नेपाल लाइभ | २०७६ असार ९ सोमबार | Monday, June 24, 2019 ०९:३५:०० मा प्रकाशित
काठमाडौं- नेकपाका सांसद गजेन्द्र बहादुर महतले सांसदको तलब कटाएर भए पनि आणविक राष्ट्र बन्नुपर्ने बताएका छन्। उनले त्यस्तो सोचाइ सांसदहरुलाई भित्रैबाट आउनुपर्ने बताए।
विवादित 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'माथिको बहस नकारात्मक कुरातिर मात्रै भइरहेको भन्दै उनले असन्तुष्टि पोखे। उनले सानो देश भएकाले खतरा छ भन्ने हिसाबले नसोची न्युक्लियर हतियारमा पनि जान सक्नुपर्छ भन्ने माइन्ड बनाउनुपर्ने आग्रह गरे।
'अहिलेबाट खुट्टा कमाएर भारत, चीन र अमेरिकाले के भन्ने हो भन्ने तथा हामी बर्बाद हुन्छौं भन्ने बुझाइ राखेर पनि हुन्छ?', उनले प्रश्न गरे।
महतले खुट्टा कमाएर गरेको बहसले ठीक ठाउँमा नपुर्याउने बताए।
'जिज्ञासाहरु करेन्ट लाग्छ, आगोले पोल्छ, पानीले बगाउँछ भन्ने किसिमले आउन थाले। यसरी गइयो भने बहस ठीक ठाउँमा पुग्दैन', सोमबारको बैठकमा उनले भने, 'करेन्ट लाग्ने, आगोले पोल्ने, पानीले बगाउने मात्रै सत्य होइन। बहस पनि एक ढंगले गयो। नकारात्मक कुरातिर मात्रै गयो।'
उनले आणविक राष्ट्र भएकैले इरानलाई अमेरिकाले आक्रमण गर्न नसकेको तर्क दिँदै उनले सांसदहरुलाई त्यतातिबाट सोच्न आग्रह गरे।
'अमेरिकाले अहिले किन इराक ध्वस्त पार्यो तर इरानमा हात हाल्न सकेको छैन त? त्यसरी पनि बुझौं न। अहिले त्यहाँ नपुगौंला। तर हाम्रो दिमागले त्यता पनि सोच्नुपर्छ', उनले भने।
विधेयकमा केही दिनयता संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल चलिरहेको छ। असार ५ गतेबाट जारी बैठकमा मुख्यगरी विधेयकमा संशोधन प्रस्ताव राख्ने सांसदहरुले धारणा राखिरहेका छन्।
यो पनि पढ्नुहोस्–
पारमाणविक विधेयक : उत्पादनमा निजीको प्रवेश रोक्न र अन्तर्राष्ट्रिय चलखेलप्रति सचेत हुन सांसदहरुको जोड
नेपाल लाइभमा प्रकाशित / https://www.nepallive.com/story/100251
No comments:
Post a Comment