किशोर दहाल
सीमान्तकृतलाई सपना र उच्च वर्गलाई सुविधा वितरण गर्ने चल्तीको राजनीतिप्रति आम मानिसको गुनासो निरन्तर छ । र, निरन्तर नै छ, समृद्धिको सपना पनि । नयाँ संविधान जारी भएपछि त्यो सपना झनै मुखरित भइरहेको छ । त्यसो त, अहिलेकै नेतृत्व र शैलीले त्यो सपना पूरा हुन सक्दैन भनेर ठोकुवा गर्नेहरू पनि छन् । तिनैमध्येका एक हुन्, केशव दाहाल ।
भर्खरै प्रकाशित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’मार्फत दाहालले नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । पुस्तकले अबको नेपाली राजनीतिको स्वरूप कस्तो रहने ? सैद्धान्तिक ढाँचा कस्तो हुने ? र, प्रत्यक्ष लोकतन्त्रलाई कसरी व्यवहारमा उतार्ने ? जस्ता सवालमा बहसको सिर्जना गर्ने प्रयास गरेको छ ।
नेपाली राजनीतिको अबको लक्ष्य समृद्धितिर बढ्नुपर्ने र त्यसका लागि सर्वप्रथम राजनीतिको अहिलेको ढाँचा फेरिनुपर्छ अन्यथा त्यसले चाहेजस्तो प्रतिफल दिन सक्दैन भन्ने पुस्तकको मूल आशय छ । त्यसका लागि उनले मूलधारका पार्टीका कार्यपद्धति र सैद्धान्तिक आवरणलाई पनि राम्रैसँग शल्यक्रिया गरेका छन् । चिरफारको सकारात्मक पक्ष के छ भने उनले त्यसमा आफ्ना आग्रह मिसाएका छैनन् ।
विचार र सिद्धान्तलाई सोही आधारमा केलाएका छन् । खँदिलो र सहज भाषामा आफ्ना तर्क राखेका छन् । उनको तार्किक शैली प्रशंसनीय छ । आफ्ना हरेक तर्कमा ऐतिहासिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरू, वर्तमान परिस्थितिसमेत विश्लेषण गरिएको छ । उनको तर्कलाई मन पराउन वा नपराउन सकिन्छ तर बेवास्ता गर्न भने सकिँदैन ।
पुस्तकलाई पाँचवटा खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा आवश्यकता अनुसार उप–शीर्षकहरू राखिएका छन् । पहिलो खण्डमा जनताको समृद्धिकोचाहनालाई प्रस्तुत गरिएको छ । यो अलि बढी भावनात्मक र साहित्यिक लाग्छ । तर, जनताको भोगाइ र व्यावहारिक कल्पनाभन्दा बाहिर गएको छैन । दोस्रो खण्डमा निर्णय लिन नसक्ने र आत्मकेन्द्रित नेतृत्वले कसरी जनताको सपनामाथि खेलबाड गरिरहेका छन् भनी व्याख्या गरिएको छ । उनीहरूको राजनीति कसरी सत्ताकेन्द्रित मात्रै हुन पुगेको छ भन्नेबारे विश्लेषण गर्ने कोशिस गरिएको छ ।
नेपाली राजनीतिमा लोकतन्त्र, जनता र कार्यकर्ता फगत् जप्ने कुरा मात्र हुन्, राजनीतिको अन्तर्य स्वार्थसिद्धि मात्र हो भन्ने जिकिर गरिएको छ । पटक–पटक व्यवस्था र पात्र फेरिए पनि राजनीतिको मूल चरित्र उस्तै रहेको ठम्याइ पुस्तकको यस खण्डमा छ । यही सत्यलाई औंल्याउँदै लेखकले नेपाली राजनीतिको आधारभूत चरित्रको पुनर्गठनको प्रस्ताव गरेका छन् ।
तेस्रो खण्डमा, नेपालका मूलधारका राजनीतिक दलको वैचारिक धरातलको विश्लेषण गरिएको छ । कांग्रेस, एमाले, माओवादी र मधेशकेन्द्रित दलहरूको उत्पत्ति र दार्शनिक पक्ष केलाइएको छ । उनीहरूका सिद्धान्त र कार्यशैलीमा रहेको विरोधाभासले देशलाई समृद्धितिर लैजान नसक्ने ठोकुवा गरिएको छ ।
चौथो खण्ड पूर्ण रूपमा सैद्धान्तिक प्रश्न र पुनव्र्याख्यामा केन्द्रित छ । प्रचलनमा रहेका राज्य सञ्चालनका केही मोडेलमाथि चर्चा गरिएको छ । जनतालाई सम्बोधन गर्न नसक्ने व्यवस्था हटाएर नयाँ विकल्पको आवश्यकतामाथि जोड दिइएको छ । र, ‘वाम लोकतान्त्रिक समाजवाद’ नामको नयाँ मोडेलको प्रस्ताव पनि गरिएको छ ।
पाँचौ तथा अन्तिम खण्डमा वाम लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आधारलाई प्रस्ट पार्न खोजिएको छ । नयाँ दलले छोड्नुपर्ने र अंगाल्नुपर्ने केही मूलभूत चरित्रको इतिहासपरक विश्लेषण गरिएको छ ।अहिलेको समय राजनीतिक मुद्दा र उपलब्धिहरूको मात्रै नभई, राजनीतिक कार्यदिशाको पनि संक्रमणकालीन अवस्था हो । राजनीतिले अब कुन बाटो समात्ला ? कति फेरिएला ? त्यो त विस्तारै देखिएला । तर, नफेरिइकन अघि बढ्न भने सम्भव छैन ।
त्यसैमाथि बहस गर्न खोजिएको छ, पुस्तकमा । यसैक्रममा, राजनीतिक दलहरूले जुन सिद्धान्त र विचारधारालाई आफ्नो कार्यक्रम वा सिद्धान्त बनाएर अघि बढिरहेका छन्, त्यसमाथि निर्मम प्रश्न खडा गरिएको छ । बदलिएको समयमा पुरानो स्वरूपको राजनीतिको सान्दर्भिकता सकिएको र पुनर्गठनको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ ।
पुस्तकमा केही कमजोरी र अस्पष्टता छन् । राजनीतिको पुरानो संरचनाको असफलता र नयाँ चरित्रसहितको राजनीति विकास गर्नुपर्छ भन्ने तर्कमा खरो उत्रिएका लेखकले नयाँ मोडेलबारे स्पष्टसँग लेख्न सकेका छैनन् । जबकि, पुस्तकको शीर्षकले नै आगामी बाटोको स्पष्टताको माग गर्छ । त्यसो त उनको वाम लोकतान्त्रिक समाजवादको ढाँचा पनि स्पष्ट छैन ।
लेखकले हाम्रा राजनीतिक दलहरूले जनअपेक्षा अनुरूप काम गर्न र प्रतिफल दिन नसकेकोमा उनीहरूको आन्तरिक कारणलाई राम्रैसँग विश्लेषण गरेका छन् । नेताको गुटगत र सत्ता लिप्सासम्मलाई जोडेर विश्लेषण गरिएको छ । तर, आश्चर्यजनक कुरा के छ भने, हाम्रो राजनीतिक गडबडीमा अत्यन्त महत्वपूर्ण प्रभाव राख्ने भूराजनीतिक प्रभावको विषय एक शब्द पनि लेखिएको छैन ।
त्यस्तै, मूलधारका सबै पार्टीको शल्यक्रिया गरिएको र तिनीहरू असफल भएको प्रमाणित गरेका लेखकले अहिले चर्चामा रहेको ‘नयाँ शक्ति’बारे भने मौनता दर्शाएका छन् । पुराना पार्टीहरूको सफलता/असफलताको कारण खोतलेका उनले नयाँशक्तिबारे केही पनि प्रक्षेपण नगर्नु अलिक अस्वभाविक देखिन्छ ।समग्रमा राजनीतिप्रति चासो राख्नेहरू र राजनीतिमा नयाँपनको खोजी गरिहेकाका निम्ति पुस्तक पठनीय र संग्रहनीय छ ।
पुस्तक: पुनर्गठन
लेखक: केशव दाहाल
प्रकाशक: साङ्ग्रिला बुक्स
मूल्य: रू. ३७५
No comments:
Post a Comment