Pages

Friday, November 3, 2017

प्रदेश ६ का ७ जिल्ला: वाम गठबन्धन बलियो, कांग्रेसलाई गाह्रो

किशोर दहाल

काठमाडौं– मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रदेश ६ का दस जिल्लामध्ये ७ वटा समावेश छन् । प्रतिनिधिसभाका लागि प्रत्येक जिल्लामा एक–एक वटा गरी यहाँ सात निर्वाचन क्षेत्र छन्।

पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा रहेका ४९ स्थानीय तहमा माओवादी केन्द्र अगाडि छ । माओवादीले २२, एमालेले १३ र कांग्रेसले १२ वटा तथा स्वतन्त्रले २ वटा स्थानीय तहको नेतृत्व गरिरहेका छन्।

०७० सालको संविधानसभा निर्वाचनमा यहाँ प्रमुख तीन दल झन्डै बराबरीको हैसियतमा थिए । रुकुम टुक्रेपछि साविकको दुईमध्ये एक निर्वाचन क्षेत्र प्रदेश ६ तिर जोड्ने हो भने त्यतिबेला यहाँबाट ८ जना निर्वाचित भएका थिए । जसमध्ये कांग्रेस र माओवादी ३/३ र एमाले २ क्षेत्रमा विजयी भएका थिए।

स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत विश्लेषण गर्दा सातै वटा जिल्लामा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बलियो अवस्थामा छ।

मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई मुख्य आधार मानिएको छ । त्यस्तै, २०७० मा सम्पन्न संविधानसभाको मतपरिणामलाई समेत सन्दर्भमा लिइएको छ । अर्कोतर्फ, स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलबाट प्राप्त भएको मतलाई यहाँ प्राथमिकता दिइएको छैन।


डोल्पा : प्रतिनिधिसभाका लागि एउटा मात्रै क्षेत्र रहेको डोल्पामा ८ स्थानीय तह छन् । जसमध्ये ४ वटामा एमाले, २/२ वटामा माओवादी र स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । शे–फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध विजयी भएको थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवारले जितेका दुवै गाउँपालिकामा एमालेका उम्मेदवार दोस्रो स्थानमा थिए । जिल्लाका स्थानीय तहमा कांग्रेसको नेतृत्व छैन । चुनावमा उसले तीन ठाउँमा एमाले उम्मेदवारलाई पछ्याएको थियो।

दुई वटा स्थानीय तहमा जितेका स्वतन्त्र उम्मेदवारहरु एमालेमा प्रवेश गरिसकेका छन् । यस कारण पनि यो निर्वाचन क्षेत्रमा एमाले थप बलियो बनेको छ।

यहाँबाट वामपन्थी गठबन्धनका लागि एमालेका धनबहादुर बुढा र लोकतान्त्रिक गठबन्धनका लागि अंगदकुमार बुढा प्रतिस्पर्धा गर्दैछन् । धनबहादुर बुढा ०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । अंगदकुमारले त्यसबेला स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी न्यून मतका साथ तेस्रो भएका थिए।

स्थानीय तहका प्रमुख र अध्यक्षमा एमालेका उम्मेदवारहरुले पाएको कुल मत ५ हजार ९ सयभन्दा बढी छ । कांग्रेसका उम्मेदवारहरुले पाएको मत झन्डै आधा मात्रै हो । वाम गठबन्धनको फाइदा पनि एमाले उम्मेदवारलाई नै पुग्ने हो भने यहाँ एमाले उम्मेदवारले ठूलो मतान्तरका साथ जित्ने अनुमान गर्न सकिन्छ।

जुम्ला : जुम्लाका ८ वटा स्थानीय तहमध्ये ४ वटामा कांग्रेसले जितेको थियो भने ३ वटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको थियो । प्रतिनिधिसभाका लागि यहाँ पनि एउटा मात्रै निर्वाचन क्षेत्र छ।

यहाँबाट माओवादीका गजेन्द्र महत र कांग्रेसका देवेन्द्रबहादुर शाही प्रतिस्पर्धा गरिरहेका छन्। महत दोस्रो संविधानसभाका लागि जुम्ला १ का उम्मेदवार थिए । कांग्रेस उम्मेदवार भएको सो चुनावमा उनी तेस्रो भएका थिए।

स्थानीय तहको चुनावमा जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख र अध्यक्षका एमाले उम्मेदवारहरुले कुल ११ हजार ७ सयभन्दा बढी मत पाएका थिए । त्यस्तै, कांग्रेस उम्मेदवारहरुले १२ हजार १ सय मत कटाएका थिए । माओवादीले भने १३ हजार ९ सयभन्दा बढी मत ल्याएको थियो । जिल्लाको तातोपानी गाउँपालिकामा कांग्रेसको उम्मेदवारी थिएन।

जिल्लामा तीन वटै दलको प्रभाव झन्डै बराबरी देखिन्छ । तर, वामपन्थी गठबन्धनलाई उसका मतदाताले रुचाए भने जित हासिल गर्न अप्ठ्यारो हुने छैन । माओवादी उम्मेदवारले ठूलो संख्यामा एमाले निकट मतदाताको भर पर्नुपर्ने स्थिति छ । यस्तो अवस्थामा कांग्रेस उम्मेदवारले त्यहाँ कति भूमिका खेल्न सक्छन्, त्यसले नतिजा उल्टाउन सक्छ।

मुगुको तीन वटा स्थानीय तहमा नेतृत्व गरे पनि वाम गठबन्धनसँग भिडेर निर्वाचन जित्न कांग्रेसलाई सजिलो भने छैन । कारण, एमाले र माओवादी केन्द्र दुवैले प्राप्त गरेको मत जोड्ने हो भने कांग्रेसको भन्दा धेरै हुन आउँछ।

कालिकोट : कालिकोट पनि वाम गठबन्धन नै बलियो भएको जिल्ला हो । प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लाका ९ वटा स्थानीय तहमध्ये कांग्रेसले एउटा मात्र जितेको छ भने ५ वटा माओवादी केन्द्र र ३ वटामा एमाले विजयी भएको छ।

स्थानीय तहको निर्वाचनमा यहाँका नौमध्ये ३ वटामा माओवादी र एमाले मुख्य प्रतिस्पर्धामा थिए । ५ वटामा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा थियो । जसमध्ये ४ वटामा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादी उम्मेदवार विजयी भएका थिए । एउटामा एमाले र कांग्रेस प्रतिस्पर्धामा थिए।

सो चुनावमा माओवादी पराजित भएका प्रायः ठाउँमा न्यून मत र विजयी भएको ठाउँमा उच्च मतले विजयी भएकाले पनि उसका उम्मेदवार बलिया देखिन्छन् । ०७० सालको संविधानसभा निर्वाचनमा पनि यहाँबाट माओवादी पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो बनेका थिए।

यहाँबाट माओवादीका दुर्गाबहादुर रावत र कांग्रेसका भूपेन्द्रजंग शाही मुख्य रुपमा प्रतिस्पर्धा गर्दैछन् । शाही तरुण दलका महामन्त्री हुन्।

मुगु : मुगु भने नेपाली कांग्रेस बलियो भएको जिल्ला हो । यहाँबाट पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै प्रतिनिधि निर्वाचित हुनेछन्।

जिल्लाका ४ वटा स्थानीय तहमध्ये ३ वटामा कांग्रेस विजयी हुँदा एमाले भने एउटामा मात्रै विजयी भएको थियो । यद्यपि स्थानीय तहको चुनावमा यी दुवै पार्टीका प्रमुख र अध्यक्ष पदका उम्मेदवारले पाएको मतको अन्तर भने खासै धेरै छैन । एमाले पराजित भएका ३ वटा स्थानीय तहमा उसका उम्मेदवारहरु ३३, ११९ र १८३ मत अन्तरले दोस्रो भएका छन्।

एमालेले जितेको र कांग्रेस तेस्रो भएको खत्याड गाउँपालिकामा भने उसले कांग्रेसका उम्मेदवारभन्दा ३०८ मत बढी पाएको छ । त्यहाँ माओवादी उम्मेदवार दोस्रा भएका थिए।
०७० सालको संविधानसभाको चुनावमा यहाँबाट एमालेका उम्मेदवार विजयी भएका थिए।

तीन वटा स्थानीय तहमा नेतृत्व गरे पनि वाम गठबन्धनसँग भिडेर निर्वाचन जित्न भने कांग्रेसलाई सजिलो छैन । कारण, एमाले र माओवादी केन्द्र दुवैले प्राप्त गरेको मत जोड्ने हो भने कांग्रेसको भन्दा धेरै हुन आउँछ।

यहाँबाट एमालेका गोपाल बम र कांग्रेसका हस्तबहादुर मल्ल मुख्य प्रतिस्पर्धामा छन्।

हुम्ला : हुम्लाका ७ वटा स्थानीय तहमध्ये खार्पुनाथ र सिम्कोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने अरु सबैमा माओवादी केन्द्र र एमाले विजयी भएका छन् । जहाँ माओवादीले ४ र एमालेले १ ठाउँमा जितेका थिए।

०७० सालको चुनावमा कांग्रेसले जितेको यो निर्वाचन क्षेत्रमा अहिले वाम गठबन्धनका तर्फबाट चिमी लामा र लोकतान्त्रिक गठबन्धनका तर्फबाट मंगलबहादुर शाही प्रतिस्पर्धा गर्दैछन्।

स्थानीय तहको निर्वाचनमा यहाँ माओवादीका उम्मेदवारहरुले सबैभन्दा बढी मत पाएका थिए । गाउँपालिकाका अध्यक्ष पदहरुमा उनीहरुले ८ हजार १ सयभन्दा बढी मत पाएका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवारहरुले ६ हजार ८ सय भन्दा केही बढी मत पाएका थिए भने एमालेका उम्मेदवारले ३ हजार ७ सय मत कटाएका थिए।

जितका लागि माओवादी उम्मेदवारले आफ्नो मत जोगाउँदै एमालेका केही मत ताने पुग्छ । तर, कांग्रेसका उम्मेदवारले भने निकै मेहनत गर्नुपर्ने देखिन्छ।

जाजरकोट : जाजरकोट पनि वाम बाहुल्य क्षेत्र हो । यहाँका ७ वटा स्थानीय तहमध्ये २ वटामा कांग्रेस विजयी हुँदा २ वटामै माओवादी केन्द्र र ३ वटामा एमाले विजयी भएको थियो।

तीन ठाउँमा एमालेका उम्मेदवारले कांग्रेसलाई हराउँदै विजयी भएका थिए भने माओवादीले एक ठाउँ पराजित गरेको थियो । कांग्रेसले भने एक ठाउँमा एमालेलाई र एक ठाउँमा माओवादीलाई पछि पारेको थियो । एक ठाउँमा माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो।

०७० सालको संविधानसभा चुनावमा यहाँको २ निर्वाचन क्षेत्रमध्ये एक–एक वटा कांग्रेस र माओवादीले बाँडेका थिए । रोचक के छ भने, ती दुवै विजयी उम्मेदवार अहिले एक–अर्कामा प्रतिस्पर्धा गर्दैछन् । यहाँ माओवादीका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवविक्रम शाह प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले त्यतिबेला क्रमशः ८,०७३ र ९,३७५ मत पाएका थिए । बस्नेतले कांग्रेस उम्मेदवारलाई पराजित गरेका थिए भने शाहीले एमालेका उम्मेदवारलाई दोस्रा पारेको थिए।

स्थानीय तहको निर्वाचनमा माओवादीले १७ हजार ४ सयभन्दा बढी मत पाएको थियो । कांग्रेसले माओवादीभन्दा दुई हजार बढी मत पाएको थियो । एमालेले सबैभन्दा बढी २० हजार ६ सय मत पाएको थियो।

यहाँ जितका लागि दुवै उम्मेदवारले एमालेको मतसँग अपेक्षा गर्नुपर्ने हुन्छ । वाम गठबन्धनका उम्मेदवारको रुपमा एमालेको इमानदारीको आशा बस्नेतले गर्न सक्छन् भने असन्तुष्टिमा फाइदा लिने प्रयास शाहको हुनेछ।

रुकुम पश्चिम : यो माओवादी निकै बलियो भएको क्षेत्र हो । तुलनात्मक रुपमा यहाँ एमाले कमजोर छ । यहाँको ६ वटै स्थानीय तहमा माओवादीको नेतृत्व छ । उसले ६ ठाउँमै कांग्रेस उम्मेदवारलाई पछि पार्दै जित हात पारेको हो।

यहाँबाट माओवादीका तर्फबाट जनार्दन शर्मा र कांग्रेसका तर्फबाट गोपालजीजंग शाह प्रतिस्पर्धा गर्दैछन् । ०७० सालको संविधानसभा चुनावमा शर्माले शाहलाई १२ हजार ६ सयभन्दा बढी मतले पराजित गरेका थिए।

गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत जोड्दा कांग्रेसको भन्दा माओवादी र एमालेको मत झन्डै दोब्बर छ । यहाँ माओवादीले २७ हजार ४ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले १९ हजार ल्याएको थियो । त्यस्तै, एमालेले ८ हजार ४ सय मत पाएको थियो।

माओवादीले आफ्नो मत जोगाउन सके एमालेले धोका दिएको अवस्थामा पनि ऊ कमजोर हुनेछैन । यद्यपि वाम गठबन्धनको मत माओवादीलाई खसेमा उनीहरुले सहज जित निकाल्न सक्नेछन्।

२o७४ कार्तिक १० शुक्रबार| प्रकाशित o७:१५:oo
http://nepallive.com/news-details/4260/2017-10-27

No comments:

Post a Comment