विस्लावा सिंबोर्स्का पोल्याण्डको बहुचर्चित कवि हुन् । नोबेल पुरस्कार प्राप्त गरेपछि ७ डिसेम्बर १९९६ मा उनले पुरस्कार ग्रहण समारोहमा दिएको भाषणको केही अंश, समकालीन नेपाली साहित्यसँग पनि मेल खाने भएकोले यहाँ प्रस्तुत गरिएको छ ।
भन्छन्– भाषण गर्दा बोल्न सबैभन्दा गाह्रो हुन्छ, पहिलो वाक्य ।
जे भए पनि मैले त्यो त बोली नै सकेँ । तर पनि मलाई लाग्छ, पछिका दोस्रा,
तेस्रा, चौथा र अन्तिम वाक्यसम्म पनि सबै गाह्रा नै हुन्छन्, किनकि मलाई
कवितामाथि बोल्नु छ । म यो बिषयमा एकदमै कम बोल्छु, बोल्दै बोल्दिन भने पनि
हुन्छ । जब मलाई यस्तो मौका आउँछ, मलाई यस्तो लाग्छ– यो मेरो बर्कतको काम
होइन । त्यसैले यो मेरो भाषण केही छोटो त भई नै हाल्ला । कमजोरीहरु स–साना
भएर आए भने झेल्न सजिलो हुन्छ ।
स्पष्ट छ, हाम्रा कविहरु आफूलाई लिएर, खासमा आफैंलाई नै लिएर असमन्जस र सन्देहको स्थितिमा रहन्छन् । उनीहरु आफू कवि भएकोमा संकोचपूर्वक यसरी स्विकार्छन् मानौं उनीहरु कवि भएकोमा भित्रभित्र हीनताबोधले ग्रस्त छन् ।
यो सनसनीपूर्ण समयमा आफ्नो गुणलाई स्विकार्नभन्दा आफ्नो दोषलाई स्विकार्न सजिलै हुन्छ, खासगरी त्यसलाई आकर्षक बनाएर प्रस्तुत ग¥यो भने, किनकि एक त हाम्रा गुणहरु हामीभित्र धेरै तल चेप्पिएका हुन्छन्, दोस्रो हामी स्वयंलाई पनि आफ्नो गुणप्रति त्यति धेरै विश्वास पनि हुँदैन । जे भए पनि, जब कविलाई कुनै प्रश्नपत्र भर्न परिहेको हुन्छ, या कवि कुनै अपरिचित मानिससँग कुरा गरिरहेको हुन्छ, त्यतिबेला यस्तो अबस्था पनि आउँछ, कविले आफ्नोबारेमा नभनी हुन्न । त्यसबेला कविहरु ‘लेखन’जस्तो सामान्य शब्दले काम चलाउन खोज्छन् । या त ‘लेखन’ सँगसँगै आफ्नो पेशा पनि गाँसिदिन्छन् ।
कुनै अफिसका कर्मचारीदेखि बसमा यात्रा गरिरहेका यात्रुसम्म त्यसबेला चकित पर्छन्, जब थाहा पाउँछन्, उनीहरु ‘एक कवि’को सम्मुखमा छन् । मेरो बिचारमा दार्शनिकप्रति पनि मान्छेको कमसेकम यस्तै नै धारणा हुन्छ । तर, दार्शनिकहरुको स्थिति भने त्यति ढुलमुल हुँदैन । किनभने उनीहरुसँग नामको अगाडिपट्टि थपिदिनलाई कुनै न कुनै उपमा हुन्छ, जस्तैः डाक्टर, प्रोफेसर अफ फिलोसफी आदि , यसले केही मात्रामा उनीहरुको सम्मानको रक्षा गर्छ ।
तर, कवितामा भने कोही पनि ‘कविता–प्रोफेसर’ हुँदैन । यसको अर्थ हो– काव्य–सिर्जना यस्तो कर्म हो, जसका लागि बिशेष–अध्ययन, नियमित परिक्षा, सन्दर्भ–सूचीहरु र पाद टिप्पणीवाला शोध–आलेख अनि दीक्षान्त समारोहमा पाइने प्रमाणपत्रको आवश्यकता हुँदैन । अझै भन्ने हो भने यस्तो पनि निष्कर्ष छ, कवि हुनलाई सुन्दर–सुन्दर कविताका पन्नापन्ना रंगाउनु मात्र पनि पर्याप्त हुँदैन, महत्वपूर्ण हुन्छ, कागजको त्यो टुक्रा जसमा तपाईको नामसँगै एउटा आधिकारिक ‘मोहर’ लगाइएको हुन्छ ।
यसैबेला मलाई रुसी कवि जोसेफ ब्राडस्कीको पनि सम्झना आएको छ । एकपल्ट यही आधिकारिक मोहर नभएका कारण उसलाई आन्तरिक निर्वासनको सजाय सुनाइयो । उनलाई ‘परजीवी’ भनियो । किनकि ऊसित यस्तो कुनै सरकारी प्रमाणपत्र थिएन, जसले ऊ कवि हुनुको अधिकारलाई ताकेता गथ्र्यो ।
धेरै बर्ष पहिले मैले जेलमा ब्राडस्कीलाई भेट्ने सौभाग्य पाएकी थिएँ । उसलाई भेट्दा मैले यस्तो कविलाई भेटें– जसलाई कवि भएकोमा गर्व थियो । मैले भेटेका कविहरुमध्ये ऊ मात्रै यस्तो कवि थियो । उसले निसंकोच अझ स्वतन्त्र र चुनौतीले भरिएको स्वरमा ‘कवि’ शब्दको उच्चारण गरेको थियो । उसलाई ती अपमान र तिरस्कारको झझल्को आयो, जुन उसले आफ्ना यौवनकालमा भोगेको थियो । यसैकारण उसले यस्तो ग¥यो ।
केही यस्ता भाग्यमानी देशहरु पनि छन्, जहाँ मानवीय गरिमालाई यति सजिलैसित कुल्चिदिन सम्भव छैन । त्यहाँ कविहरु छापिने, सुनिने र बुझिने सपना पाल्छन् । तर, आम दैनिक एकरसता र भीडबाट अलग आफ्नो अस्तित्व निर्माण गर्न सायदै केही गर्दा हुन् । जब कि केही बर्ष पहिले, यो युगको प्रारम्भिक दशकको कुरा हो, कविहरु आफ्नो अजीव भेषभूषा या केही सनकी आचरणले प्रायः मानिसहरुलाई छक्क पार्थे । तर, यो त सबै देखावटी कुरा थियो । तैपनि त्यो क्षण त आइनै हाल्थ्यो, जब कवि सारा आडम्बर र तामझामलाई फुकालेर बन्द कोठामा एउटा सादा कागजअगाडि हुन्थ्यो । बिस्तारै चुपचाप आफ्नै प्रतीक्षामा डुबिरहेको ।
यो कुनै संयोगको कुरा होइन, आजभोलि महान् वैज्ञानिक र कलाकारमाथि दर्जनौं फिल्म बनिरहेका छन् । यदि निर्देशक धेरै महत्वाकांक्षी भइदियो भने त्यस गहन प्रक्रियालाई पनि पर्दामा देखाउन प्रयास गर्छ, जसबाट महान् आविष्कार अथवा अमर कलाकृतिहरुको जन्म हुन्छ । वैज्ञानिकहरुको साधनालाई फिल्ममा केही मात्रामा सफलता पनि मिल्छ । प्रगोगशालाहरु, ठूलासाना उपकरण, मेसिनलगायतका कुराहरु पनि देखाउन सकिन्छ । यस्ता दृश्यहरुले दर्शकलाई केही समयसम्म बाँधिराख्छन् । र, क्लाइमेक्समा त्यो रोचक क्षण– के हजारौंपल्ट गरिएको प्रयोग यसपल्ट सफल हुनसक्छ ? यस्ता चिजहरुले नाटकीय प्रभाव जन्माउँछन् ।
चित्रकारमाथि बनेका प्रायः फिल्महरु भव्य हुन्छन् । ती फिल्ममा कुनै प्रख्यात पेन्टिङलाई बिस्तारै–बिस्तारै रुपान्तरित भइरहेको देखाउन सकिन्छ– पहिलो पेन्सिलको स्केचको अन्तिम बनोटसम्म । संगीतकारमाथि बनेको फिल्ममा त संगीतको बर्षा नै भइदिन्छ । संगीतकारका कानमा गुञ्जिएका मेलोडीका मसिना स्वर बिस्तारै–बिस्तारै एउटा सुरिलो सिम्फोनीमा परिवर्तन हुन्छन् । जे भए पनि, यस्तो कुरा एकदमै आलोकाँचो भइदिन्छ । र, यसबाट त्यो रहस्यमय मानसिक स्थिति कहीं पनि भेटिदैन, जसलाई आमरुपमा अन्तरप्रेरणा भनिन्छ । फेरि पनि फिल्ममा हेर्न र सुन्न लायक कुरा पनि केही त हुन्छन् नै ।
यस्तो मामलामा भने कविहरुको हालत गए–गुज्रेकोजस्तो लाग्छ । उनीहरुको कवि–कर्म त अलिकति पनि फोटोजेनिक हुँदैन, क्यामेरामा कैद गर्न लायक केही पनि भेटिँदैन । धेरैभन्दा धेरै गरे, तपाईं एउटा मानिसलाई कुर्सीमा बसेर वा सोफामा ढल्की–ढल्की भित्ता या सिलिङमा घुरिरहेको देखाउन सक्नुहुन्छ । कुनैकुनै बेला त्यो मानिस केहि हरफ लेख्छ र पन्ध्र मिनेटपछि त्यसलाई पनि केरिदिन्छ । फेरी एक घण्टा बित्छ, यसबीचमा कुनै घटना बन्दैन । केही नपाएर यस्तो चिजलाई कसले हेर्न चाहला र ?
मैले भर्खरै अन्तरप्रेरणाको कुरा गरें । जब प्रश्न गरिन्छ, यो के हो ? अथवा छ कि छैन ? त्यसबेला हाम्रा समकालीन कविहरु टालटुल पार्ने गरी उत्तर दिइरहेका छन् । उनीहरुले यो सिर्जनात्मक आवेशलाई महसुस नै गरेका छैनन्, यसो त पक्कै नहुनुपर्ने हो । वास्तवमा कसैलाई यो कुरा कसरी सम्झाउने, यो तपाई आफुलाई नै थाहा छैन ।
कहिलेकाहीँ मलाई पनि यस्तो प्रश्न गरिएको छ । अनि जवाफ दिँदा म पनि हिचकिचाएकी छु । र पनि, यो बिषयमा मेरो जवाफ यसप्रकार छ–
अन्तरप्रेरणा केवल कवि र कलाकारहरुको मात्र विशेष अधिकार होइन । यस्ता केही मान्छे छन् र सधैं रहनेछन्, जसले यसलाई महसुस गर्छन् । यी मान्छे ती हुन् जसले सोची–सम्झी, आफ्नो मनले चाहेको कम रोजे र त्यो काम ठूलो लगाव र सुझबुझले गर्छन् । यिनमा डाक्टर, शिक्षक, माली... हजारौं किसिमका मान्छे हुनसक्छन् । जबसम्म यिनीहरु नयाँ–नयाँ चुनौतीको सामना गरिरहन्छन्, तबसम्म यिनीहरुको यात्रा एउटा अविराम जय–यात्रा भइरहन्छ । असम्भव र हार कहिल्यै पनि यिनीहरुका जिज्ञासाभन्दा ठूला हुँदैनन् । हरेक समस्या जब यिनीहरु हल गर्छन् हजारौं नयाँ समस्या उत्पन्न हुन्छन् । अन्तरप्रेरणा जे भए पनि, त्यसको जन्म त निरन्तर गुञ्जिरहने एउटा वाक्यबाट हुन्छ, ‘म केही पनि जान्दिनँ ।’
तर, यस्ता मान्छे धेरै छैनन्, धेरै मान्छेहरु दाल–भात–डुकुका लागि काम गर्छन् । उनीहरु काम गर्छन् किनकि गर्नुपर्छ । आफ्नो कामलाई उनीहरु छान्दैनन्, जीवनको समस्याले छान्छ । प्रेमविहीन काम, दिक्क लाग्ने काम, जसको यति मूल्य छ, त्यति त अरुसँग पनि छैन... यो संसार एउटा भीषण विभीषिका हो । र, आगामी युगमा पनि यसमा केही परिवर्तन आउने छाँटकाँट देखिएको छैन । यही कारणले नै हो, अन्तरप्रेरणामाथि कवि र कलाकारको एकाधिकारलाई नस्विकार्दा–नस्विकार्दै पनि म उनीहरुलाई नियतीका प्रिय पात्रको रुपमा मानिरहेकी छु ।
यहाँ मेरा श्रोताहरुलाई पनि केही सन्देह लाग्न सक्छ । तपाईहरु सोच्न सक्नुहुन्छ, नारा घन्काइरहेका सत्तालोलुप भाषणवाज, अत्याचारी शासक, धार्मिक तानाशाह पनि त आफ्नो काममा भित्री मनदेखि लागिरहेका छन् । उनीहरुको उत्साह र कल्पनाशक्तिलाई कसले नै शंका गर्न सक्छ र ?तर, फरक यही हो, उनीहरु ‘जान्दछन्’ । र, जे पनि जति पनि जान्दछन्, त्यो उनीहरुको लागि पर्याप्त नै छ– सधैं, सधैंका लागि । अब उनीहरुलाई केही अरु नयाँ ‘जान्न’ जरुरी छैन । किनकि केही अरु नयाँ जान्नुले उनीहरुको तर्क शक्तिलाई कमजोर बनाइदिन सक्छ । तापनि त्यो ज्ञान जसले नयाँ प्रश्नहरुसम्म पु¥याउन सक्दैन, त्यो चाँडै मरिदिन्छ । यसले त्यो उर्जा, त्यो ताप बाँकी रहँदैन, जुन जीवनकालागि अति आवश्यक छ । इतिहास साक्षी छ, आन्तरिक मामलामा यो प्रवृत्ति समाजका लागि घातकसिद्ध भएका छन् ।
यसैले म एकदमै महत्वपूर्ण मान्छु, यो छोटो वाक्य ‘म जान्दिनँ ।’ छन त यो छोटो छ, तर यसको उडान एकदमै अग्लो छ । यसले जीवनलाई यति धेरै विस्तार दिन्छ कि यसमा अन्नत आकाश पनि समेटिन्छ, जसले हाम्रो यो सानो धर्ती तैरिरहेको छ । यदि आइज्याक न्युटनले नभनेको भए ‘म केही जान्दिन’ उनको बगैंचामा स्याउको बर्षा नै भए पनि के नै हुन्थ्यो र ? बढीभन्दा बढी उनी स्याउ समाएर क¥यामक¥याम चपाउँथे । यदि मेरै देश कि म्याडम क्युरीले नभनेको भए ‘म केही जान्दिनँ’ के हुन्थ्यो ? ठूलो सम्भावना यही हुन्थ्यो, उनी कुनै कन्या विद्यालयमा सम्भ्रान्त परिवारका केटीहरुलाई रसायनशास्त्र पढाउँदापढाउँदै, एउटा इज्जतदार काम गरेको सन्तोषले मर्थिन् । तर, उनले जिद्दी गर्दै भनिरहिन्, ‘म केही जान्दिनँ ।’ र, यिनै शब्दले उनलाई एकपल्ट होइन, दुइपल्ट, स्टकहोमसम्म ल्याइपु¥यायो, जहाँ कहिलेकाहीँ प्रश्न भरिएका अन्वेषकहरुलाई नोबेल पुरस्कारले सम्मानित गरिन्छ ।
यदि कोही साँच्चिकै कवि छ भने उसले सधैंभरि दोहो¥याइरहने छ, ‘म केही जान्दिनँ ।’ उसको हरेक कविता यही कुराको उत्तर हुनेछ । तर पनि, सादा पन्नामा अन्तिम शब्द लेख्नुभन्दा पहिले उसले सोच्नेछ– कतै यो काम चलाउ उत्तर त भएको छैन ? सुरुदेखि अन्तिमसम्म, अधुरो र अपर्याप्त । त्यसैले ऊ फेरि कोसिस गर्छ, गरिरहन्छ । ढिलो–चाँडो साहित्यका इतिहासकार उसको छट्पटी र प्रश्नहरुलाई एउटा ठूलो क्लिपमा नत्थी गरेर त्यसलाई नाम दिन्छन्, कविता ।
अनुः बुद्धिसागर
स्रोतः नयाँ पत्रिका दैनिकको शनिबारीय परिशिष्टांक झन् नयाँ, शनिबार, २८ असार, २०६५
स्रोतः नयाँ पत्रिका दैनिकको शनिबारीय परिशिष्टांक झन् नयाँ, शनिबार, २८ असार, २०६५
फोटोः गुगलबाट साभार
No comments:
Post a Comment