नेकपामा विवाद बढ्दै गएको थियो। पार्टी सचिवालयको बैठक बस्नुपर्ने माग पनि बढ्दै थियो। केपी ओलीले बेवास्ता गरिरहेका थिए। बैठकका लागि उनले रुची देखाएका थिएनन्। दबाबका लागि सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २१, २०७७ मा पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक राखे। बहुमत सदस्यको सो बैठकले सचिवालयको बैठकका लागि ओलीलाई भेटेरै आग्रह गर्ने निर्णय गर्यो।
भोलिपल्ट (कात्तिक २२ गते) सचिवालयका ती सदस्यहरुले बिहानै धुम्बाराहीमा भेटे। छलफल गरे। र, ओलीलाई बुझाउने पत्र तयार पारेर बालुवाटार पुगे। पत्र बुझाएपछि दुई पक्षले मनमुटाव पनि गरे।
आफू अल्पमतमा परेपछि ओलीले बहुमतको गठबन्धन भत्काउने प्रयास गर्नु अनौठो होइन। सोही रणनीतिका साथ उनले कात्तिक २३ गते माधव नेपाललाई बालुवाटार बोलाए। नेपाल भने आफू पक्षका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्तलाई लिएर पालुवाटार पुगे। त्यहाँ ओलीले नेपाललाई पार्टी एकता बचाउनुपर्ने, पूर्व एमाले मिल्नुपर्ने जस्ता कुरा गरे। महाधिवेशनपछि अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री जस्ता लोभ पनि देखाए।
यी त भए सामान्य कुरा।