किशोर दहाल
एक जना साथी र म होटलमा चिया खाएर उठ्यौँ । साहुजीले दुई कप चियाको बीस रुपैयाँ भन्नै नपाई साथीले हजारको नोट देखाईदियो । होटल साहुजीले खुजुरा नभएकोले खुजुरा रकम नै दिन आग्रह गरे । साथीले मतिर हे¥यो । मसँग खुजुरा रकम छ कि भन्ने उसको आशय बुझेपछि मैले बीस रुपैयाँ तिरेँ । हामी त्यहाँबाट हिड्यौँ ।
केही पर पुगेपछि साथीले एउटा चुरोट किन्यो र बीस रुपैयाँको नोट निकालेर पसलेलाई दियो । र, केही रकम फिर्ता लियो । यस पटक उसले हजारको नोट देखाएन । मतिर पनि हेरेन । म चुरोट खान्नँ भन्ने उसलाई थाहै थियो । त्यसकारण आफुले मात्रै खाने चुरोटको पैसा मलाई तिराउन आबश्यक ठानेन सायद । एक हिसाबले राम्रै पनि भयो । तर, उसको हजारको नोटको केही क्षण अघिको फर्मुला गज्जब लाग्यो । झिनामसिना खर्च जोगाउने एउटा कुटिल चालबाजी होला जस्तो लाग्यो, त्यो ।
* * * * *
त्यतिबेला म ‘प्लस टु’ पढ्थेँ– महोत्तरीको बर्दिबासमा । बर्दिबास आईपुग्न हाम्रो गाउँबाट सिन्धुलीदेखि काठमाण्डौँ आउने गाडीमा करिब ६ कि.मी. यात्रा गर्नुपथ्र्यो । फरक–फरक ठाउँ र तहका बिद्यार्थी गरेर ५० जनाभन्दा बढि बिद्यार्थी त्यसैगरी गाडीमा आउँथे । भाडा नतिर्ने, गेटमा उभिने, हल्ला गर्ने भएकोले प्रायः गाडीले बिद्यार्थी चढाउन मान्दैनथे । त्यस्ता बिद्यार्थीलाई गाडीमा दैनिक रुपमा चढाउन गाडीवालालाई पनि समस्या थियो । अर्को तर्फ आफ्नै घर आँगनबाट गुड्ने गाडीले आफुहरुलाई नै नचढाउनु प्लस टु का बिद्यार्थीलाई सह्य हुने कुरै थिएन ।
तनाब बीच एउटा सहमति बन्यो– प्रत्येक बिद्यार्थीले एक रुपैयाँ भाडा तिर्ने । केही समय यो नियम इमान्दारीताका साथ लागु भयो । विस्तारै कोही एउटाले एक रुपैयाँ भाडा तिर्ने बित्तिकै छेउमा रहेका अरु एकदुई जनाले पनि ‘मेरो भाडा पनि त्यही हो’ भन्न थाले । विस्तारै चारपाँच जनाको एक रुपैयाँको दरले भाडा उठ्न थाल्यो । एकदिन एउटा साथीले भाडा स्वरुप हजारको नोट देखाईदियो । कण्डक्टरले एक रुपैयाँको लागि हजारको नोट भजाउने कुरै थिएन । उसले दैनिक त्यही हजारको नोट देखाएर भाडाबाट मुक्ति पाउन थाल्यो । अरु केहीले भाडा तिरिरहेकै थिए । पछि हजारको नोट देखाउने सङ्ख्या बढ्न थाल्यो । र, नजिकै रहेका अन्य साथीले पनि मेरो पनि त्यहीँबाट कटाउनु भन्दै भाडा तिर्नै छोडे ।
* * * * *
अहिले बर्षेनी मुद्रा स्फीतिको दर बढिरहेको छ । त्यसकारण हजारको नोट पहिलेको जति खास ठूलो मानिदैन । पहिलेजस्तो हजारको नोट भजाउन ‘दश जना’लाई सोर्स लगाउनुपर्ने बाध्यता आजकाल पर्दैन । यद्यपि पसल, बजारमा अहिले पनि हजारको नोट देखाउँदा ‘खुजुरा दिनु न’ भन्ने व्यापारीको थेगो हटिसकेको छैन । हुन त व्यापारीलाई हजारको नोट नभई सयको नोट नै देखाउँदा पनि खुजुराकै ‘ब्रेक’ लगाईहाल्छन् । तैपनि उनीहरु त्यसलाई साट्छन् नै । व्यापारीको यही थेगोले धेरै ‘खुरापाती’लाई फाईदा पुगिरहेकै छ । उनीहरु कम रकम बोकेर हिड्नेहरुलाई ‘मुर्गा’ बनाउन सफल भईरहेकै छन् । जागिरेहरु गोजीमा टन्न रकम हुनेहरुले जहाँ पनि हजारकै नोट देखाईदिँदा बेरोजगारहरु, गोजीमा बीस, पचास बोकेर हिड्नेहरुकै रकम खर्च भईरहेको हुन्छ ।
कहिलेकाँही त मलाई पनि हजारकै नोट बोकेर हिडौँ, चिया पसलदेखि किराना पसलसम्म त्यसको शक्ति परिक्षण गरौँ झैँ लाग्छ । तर, बल्लबल्ल मुख देखाउन आईपुगेको हजारको नोट र पर्सको सम्बन्ध कहिल्यै सुध्रिएन । झगडा गरेर पारपाचुके गरिहाल्छन् । ‘दश तिरको भ्वाङ’ टाल्दाटाल्दै हजारको नोटका ‘शुन्य’हरु कता डुल्न हिँडिसक्छन् थाहै पाउँदिन ।
जे होस्, हुने खानेहरुलाई फाईदा पुगिरहेकै छ । उनीहरुको चालबाजी सफल पनि भइरहेकै छ । अब हामीजस्ता ‘भुक्का’ले ‘जय हजारको नोट’ भनेर गीत गाउने त होला !
जय हजारको नोट !!!
हा हा हा । तपाईं र मेरो समस्या मिल्दोजुल्दो रैछ । तर, मैले यस बिषयलाई यति गहिरिएर कहिल्यै पनि सोचेको थिईन । धन्यवाद तपाईंलाई ।
ReplyDelete