नेपाल लाइभ | २०७६ असार ३ मंगलबार | Tuesday, June 18, 2019 १८:१९:०० मा प्रकाशित
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत असन्तुष्टिहरु पोखेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा रोस्ट्रममा पुगेर पनि बोल्न नपाएका उनले साँझ ५ बजे सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले सदनमा बोल्न नपाएकाले पत्रकार सम्मेलन मार्फत बोल्न नखोजेको दाबी गरे। 'मैले सदनमा बोल्न नपाएकाले यहाँ बोल्न खोजेको होइन। त्यहाँ बोल्ने कुरा समयक्रममा बोलिने छ', उनले भने, 'संसदमा भएको अमर्यादित र असंसदीय व्यवहारले संकेत गरेको कुरामा देशलाई सचेत गराउन खोजेको हुँ।'
प्रधानमन्त्रीले मंगलबारको संसद अवरोधलाई अमर्यादित र असंसदीय व्यवहार भएको बताए।
'दुनियाँको लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानममन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोण, निर्णय र गतिविधिहरुबारे जानकारी गराउने अभ्यास हुन्छ। प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्न पाउनुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन', उनले भने, 'तर, आश्चर्यलाग्दोगरी आज अगाडिदेखि तय भएको कुरामा नेपाली कांग्रेसले पहिले आफूले बोल्न पाउनुपर्छ भनेर अड्डी लियो। प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि बेलमा गएर संसदको काम कारबाहीलाई अवरोध गर्यो। विषय केही थिएन। मदभेद पनि होइन।'
उनले पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले बरियताक्रम अनुसार बोल्ने चलन विश्वव्यापी भएको स्मरण गराए।
उनले शेरबहादुर देउवाले पहिले मैले बोल्न पाउनुपर्छ भनेर बेल घेर्न गएको कुराले आफूलाई आश्चर्यचकित बनाएको बताए। 'उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने', उनले भने।
उनले आफूभन्दा अरु शक्ति सत्तामा आएको कुरालाई स्वीकार गर्नुपर्ने बताए। 'नस्वीर्काने हो भने लोकतन्त्र चल्दैन', उनले भने, 'आज जुन खालको प्रवृत्ति देखिएको छ। त्यसले लोकतन्त्र अगाडि जान सक्दैन।'
उनले अहिलेको सरकार परिवर्तन साकार पारेर आएको बताए। 'अचानक फुत्त कतैबाट निस्किएको होइन', उनले भने।
उनले अहिलेको सरकार लामो संघर्षबाट आएको र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। उनले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएको दाबी गरे।
यो सरकार देश बनाउने अभिभारा बोकेर त्यसकै अभियानमा सक्रिय छ।
उनले सरकार समृद्धिको काममा लागेको दाबी गरे। 'केही आत्तिएका छन् तर समृद्धिको काम रोकिँदैन', उनले भने।
प्रधानमन्त्रीले सञ्चारमाध्यममा सबैलाई 'तिमी' भनिने गरेकोमा पनि असन्तुष्टि जनाए।
'हाम्रो समाज शिष्ट र मर्यादित हो। हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जानेको छैन। नेपाली भाषाको तपाईं भन्ने शब्दै हराइसक्यो। हाम्रो सञ्चारमाध्यमले हाम्रो भाषा र संस्कृतिको कुरा गर्छ। नेपाली भाषामा बाउलाई तपाईं नै भन्ने चलन हुन्छ। बाउ, आमा, हजुरबा, हजुरआमालाई पनि तिमी भन्नु नेपाली भाषा, सभ्यता र संस्कृतिभित्र पर्दैन', उनले भने।
प्रधानमन्त्रीले हाम्रो भाषाको आफ्नो मर्म भएको स्मरण गराए।
प्रधानमन्त्रीले स्थापित सञ्चारमाध्यमले पनि सामाजिक सञ्जाललाई गुरु थापेर पछ्याइरहेको बताए। 'हामी कस्तो समाज निर्माण गर्दैछौं', उनले प्रश्न गरे।
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/97261
No comments:
Post a Comment