जसले बाँकी ३६४ दिन माटोको गन्धप्रति मात्रै नभइ माटो खोस्रेर जीबनयापन
गर्ने प्रति नै घृणाभाव राख्छ, उसले यो एकदिन मोटोको सुगन्धबारे केहि लाइन
कबिता पनि लेख्छ ।
किशोर दहाल
असार १५ मा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले बाउसे गरेको, धान रोपेको नक्कली फोटो हालेर लेखे– रमाइलो । अर्काले धान रोप्न ठिक्क पारिदिएको हिले खेतमा केबल एउटा खुट्टा राखेर फोटो खिच्दै धान रोपेको मज्जा लिने त्यस किसिमको ब्यबहार कैयौँको नौटङ्की मात्रै होइन, सामाजिक सञ्जालमा बढ्दै गएको ढोगीं प्रवृतीको एउटा उदाहरण पनि हो । यसमा बिशेष गरेर शहरियाको रुची देखिन्छ । तिनीहरुमध्ये धेरै ‘धान कहाँ फल्छ, रुखमा कि जरामा ?’ भनेर सोध्ने वर्गका हुन् ।
धान रोप्ने मात्रै होइन, प्रत्येक पटकको बाली लगाउने बेलामा किसानलाई निद्रा पर्दैन । किनकी खेती–किसानी हरेक हिसाबले महँगो र कष्टकर हुँदै गएको छ । युवा र सम्पूर्ण लोग्ने मानिस विहिन कैयौँ गाउँमा महिलाहरुले नै चौतर्फी व्यवस्था मिलाएर खेतको बाँझो मेट्नु परिरहेको छ । यो कति कष्टकर र तनाबपूर्ण छ भन्ने कुरा केबल उनीहरुलाई थाहा छ । धान रोप्न ठिक्क पारिएको जमिन त्यहि मेहनतको प्रतिफल हो । तर, ढोगीं समाजलाई यी याबत् कुरा थाहा हुने कुरै छैन । उनीहरु त त्यसलाई फोटो खिच्ने ‘पार्क’ जस्तो बनाइदिए । अचम्म त के छ भने उनीहरु त्यसलाई हाम्रो संस्कृति, मौलिकतासँग जोडेर हाम्रो जीबनशैली प्रति उत्पात बनाबटी मोह देखाउँछन् । जसले बाँकी ३६४ दिन माटोको गन्धप्रति मात्रै नभइ माटो खोस्रेर जीबनयापन गर्ने प्रति नै घृणाभाव राख्छ, उसले यो एकदिन मोटोको सुगन्धबारे केहि लाइन कबिता पनि लेख्छ ।
असारे रोपाईमात्रै होइन, ढोगीं व्यवहार सामाजिक सञ्जालहरुमा बिकाउको बिषय बनिरहेको छ । जसको सम्पूर्ण सोचाइ र सचेतता ‘४ इन्च’को मिनीस्कर्टको वरिपरि हुन्छ, उसैले कुनै कार्यक्रममा गुन्युचोली वा यस्ता परम्परागत पहिरन पहिरिएर सामाजिक सञ्जालमा गज्जबको ‘सँस्कृतिप्रेम’ देखाउँछे । केटाहरुले लगाउने ढाका टोपी यस्तै अर्को उदाहरण हो । आफ्नो रुचीको पहिरन छनौट र फेसन मोहप्रति मेरो खास टिप्पणी छैन तर बाध्यताको जीबनशैलीलाई क्रुर ठट्टाको बिषय बनाउनु कुनै हिसाबले उपयुक्त होइन । जसको सोच र व्यवहार जस्तो छ , उस्तै रुपमा प्रस्तुत हुँदा के बिग्रन्छ ? मन पर्नेले गुन्यु चोली लगाऔँ, ढाका टोपी लगाऔँ अथवा मिनीस्कर्ट, वानपिस वा पाइन्ट च्यातेर लगाए पनि केहि छैन । तर, महान संस्कृति संरक्षक जस्तो गरेर ढोगीं व्यवहार नदेखाऔँ । दिनभरि उत्कृष्ट पिज्जा र ममको स्वादमा भौतारिनेले सिस्नु मीठो लाग्यो भन्दा कताकता अमिल्दो नै सुनिन्छ । कहिलेकाँहि ठूल्ठूला होटलमा ढिडो खाएको फोटो सामाजिक सञ्जालभरि छर्नुको खास उद्देश्य पनि एउटा ठट्टा हो । ढोगींपनको अर्को उदाहरण हो ।
असारे मेलोदेखि लिएर गुन्द्रुक ढिडोसम्म हाम्रो कष्टकर जीबनको बाध्यता हो । कोहि पनि रहरले यतातिर अल्झन चाहदैन । तर, शहरियाले त्यसमा पनि आफ्नो ढोगींपन मिसाइदिएर ठट्टा गरिदिए । कोदाली समातेको जस्तो, धान रोपेजस्तो गरेर उनीहरुले कष्टकर जीबनशैलीलाई हल्काफुल्का फेसन बनाइदिए । जसलाई माटोको गन्धसँग एलर्जी छ, धान रोप्न खोज्दा जसलाई नङ भाचिँने चिन्ता हुन्छ, उसकै फुर्ती यत्रतत्र छ । र, जो किसान छ, जसलाई बर्षभरिको कामले बर्षभरि खान पुग्दैन, ऊ यस्तो फेसिनेबल रमिता हेर्न बाध्य छ । ऊ आफुले कष्ट गरेर रोप्न ठिक्क पारेको मेलोमा फोटो खिचाउन तछाँड मछाँड गरिरहेका शहरिया देखेर थोकै मुस्कुराउँछ मात्रै । त्यो किसान प्रत्येक साल धान रोप्न दुःखले मेलो बनाइरहेछ, तर ‘काम गर्ने कालु, मकै खाने भालु’को शैलीमा ढोगींहरु आफ्नो बडप्पन देखाइरहेछन् । मलाई डर केमा छ भने कुन दिन यिनै शहरियाले धान रोपाइदेखि सिस्नु–ढिडोसम्मलाई जोडेर नेपाली मौलिकतामा आफ्नो अनुभब भन्दै सानदार निबन्ध लेख्नेछन् । (२०७१÷०३÷१६)
No comments:
Post a Comment