Pages

Tuesday, June 28, 2016

माछा बेच्ने युवतीसित

किशोर दहाल

     गाडी कोशी ब्यारेजको पश्चिमतिर रोकियो । हामी हिड्दै पूर्वतिर जानुपर्ने भयो । फोटो खिच्दै र कोशीको बहाब हेर्दै ब्यारेजको पूर्वी किनारामा पुग्यौं ।

     यस क्षेत्रमा म पहिलो पटक आएको थिएँ । त्यसकारण यहाँको दृश्य रमाइलो लागिरहेको थियो । शिब सर र म अघिदेखि सँगै थियौं । माछा खाने रहरले हामीले एउटा होटलमा भाउ सोध्यौं । तर, उसको भाउ हामीलाई महंगो लाग्यो । हामी सडक किनारातिर लाग्यौं । हाम्रै टोलीका केही सरहरु माछा खाइरहनु भएकै ठाउँमा गएर हामीले पनि माछा खान थाल्यौं । एकै छिनमा अन्य सरहरु त्यहाँबाट हिड्नुभयो । हामीहरु थप माछा खान थाल्यौं ।

 माछावाला साहुनी हामीलाई केहि माछाका बायोडाटा र गुणस्तर वताउछे । कुनै कुनै माछा चाख्नुस् पनि भन्छे । हामी सुरुमा १ प्लेट ‘पुइयाँ’ माछा खान्छौ । तातोतातो माछा निकै मिठो लाग्यो । मलाई यो माछा भन्दा पनि त्यसको नाम गज्जव लागिरहेछ । पुइयाँ शब्दको अर्थ के होला ? कसरी पत्ता लगाउने ? कुनै अङ्ग्रेजी शब्द भए मोबाइल डिक्नरीबाट तुरुन्तै पत्ता लाग्थ्यो । तर, हाम्रै स्थानिय भाषा झन् बढि बिरानो छ हामीसंग । हामी आफू स्वयमलाई नचिनीकन संसारलाई चिनेको ध्वाँस दिन्छौँ ।

Tuesday, June 21, 2016

युग पाठकको ‘त्यो’ चिठी

युग पाठकले कुनैबेला कान्तिपुर दैनिकमा निकै सशक्त चिठी लेखेका थिए भन्ने कुरा एउटा ब्लगमा पढेको थिएँ । त्यसमा लेखिएको थियोः

युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो ।

पछि नयाँ पत्रिका दैनिकले ‘एउटा चिठीले चिनायो’ भन्दै युग पाठकको सोही चिठीबारे सामाग्री छापिएपछि मलाई त्यस चिठीबारे हुटहुटी झनै बढेर गयो । नयाँ पत्रिकामा छापिएको सो चिठीबारे सामाग्रीः

म ०५३र५४ सालतिरै हेटौँडा, चितवनतिर कविता लेखेर सुनाउँथेँ । ०५८ सालतिर काठमाडौंमा त्रिवुभन विश्वविद्यालय र ‘साहित्य सन्ध्या’मा मेरा कविता चर्चित नै थिए । ०६० सालदेखि ‘हेटौँडा सन्देश दैनिक’को सम्पादक भएँ, पछि ‘प्रयास’को पनि । त्यतिखेरै लेखहरू लेख्थेँ, त्यसबखत मेरो नाम दीपक पाठक नै थियो । मेरा लेखको चर्चा हुन्थ्यो, तर हेटौँडातिर मात्रै ।

०६५ सालको जेठतिर १५ दिने छुट्टी लिएर हेटौँडाबाट दामनतिर उक्लिएँ । दामन उक्लिनुको उद्देश्य थियो, ‘उर्गेनको घोडा’ लेख्ने । त्यतिखेर माओवादी युद्ध बिसाएर शान्तिप्रक्रियामा सामेल हुँदै चुनावमार्फत एक नम्बरको दल बनिसकेको थियो । म इतिहास र जनजीवनमा रुचि राख्ने मान्छे । नेपालको इतिहासको चोटिलो र विशिष्ट एपिसोडमा आधार गरेर उपन्यास लेख्ने रहर थियो । विश्व साहित्यमा नेपाली साहित्यको विशिष्टता बनाउने एउटै उपाय यहाँको जनजीवन र जनताको दृष्टिबाट देखिने इतिहास हो भन्ने कुरामा अहिले पनि म विश्वास गर्छु । एक्काइसौँ शताब्दीमा एउटा सशस्त्र कम्युनिस्ट आन्दोलन खडा गरेर माओवादीले इतिहास रचिसकेको थियो । म यो विषयलाई उपन्यासमा चित्रण गर्न चाहन्थेँ ।


तामाङ इतिहासको रहस्यमय र संघर्षमय पाटोबारे मैले दामनमै बस्दा अध्ययन गरेको थिएँ । बादलबाट उड्दै आएको उर्गेनको घोडालाई दामनमा आफूलाई बेर्न आइपुग्ने बादलमा नै मैले भेटेको थिएँ । त्यति नै वेला सारा मिडिया माओवादीको विरुद्ध लागेका थिए । शान्तिप्रक्रिया र गणतन्त्रको यात्रामा यो मिडियाको बिल्कुल गलत रणनीति थियो भन्ने मेरो बुझाइ थियो । त्यसैले उपन्यास लेख्न थाँती राखेर म एउटा चिठी लेख्नतिर लागेँ । त्यो थियो कान्तिपुर सम्पादकलाई चिठी । त्यसवेला नारायण वाग्ले सम्पादक थिए । सोह्र सय शब्दको चिठी तयार भयो । ‘मलाई थाहा छ, तपाईंले यो चिठी छाप्नुहुन्न‘’ भन्ने वाक्यबाट चिठी सुरु हुन्छ । चिठीमा पत्रिकाको ‘एडिटोरियल पोलिसी’माथि आलोचना थियो ।


अनुमानविपरीत भोलिपल्ट मेरो चिठी कान्तिपुरले जस्ताको तस्तै छापेछ । पर्सिपल्टदेखि त्यो चिठीमाथि धेरै प्रतिक्रिया आउन थाले । देशैभरि त्यो चिठीको चर्चा चल्यो । त्यो चिठी युग पाठकको नाममा छापिएको थियो । कतिलाई त्यो नाम नक्कली हो भन्ने पर्योो । तर, म त्यही नामबाट बिस्तारै नियमित लेख लेख्न थालेँ ।
अहिले सम्झन्छु, त्यो मलाई देशभरि लेखकका रूपमा स्थापित गर्ने चिठी एक साँझ आवेगमा लेखिएको थियो । म उपन्यास लेख्न बसेको थिएँ । सिमसिम पानी परिरहेको साँझ थियो । दामनमा त्यस्तो साँझ चिसो र रहस्यमय हुन्छ । भोलिपल्ट न्यानो घाम मुखमा परेर ब्युँझिँदा मेरो मोबाइल बजिरहेको थियो । मलाई थाहै थिएन, मेरोबारे पूरा सहरमा चर्चा भइरहेको रहेछ । दामनको रहस्यबाट उर्गेनको घोडाको हल्का छायाछवि बोकेर म हेटौँडा झरेँ । उपन्यासको काम तत्काललाई रोकियो ।

.................

केही प्रयास पश्चात सो चिठी हात लागेको छ । चिठी उपलब्ध गराइदिनुहुने युग पाठक ज्युलाई धन्यवाद । यद्यपि यहाँ प्रकाशित चिठी कान्तिपुरमा सम्पादन गरिनुअघिको हो ।
..................

कान्तिपुरलाई एउटा पाठकको खुला पत्र

सम्पादक ज्यू,
    मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नुहुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरु लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ । सत्य तितेपाती झैं तितो हुन्छ । मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन । कार्ल माक्र्सको शब्दमा सायद वर्गिय चेतना भनेको पनि यही हो । सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ । सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो । त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन । यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ ।