सक्रिय भएनन्। २०२७ मा मोहनविक्रम सिंह पनि जेलबाट छुटेपछि मनमोहन अधिकारी, सिंह, शम्भुराम श्रेष्ठ लगायतका नेताले छरपष्ट भएको कम्युनिस्ट समूहहरुलाई एकीकृत गर्ने प्रयास गरे। र, ०२८ मंसिर २० मा केन्द्रीय न्युक्लियस गठन गरे। सचिवमा अधिकारी चयन भए।
न्युक्लियसले पुष्पलालको समूहसँग एकताको पहल पनि गर्यो। तर सफल हुन सकेन। बरु, पार्टीभित्र अधिकारी र सिंहबीच टकराव देखिन थाल्यो। बिस्तारै अधिकारी न्युक्लियमा निष्क्रिय हुन थाले। बाँकीले ०३१ भदौ ३०- असोज ७ मा बनारसमा चौथो महाधिवेशन गरे। र नेकपा (चौथो महाधिवेशन) गठन गरे। मोहनविक्रम सिंहलाई पार्टी सचिव निर्वाचित गरियो। चर्चित नेताहरु मोहन वैद्य, चित्रबहादुर केसी, निर्मल लामाहरु सबै यसै पार्टीमा विभिन्न भूमिकामा थिए।
मोहनविक्रम नेतृत्वको नेकपा (चौथो महाधिवेशन) मा सुरुदेखि नै विवादहरु देखिन थाल्यो। ०३५ मा नै महासचिव मोहनविक्रम सिंहलाई कारबाही गरी पार्टी महासचिव तथा अन्य कारबाहीबाट मुक्त गरियो। निर्मल लामा महासचिव बने। उनीमाथि पनि विभिन्न आरोप लाग्यो। उनी पनि हटाइए। भक्तबहादुर श्रेष्ठ महासचिव बने। लामा दुई वर्षका लागि पार्टीबाट निष्काशनमा परे। श्रेष्ठ प्रमुख भएपछि सिंह पार्टी समितिमा पुनर्स्थापित हुन पुगेका थिए। तर फेरि उस्तै आरोपमा कारबाहीमा परे।
पार्टीमा विवादहरु चलिरहे। अन्तत यो पार्टी पनि सिंह र लामा समूहमा विभाजन भयो। सिंह समूहले ०४० कात्तिकमा गोरखपुरमा नेकपा (मशाल) गठन गर्यो र अर्को पक्षलाई पार्टीबाट निष्काशन गर्यो। लामा समूहले पनि सोही वर्ष फागुनमा प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा (चौम) गठन गरे।
मशालले ०४१ मंसिर १-१६ मा भारतको अयोध्यामा पाँचौं महाधिवेशन सम्पन्न गर्यो। मोहन वैद्य महासचिवमा चुनिए। कारबाहीमा रहेका मोहनविक्रमको तर्फबाट उनी निकटका चित्रबहादुर केसीले प्रस्तुत गरको राजनीतिक प्रतिवेदन पारित भएको थियो। तर नेतृत्वमा वैद्य आए। एकीकृत पार्टीको दोस्रो महाधिवेशनको पुनरावृत हुनथाल्यो। फलस्वरुप सिंह पक्षले एक केन्द्रीय आयोजक समिति गठन गरेर पार्टी विभाजन गरे।
वैद्य नेतृत्वको नेकपा (मशाल) मा पनि केही वर्षमै नै उथलपुथल आयो। चर्चित सेक्टर काण्डपछि प्रचण्ड नेतृत्वमा आए। उनी ०४२ सालमा पार्टी विभाजनपछि वैद्यतिर लागेका थिए।
जनआन्दोलनको सफलतासँगै केही कम्युनिस्ट घटकहरुले एकता प्रक्रिया थाले। फलस्वरुप ०४८ सालमा नेकपा मसाल (प्रचण्ड), नेकपा चौम (निर्मल लामा), मोहन विक्रम सिंहबाट छुट्टिएर आएको बाबुराम भट्टराईको समूह तथा सर्वहारा श्रमिक संगठनबाट छुट्टिएर आएको रुपलाल विश्वकर्मा पक्ष मिलेर एकता केन्द्र गठन भयो।
०४८ मंसिरमा चितवनको माडीमा एकीकृत पार्टीको छैटौं र एकता महाधिवेशन सम्पन्न भयो। त्यसबाट दीर्घकालीन जनयुद्धको बाटो तय गरियो। त्यसैको परिणामस्वरुप, ०५१ सालमा पार्टी विभाजन भयो। प्रचण्ड पक्षधरहरुले नेकपा माओवादी गठन गरी २०५२ सालदेखि सशस्त्र युद्ध गर्न थाले।
लामो समय युद्धमा रहेको र त्यसपछि पनि अनेक जटिलताबाट गुज्रिएको माओवादीले २०६९ माघ २०-२६ मा हेटौंडामा सातौं महाधिवेशन गर्यो। यो महाधिवेशनबाट जनयुद्धको बाटो छाड्दै समाजवादी क्रान्तिमा लाग्ने कार्यादिशा पास भयो। अध्यक्षमा प्रचण्ड नै निरन्तर रहे।
० ० ०
तत्कालीन एमाओवादीलाई २०६९ असारमा विभाजन गरी मोहन वैद्य किरणको नेतृत्वमा नेकपा-माओवादी गठन भयो। सो पार्टीले सोही वर्ष पुसमा सातौं महाधिवेशन गर्यो। उसले ०४८ सालको छौंटौं महाधिवेशनसँग संगति मिलाएको देखिन्छ। महाधिवेशनबाट किरण अध्यक्ष र रामबहादुर थापा बादल महासचिव बनेका थिए। जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको थियो। पास भएको लाइनको कार्यान्वयन त परको कुरा, पार्टी नै छिन्नभिन्न भइसकेको छ। सर्वप्रथम २०७१ सालमा नेत्रविक्रम चन्द विप्लवले बेग्लै पार्टी बनाए। बादलको नेतृत्वमा अर्को समूह पुनः एमाओवादी प्रवेश गर्दै अहिले नेकपा भइसकेको छ।
अहिले प्रतिबन्धित रहेको विप्लव नेतृत्वको पार्टीले २०७३ फागुनमा आठौं महाधिवेशन गर्यो। वैद्य नेतृत्वमै रहँदा गरिएको सातौं महाधिवेशनलाई उसले संगति मिलाएको देखिन्छ। काठमाडौंमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने रोल्पामा गरिएको थियो।
अन्य कम्युनिस्ट पार्टीका महाधिवेशनको क्रम पनि फरकफरक छ। जस्तो कि, नेपाल मजदुर किसान पार्टीले ०७६ असोजमा भक्तपुरमा सातौं महाधिवेशन गर्यो। २०४७ पुसमा भैरहवामा सो पार्टीले पहिलो महाधिवेशन गरेको थियो। नारायणमान विजुक्छेलाई नेतृत्वमा चयन गरेको थियो। त्यस्तै, २०५१ असोजमा भक्तपुरमा दोस्रो, २०५५ माघमा भक्तपुरमै तेस्रो, २०६५ भदौमा काठमाडौंमा चौथो, २०७० चैतमा काठमाडौंमै छैटौं महाधिवेशन गरेको थियो।
त्यस्तै, मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल (वैधानिक मोर्चा- राष्ट्रिय जनमोर्चा)ले पनि गत असारमा भूमिगतरुपमा आठौं महाधिवेशन सम्पन्न गर्यो। सो पार्टीले २०६३ फागुनमा सातौं महाधिवेशन गरेको थियो। तत्कालीन मसालले २०४१ सालमा पाँचौं महाधिवेशन गरेको थियो। सिंहले २०४२ सालमा मशाल विभाजन गरी नेकपा मसाल गठन गरेका थिए। तत्पश्चात मसालले छैटौं महाधिवेशन गरेको थियो।
त्यस्तै, नेकपा मालेले २०७३ बैशाखमा सातौं महाधिवेशन गरेको थियो। जसबाट पार्टी महासचिवमा सिपी मैनाली निरन्तर रहे। एमालेको छैटौं महाधिवेशनबाट विभाजन भएर (२०५४ फागुन २१) गठन भएको सो पार्टीले आफ्नो महाधिवेशनको क्रमलाई पनि त्यही महाधिवेशनसँग संगति मिलाएको देखिन्छ। यद्यपि, पार्टी विभाजनका नेतृत्वकर्ता तथा अन्य मुख्य नेताहरुले भने २०५८ फागुन ४ मै एमालेसँग एकता गरिसकेका छन्।
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/209307
No comments:
Post a Comment