Pages

Saturday, June 2, 2018

पार्टीको नेतृत्वमा आउन पनि भारतीय सहयोग लिने प्रवृत्ति छ : सुरेन्द्र पाण्डे

नेपाल लाइभ

भदौ २५, २०७४| प्रकाशित १७:३७

केपी ओली प्रधानमन्त्री छँदा चीनसँग केही सम्झौता गरे। नाकाबन्दीपछि देशमा भारतविरोधी माहोल बढेको बेला त्यस्ता केही कदमले उनलाई एकसाथ चीननिकट, भारतविरोधी र राष्ट्रवादी नेताको रूपमा उभ्यायो। र, भारतनिकट शक्ति मानिने एमालेलाई नै भारतविरोधी छवितिर ढल्कायो। प्रत्यक्ष-परोक्ष रूपमा नेपाली राजनीति भारतीय हस्तक्षेपको सिकार भइरहेकै कारण एमालेको भारतविरोधी तर्कमा बल पनि पुगिरहेकै छ। यसै सन्दर्भमा भारत-चीनसँगको सम्बन्धका विषयमा एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग किशोर दहालले गरेको कुराकानी:

भारतसँग एमालेको सम्बन्ध किन बिग्रिएको?
भारतसँग सम्बन्ध बिग्रिएको भन्ने होइन। खासगरी संविधान निर्माणको सम्बन्धमा मधेसी समुदायहरुलाई सम्बोधन गरेर संविधान केहीपछि निर्माण होस् भन्ने आशय भारतले राखेको थियो। त्यसबेला प्रमुख तीन वटै दलहरु एकैठाउँमा उभिए। र, संविधान जारी गर्न ढिलाइ गर्न हुँदैन भन्ने सहमति भएपछि त्यो जारी भयो। त्यतिबेला एस जयशंकर आएर संविधान घोषणालाई पछि सार्न भन्दा दलहरुले मानेनन्। त्यसैले सम्बन्ध बिग्रिँदा सबैसँग बिग्रिएको हो।

त्यसैले एमालेसँग मात्रै सम्बन्ध बिग्रिनुपर्ने र अरुसँग सप्रिनुपर्ने कुनै आधार छैन। त्यसपछि सरकार परिवर्तन भयो। एमालेको नेतृत्वमा सरकार बनेपछि अघिल्लो सरकारसँगको सम्बन्धको ‘लिगेसी’ नयाँ सरकारमा सर्यि। त्यसैले अघिल्लो सरकार छँदै बिग्रिएको सम्बन्ध पछिल्लो सरकारमा पनि सरेको हो।

नाकाबन्दी भयो। अहिलेको युगमा अर्को देशको आन्तरिक मामलालाई लिएर नाकाबन्दी गर्नु गलत थियो। नाकाबन्दी नै भइसकेपछि सरकारमा रहेको दलले बोल्नै पर्थ्यो। नाकाबन्दी हट्नुपर्छ भन्नैपर्थ्यो। त्यसो गरेपछि सम्बन्ध चिसियो।

संविधान जारी गर्ने बेला तिर बिग्रिएको सम्बन्ध पछि नाकाबन्दी लगायतका घटनाहरुमा निरन्तरता पाउँदै गए। तर, त्यो सम्बन्ध एमालेसँग मात्रै बिग्रिएको होइन। अन्य पार्टीसँग पनि उस्तैउस्तै सम्बन्ध हो जस्तो लाग्छ।


यस्ता सम्बन्धहरुलाई लिएर नेपाल वा भारतमा किन यति चर्चा हुन्छ?
नेपालका नेताहरुले विगतको आन्दोलनका बेला भारतसँग कुरा गर्ने, समर्थन लिन खोज्ने काम निरन्तर हुँदै आएको छ। त्यसैले उनीहरुले केही भन्ने अवसर पाएका छन्। तिमीहरुलाई चाहिँदा यहाँ आउने, अरु बेलाचाहिँ छुट्टै हौं भन्ने? भन्ने गरेका छन्। त्यस्ता कुराले पनि यहाँ काम गरेको छ।

कतिपय बेला पार्टीभित्र पनि माथि आउन नेताहरुले भारतीय सहयोग लिने गरेका छन्। पार्टीको नेतृत्वमा आउन पनि उताको साथ र सहयोग प्राप्त गर्न खोज्ने प्रवृत्तिले पनि उसको बोली माथि भएको छ।

अबका दिनमा सोच्नुपर्छ, आफ्नो राष्ट्रिय राजनीतिको सन्दर्भमा कसैलाई गुहार्ने र आफ्नो अनुकूल प्रयोग गर्ने र नहुँदा गाली गर्ने बानीले हाम्रो राष्ट्रिय राजनीति अगाडि जान सक्दैन। हाम्रो राष्ट्रिय विकासलाई पनि यसले मद्दत गर्दैन। हामी सधैं द्वन्द्व, झगडा, सत्ता प्राप्तिका निम्ति अर्काको सहायता प्राप्त गर्न खोज्ने काम हुन्छ भने सरकारमा बसेपछि उसको कुरा मान्दिनुपर्ने हुन्छ। नमान्दा सम्बन्ध बिग्रिन्छ, चिसिन्छ। यही काम नेपालको राजनीतिमा हुँदै आएको थियो।

यस्तो कुरा कतिपय बेला नदेखिने गरी र कतिपय बेला देखिने गरी भएका छन्। बहुदल आएपछि २५ वर्षका भिडियो क्लिप्स हेरेर को पार्टी र कुुनकुन नेता भारतसँग कहिलेदेखि सम्बन्धमा रहे भनेर कोही पत्रकारले बाहिर निकाल्दिने हो भने सबै कुरा स्पष्ट हुन्छ।

आफ्नै पार्टी सुप्रिमो केपी ओलीलाई भन्नुभएको हो?
होइन। समग्र नेपाली राजनीतिको कुरा गरेको हुँ। यो सबै पार्टीभित्रको कुरा हो। व्यक्तिको कुरा होइन, आम चरित्र हो।

नेपालको राजनीतिक इतिहासको पानालाई पल्टाएर हेर्नुभयो भने भारतसँग कुन बेला कुन नेताको, दलहरुको कस्तो सम्बन्ध विकसित भएर आयो भन्ने कुनै लुकेको विषय नै छैन।

अर्को देशसँग नजिकको सम्बन्ध बनाउनुपर्ने जरुरत किन पर्छ हामीलाई?
यो त म जान्दिनँ। तर एउटा कुरा के भने, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा जब सत्ता राजनीति सुरु हुन्छ, त्यतिबेला सबैसँग सम्बन्ध राम्रो हुनु नराम्रो कुरा होइन। त्यतिबेला आफ्नो मुलुकको विकासलाई ध्यानमा राखेर छिमेकीहरु र अन्य देशहरुसँग राम्रो सम्बन्ध राख्नुपर्छ। देशको समृद्धिका लागि त्यस्तो गरिएको हो भने सकारात्मक नै हुन्छ।
तर, व्यक्तिगत आफ्ना आकांक्षा पूरा गर्न त्यस्ता सम्बन्ध राखिएको छ भने त्यो नराम्रो हो। कुनै बेला उसले सहयोग गर्ने र हामीले सहयोग प्राप्त गर्ने उद्देश्य फरक हुन सक्छ।

अनि, त्यो उद्देश्य फरक परेको बेलामा, उसले भनेको काम गरिदिएन भने के हुन्छ? सम्बन्ध बिग्रन्छ। यस्तो हुँदै आएको छ। त्यसैले सबैलाई जान्नुपर्छ, त्यस्तो सम्बन्ध विकास गर्ने तरिका के हो? कस्तो सीमाभित्र बसेर सम्बन्ध बनाउने, के कामका लागि सम्बन्ध बनाउने हो, त्यसमा स्पष्ट हुनुपर्छ। तर, त्यसो नगरिएपछि खास बेलामा अन्तरविरोध पैदा हुन थाल्छ। स्वभाविक हो।

एमालेमा भएको त्यही हो?
मैले एमालेको मात्रै कुरा गरेको होइन। नेपालको राजनीतिको कुरा गर्दैछु। हाम्रो पार्टी अध्यक्षको कुरा तपाईंले गर्नुभयो। तर, तपाईं गिरिजाप्रसाद कोइरालाई पनि हेर्न सक्नुहुन्छ। पहिले सम्बन्ध राम्रो थियो, पछि बिग्रियो।

त्यसैले नेपालको राष्ट्रिय राजनीतिको सन्दर्भमा नेतृत्व वृतले के निष्कर्षमा पुग्नु जरुरी छ भने हाम्रो आफ्नो आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुनुपर्छ, कुन दायरामा सीमित हुनुपर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कुन सिद्धान्तबाट अगाडि जानुपर्छ? त्यसको सैद्धान्तिकरण गर्न ढिला भइसक्यो। जुन दिन यो काम हुन्छ, तब मात्रै नेपाल अगाडि बढ्छ। होइन भने सधैं यस्तै भइरहन्छ।

के एमालेले त्यो गरिरहेको छ?
म त्यसो भन्दिनँ। हाम्रोमा पनि त्यो भएको छैन। विस्तृत अध्ययन गरेर यसरी जाने भनेर निष्कर्षमा पुगेको अवस्था छैन। तर, त्यो हुनुपर्छ भन्ने लाग्छ।

केपी ओली प्रधानमन्त्री भएका बेला चीनसँगका केही सम्झौतालाई लिएर निकै हल्लाखल्ला भयो। भारतलाई चिढ्याउन एमालेले चीन कार्ड देखाएको हो?
होइन। कतिपय मानिसले भारतलाई देखाउन चीनसँग सम्बन्ध बनायो भन्ने प्रचार गरेका छन्। त्यो सत्य होइन। त्यतिबेला चीनसँग १० वटा बुँदामा सहमति भएको थियो। त्यो पहिलेदेखि भइरहेकै कुराहरुमै सहमति भएको हो। त्यसमध्ये पोखरा एयरपोर्टकै विषयमा चार वटा सम्झौता भएको छ। सम्झौताको लामो विगत हुन्छ। प्रक्रिया हुन्छ।

प्रधानमन्त्री ओलीले गरेको एउटै मात्र नयाँ सम्झौता हो, ‘ट्रान्जिट ट्रिटी’। त्यहीमात्रै नयाँ कुरा हो, अरु केही नयाँ होइन।

सम्झौताको दस्तावेज हेर्नुभयो भने त्यहाँ कुनै नयाँ कुरा छैनन्। मनस्थिति, मनोभावना, टिप्पणी, कुराकानी र अन्तर्वार्ताका आधारमा सम्बन्धको चिसोपनाको व्याख्या भएको हो। कुनै लिखित कुराहरुमा होइन।

भारतलाई पनि थाहा छ, नेपाल विभिन्न कारणले गर्दा चीनतिर ढल्कने अवस्था छैन। भारतसँग खुला सिमाना छ। चीनसँगको सीमानामा प्राकृतिक रुपमै तालाबन्दी गरेजस्तो छ। अहिले पनि जतिसुकै कुरा गरे पनि एउटा राम्रो नाका छैन। भूकम्पपछि तातोपानी नाका पनि बन्द छ। रसुवा नाका वर्षमा ६ महिना बन्द हुन्छ। यस्तो अवस्थामा चीनसँग कसरी ढल्किएको हुन्छ?

चीनसँग यातायात मार्ग पनि खराब छ। हवाइ मार्ग पनि प्रभावकारी छैन। दाँत हल्लियो भने पनि भारत जाने जस्तो स्थिति चीनसँग छैन। हाम्रो सम्बन्ध, आवागमन, यातायातको सुविधा, आयातको हिसाबले हेर्दा पनि भारतसँग बढी निकटता छ। त्यो परिस्थितिमा कुनै फेरबदल आएको होइन। सम्बन्ध बिग्रेको हो कि राम्रो छ भन्ने कुरामा मनस्थितिको प्रस्तुतिकरण भइरहेको छ।

प्रधानमन्त्री छँदा ओली चीन गएको कुरालाई निकै प्रचार गरेको त हो नि? रेल नै आउलाजस्तो हल्ला भइरहेको थियो!

नाकाबन्दीको बेला चीनतिरबाट रेल आइदिएको भए यस्तो परिस्थिति भोग्नुपर्दैन थियो होला भन्ने सबैलाई भएको थियो। मिडियाहरुले पनि रेल आउँदैछ भनेर पत्रिकामा फोटो छापिदिए। के रेल आउँदैछ र अहिले?फोटो आउँदैमा दिल्ली तर्सिनुपर्ने थिएन। तर, तर्सियो।

भारत र चीनको नेपालमा स्वीकार्यता कति हो?
हामी दुवै मुलुकसँग समदुरी राख्छौं। हाम्रो हितको लागि दुवै मुलुकको सहयोग अपेक्षित छ। तर, राजनीतिक मामलामा बाह्य हस्तक्षप हुनुहुँदैन। त्यसमा यी दुवै देशले नेपाली मनोभावना बुझ्नुपर्छ।

नेपालको राजनीतिमा भारतको भूमिका वा हस्तक्षेप कति गहिराइमा पुगेको छ?
हुन त धेरैले भारतीय हस्तक्षेप बढ्यो भन्छन्। तर, मचाहिँ घटेको देख्छु। जस्तो, २००७ सालपछि भारतीय राजदूत नै नेपाली क्याबिनेटको बैठकमा बस्थे। अहिले त छैन नि! अब भन्नुस् बढ्यो कि घट्यो?

यस्तो प्रभाव तलमाथि भइरहन्छ। तर हाम्रो प्रभाव बढाउँदै गयौं भने उसको प्रभाव कम हुँदै आउँछ। त्यसैले हामीले आफ्नो भूमिका खेल्नेबारे पो सोच्नुपर्यो । हामी आफ्नो विषयमा बहस गर्दैनौं, अरुको कुरामा चिन्ता लिएर बस्छौं।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/910

.........

'एमाले सत्ताको सेयर खोज्ने पार्टी हो'

 नेपाल लाइभ

असोज २१, २०७४| प्रकाशित २२:५९

एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे वैचारिक र सैद्धान्तिक बहसमा पनि पोख्त नेता हुन् । पार्टीको विचार निर्माणमा उनको पनि धेरथोर योगदान छ । केही समययता एमालेमा वैचारिक र सैद्धान्तिक बहस निकै कम हुन थालेको छ । यसै सेरोफेरोमा केन्द्रित रहेर दशैंअघि नेपाल लाइभका किशोर दहालले लामो संवाद गरेका थिए । प्रस्तुत छ उक्त संवादको सम्पादित अंशः

एमालेभित्र हिजोआज किन बहस हुन छाड्यो नि?

बहस नहुने होइन, भइरहेका छन् । कहिले कम र कहिले अलि बढी हुन्छ । कहिले संविधान बनाउने, कहिले कार्यान्वयन गर्ने, कहिले चुनाव गर्नेतिर हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहेकाले आराम लिएर बहस गर्ने अवस्था नै छैन । त्यसले पनि पार्टीभित्रको बहस ओझेल परेको जस्तो लागेको हो । तर, हामी विभिन्न हिसाबले बहसमै छौं।

एमालेमा आलोचनात्मक चेत नै हरायो भन्छन् त !

यो मानिसहरुले नबुझेको कुरा हो । आलोचना कहिले मन्द हुन्छ, कहिले खुला हुन्छ । अलि चर्को र सार्वजनिक रुपमा मिडियामा आयो भने मात्रै एमालेमा आलोचना भएछ, नत्र भएन भन्ने बुझ्नु पनि भएन । आलोचनाहरु भइरहन्छ, आलोचना बेगर पार्टी त अगाडि जाँदै जाँदैन नि!

सामाजिक सञ्जालमा एउटा शब्द निकै प्रयोग हुन्छ, हनुमान । त्यो शब्द अन्धभक्तिसँग जोडेर प्रयोग गरिन्छ र सबैभन्दा बढी एमालेकै निम्ति प्रयोग गरिन्छ । कस्तो लाग्छ?

त्यो संख्या सानो छ । हनुमानगिरी गर्ने मान्छे कहिल्यै पनि ठूलो हुँदैन । धेरै मान्छे स्वतन्त्र छन् । आजकाल त झन् ‘फ्रिडम अफ एक्प्रेसन’ नयाँ उँचाइबाट आइरहेको छ । हनुमान भएर पछि लाग्ने मान्छेहरु थोरै हुन्छन् । धेरै पौरख गर्न सक्नेहरु गरेर खान्छन् । पौरख गर्न नसक्नेहरु पो हनुमानगिरी गर्छन्।

त्यो आरोप चाहिँ किन एमालेलाई लागेको त?

एमालेमा भन्दा अरु पार्टीमा हनुमान बेसी छन् । थाहा छैन, तपाईंले एमालेलाई नजिकबाट हेरेकाले पो एमालेको मात्रै हनुमानगिरी देख्नुभयो कि ! अरु पार्टीको गतिविधिलाई नजिकबाट विश्लेषण गर्नुभयो भने त्यहाँ झन् बढी छन् । अहिलेको सन्दर्भमा हेर्नुहुन्छ भने सबैभन्दा चुस्त संगठन भएको र अलिकति भए पनि सवालजवाफ हुने पार्टी एमाले मात्रै हो।

एमाले हिजोदेखि नै बहस र छलफल गर्दै, हरेक कुराको नेतृत्व गर्दै आएको पार्टीमा अलि बहस कम भएको हो कि भन्ने प्रश्न हो भने त्यसमा पक्कै केही त्रुटि भएका छन्।

अहिले हामी बेसी चुनावमुखी भयौं । जुनसुकै प्लेटफर्ममा पेट्टी इन्ट्रेस्टमा दौडधुप गर्ने प्रचलन बढ्यो । स्वार्थीपन बढेर गयो । आफूसँग भएको क्षमतालाई कार्यकर्ताले ठीक ढंगले गर्न सकिरहेका छैनन् । पद पाउँछु कि पाउँदिनँ भन्नेमा नै दौडिरह्यो । काम गरेपछि नपाउने त प्रश्नै छैन नि भनेर आत्मविश्वास बढ्यो भने बहस नयाँ ढंगले जाने थियो र त्यसले पार्टीमा नयाँपन ल्याउँथ्यो भन्नेमा म पनि सहमत छु । तर, अरु पार्टीमा भन्दा एमालेमा गणेश प्रवृत्ति वा हनुमानगिरी बढेको भन्ने चाहिँ मलाई लाग्दैन।

नाकाबन्दीपछि तपाईंका अध्यक्ष ओलीले व्यक्त गरेका तिखा शब्दहरु बढी सुनिन्छन् । पार्टी मिटिङमा कहिल्यै सचेत गराउनुभएको छ?

पार्टीमा हामीले छलफल गरेका छौं । यस्ता शब्द नबोल्नुस् भनेर उहाँलाई सचेत पनि गराएका छौं । पटकपटक हामीले भनेका छौं । तपाईंलाई याद होला, उहाँले संसदमा आएर समेत मैले यसो भनेको होइन भन्नुभएको छ । त्यो त उहाँले हाम्रो पार्टीभित्रका साथीहरुको सल्लाहमै भन्नुभएको होला नि!

ओलीजीका समुदायबीच फाटो ल्याउने खालका शब्द प्रयोगप्रति तपाईंका धारणा के छ?

शब्द मीठो नै बोल्नुपर्छ । कुनै पनि विषयवस्तुमा आफ्नो टिप्पणी राख्नु भनेको शालीन शब्द प्रयोग नगर्नु होइन । छुच्चो शब्द प्रयोग गरेर मात्रै दृढ अडानवाला भनेर पुष्टि हुँदैन । आफ्ना कुरा सटीकतापूर्वक राख्ने तर सम्बन्ध सबैसँग राम्रो हुनुपर्छ।

एमालेको पछिल्लो गतिविधि हेर्दा पहिलेको जीवन्त एमालेको सम्झना आउँदैन?

आउँछ नि । पार्टी ४६ सालभन्दा अगाडि लडिरहेको बेलामा जीवन्त थियो । त्यतिबेला हाम्रा कुनै निजी स्वार्थ थिएनन् । झगडा गर्नुपर्ने कुनै विषय थिएनन् । त्यहाँ केवल योग्यता थियो । पार्टीप्रतिको बफादारिताको कुरा थियो । संघर्षप्रति दृढ छ कि छैन, निष्ठा छ कि छैन ?  व्यक्तिको मूल्यांकन गर्न कुनै समय लाग्दैनथ्यो, सबै पारदर्शी हुन्थ्यो । यो कामका लागि फलानो योग्य हुनुहुन्छ, उहाँलाई जिम्मेवारी दिऔं भन्ने हुन्थ्यो।

आजकाल एमाले सत्ताको पार्टी हो । कुनै क्रान्तिको पार्टी होइन । सत्ता केन्द्रित पार्टीमा सत्ताको सेयर मात्रै खोजिन्छ । एमाले सेयर खोज्ने पार्टी हो । हरेक मान्छे पार्टीमा लाग्छु भन्छ । हिजो म पार्टीमा लाग्छु, जेल जान तयार छु भनेर कसैले भन्थ्यो ? मान्छेहरु पहिल्यै भाग्थे । पहिले त थोरै मात्रै छानिएर पार्टीमा आउँथे।

त्यसैले क्रान्तिको पार्टी र सत्ताको पार्टीको चरित्र फरक हुन्छ । क्रान्तिको पार्टी चलाएको आधारमा सत्ताको पार्टी चल्दैन । सत्तामा गइसकेपछि सत्ता चलाउने तरिकाको विकास गर्नुपर्छ । नयाँ नीति, शैली, कार्यदिशा, कार्यशैली, कार्यतरिकाहरु विकास भएन भने पार्टीभित्र विरोधाभाष हुन्छ अनि कार्यकर्तामा पनि अन्योल हुन्छ।

परिस्थितिले नयाँ रुपमा फड्को मारिसक्यो, तर पुरानैमा अल्झिएर बसिरहनेहरु पनि छन् । अहिलेको अन्तरविरोधको मुख्य पक्ष यहाँ पनि छ । चीनका राष्ट्रपति सी जिन पिङले भनेका छन्– विद्वान् मान्छे त्यो हो, जसले समय घर्केका विचारहरु समय पाक्ने बित्तिकै छाडिदिन्छ र उपाय परिवर्तन गर्छ।

जनआन्दोलनपछि एमाले एउटा बाहेक सबै दलीय सरकारमा धेरथोर सहभागी भएको छ । किन यस्तो सत्तालिप्सा ?

सत्तालाई सामाजिक परिवर्तनको लागि, राष्ट्रको विकास र परिवर्तनको लागि एउटा औजारको रुपमा प्रयोग गर्नुपर्छ । निजी फाइदाको लागि, निजी महत्त्वाकांक्षा पूर्ति गर्नका लागि भयो भने त्यो अभिशाप हुन्छ। चाहे कम्युनिस्ट हुन् वा पुँजीवादी देश हुन्, व्यक्तिगत कुरामा जाने बित्तिकै टकराव सुरु हुन्छ र त्यो सत्ता असफल हुन्छ । तर, जब मुलुकको हितमा हुन्छ, त्यसले समर्थन प्राप्त गर्दै जान्छ।

सत्ताको राजनीति नै मुलुक बनाउनको लागि हो । त्यसैले सत्तामा जानै हुँदैन भन्ने आदर्शवादी कुरासँग म सहमत छैन । तर, सत्तामा निजी स्वार्थपूर्तिका लागि जानुपर्छ भन्ने प्रवृत्ति बढ्दो छ, त्यसबाट हामीले उपलब्धि प्राप्त गर्दैनौं । त्यस्ता राजनीतिक दलहरु जसले जनताको अपेक्षा पूरा गर्दैनन्, त्यसको विकल्प जनताले खोज्न थाल्छन्। त्यसैले हामीले सत्ता प्राप्ति गर्ने नै हो । तर, त्यो सत्ता मुलुकको हितमा भएन भने टिकाउ हुँदैन । सत्ता जनताको अपेक्षा र सपना पूरा गर्ने खालको हुनुपर्छ । भयो कि भएन, त्यसको समीक्षा गर्नुपर्छ । एमाले प्रत्येक पटक सरकारमा जाँदा के गर्योख वा के गर्न सकेन, त्यसको समीक्षा भएको छैन।

एमाले सरकारमा जाने कुरालाई उद्देश्य केन्द्रित बनाउन सकेनौं भने राजनीतिमा लागिहालियो, एकपटक मन्त्री बनौं भन्नेमा सीमित बनायौं भने यो राजनीतिको अर्थ हुँदैन । यसले परिणाम दिँदैन। 

समृद्धिको लक्ष्यबेगर पनि एमालेका लागि सत्ता गन्तव्य बनिरहेको चाहिँ किन?

यो बुझाइमा समस्या छ । अहिले पनि हाम्रा कतिपय कार्यकर्ता चुनावमा जानका लागि मरिहत्ते गर्छन् । म पार्टीमा लागेँ, गरिबी भयो, घरपरिवार बिग्रियो, बिल्लीबाठ भयो भन्छन् । एकपटक चुनावको टिकट दिनुपर्‍यो भन्छन् । अचम्म लाग्छ, चुनावबाट कोही मान्छे धनी हुन्छ ? अहिले त भएको सम्पत्ति पनि सकिने स्थिति छ । गरिबी छ भने त कमाउन गए हुन्छ नि ! व्यवसाय गर्न गए हुन्छ नि ! तर, चुनाव जित्नु कुनै गुजाराको क्षेत्र हो भन्ने मान्छेलाई परेको छ । सांसद नै भयो भने पनि ५० हजार कमाइ हुन्छ । त्यति त मिहिनेत गरे बाहिरै पनि आर्जन हुन्छ नि!

त्यसैले सत्ता मुलुक परिवर्तन गर्ने औजार हो । कोही कसैको व्यक्तिगत गरिबी अन्त्य गर्ने प्लेटफर्म होइन । यो कुरा मान्छेले बुझिरहेका छैनन्।

तपाईंहरुको एउटा मुखपत्रले एकजना नेताले भनेको कुरा छापेको थियो । नेताको भनाइ छ– मलाई ऋण लागेको छ, त्यसैले सरकारमा जानैपर्नेछ । नेतृत्व स्तरमा पनि पटकपटक मन्त्री हुनुपर्ने लोभ किन?

पार्टी र नेतृत्व समाजभन्दा माथि हुँदैन । जस्तो समाज र परिस्थिति छ, त्यो अभिव्यक्त हुन्छ नै । मान्छेका सोचहरु अनेक किसिमले अभिव्यक्त हुन्छ । त्यसबाटै परीक्षण गर्नुपर्यो,, को कुन लेभलको छ । त्यसैले पहिले त समाजकै स्तर परिवर्तन गर्नुपर्‍यो । समाजको स्तर परिवर्तन भए त्यस्ता प्रवृत्तिहरु राख्ने मान्छेहरु नै हुने थिएनन्।

तपाईं युरोपमा जानुभयो भने गाडी किन्नका लागि मन्त्री हुन्छु भन्छन् ? भन्दैनन् । किनकि, त्यहाँ गाडी त सबैको छ नि ! हामीमा पनि त्यो अवस्था आएपछि त्यतिका लागि सरकारी पद खोज्दैनन्।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/2902

No comments:

Post a Comment