किशोर दहाल
मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल विषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखेका छन्–मयुर टाइम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको विषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादव मयुर टाइम्स दैनिककी सम्पादक हुन्छिन् भने लिसरा पुन सोही पत्रिकाको पत्रकार ।
मुलुक जातीय र साम्रदायिक गोलचक्करमा उभिरहेको बेला मधेसमा पत्रकारिता कतिको चुनौतीपूर्ण छ भनेर वाग्लेले मयुर टाइम्स मार्फत देखाउन खोजेका छन् । पत्रकारिताको सिलसिलामा मानिसको निजी जीवन कुन कुनामा फालिन्छ, उसका रहर र आकांक्षाहरु कसरी निष्प्रभावी बन्छन् भनेर देखाउन उपन्यास सफल छ ।
उपन्यासकारले मधेसको असहज पत्रकारिता मात्रै नभई विगतको नेपालसँग त्यसको सम्बन्ध पनि देखाएका छन् । त्यसैले असहज बन्दै गरेको पराग र लिसराको पत्रकारिता र अपहरणमा परेकी परागको वृतान्तसँगै सुरु भएको कथा परागकै फ्ल्यासब्याक पछ्याउँदै अन्नत ‘तत्कालको लागि’ उनको मुक्तिसँगै टुङ्गिएको छ । एक हप्ताभित्रै पत्रिका बन्द गर्ने थम्की खाएर पराग त अपहरणमुक्त भएकी छ तर आम नेपाली पत्रकारहरु भने यस्ता धम्कीबाट मुक्त हुन सकेका छैनन् । समाचार लेखेकै निहुँमा धम्की, अपहरण र आक्रमणको शिकार बनिरहेका आम नेपाली पत्रकारहरुको एउटा साझा अनुभुतिको दस्तावेज हो– मयुर टाइम्स । समाचार लेखेकै निहुँमा आक्रमणमा परेका टिका बिष्ट र उमा सिंहजस्ता पत्रकारहरुको अघोषित अनुभव र सत्य पनि हो ।